coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नियन्त्रण नगरे मनसुनपछि महामारी फैलने आशंका

धरान - मनसुनपछि देखिने डेंगु ज्वरोको प्रकोप धरानमा भने प्रि–मनसुनमा नै फैलिएपछि चिकित्सकसँगै स्वास्थ्य विभाग र मन्त्रालय चिन्तित बनेका छन्। अहिले (प्रि–मनसुनमा) नै लामखुट्टेको अन्डा, लार्भा र प्युपालाई पूर्ण रूपमा नष्ट नगरिए मनसुनपछि झन् महामारीको रूप लिन सक्ने मन्त्रालय र विभागको निष्कर्ष छ।

डेंगुको प्रकोपप्रति चिन्तित हुँदै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डा. समीरकुमार अधिकारी धरान आएका छन्। महाशाखाका शाखा प्रमुख डा. अधिकारीका अनुसार प्रि मनसुनमै धरानमा डेंगु देखिएकाले विभाग र मन्त्रालय बढी चिन्तित भएको हो। लामखुट्टेको सबै अन्डा अहिल्यै नष्ट नगरिए मनसुनपछि झन् खतरा हुने उनले बताए। ‘अहिल्यै धरानमा डेंगु देखाप¥यो, त्यसैले स्वास्थ्यकर्मी, विभाग र मन्त्रालय चिन्तित छौं,’ डा. अधिकारीले भने, ‘किनभने अहिले सबै अन्डा डिस्ट्रोय भएन भने मनसुन पछि झनै खतरा हुन्छ।’

अधिकारीका अनुसार डेंगु भाइरस संक्रमित लामखुट्टे मरे पनि उसले पार्ने अन्डामा स्वतः भाइरसको संक्रमण भएको हुन्छ। यो लामखुट्टेले सफा पानीमा अन्डा पार्ने र डेंगु ज्वरो सार्ने पोथी लामखुट्टेले दिउँसो मात्र टोक्ने भएकाले बढी खतरा हुन्छ। ‘यो लामखुट्टे अन्यजस्तो होइन। सफा पानीमा अन्डा पार्छ र दिउँसो टोक्छ। त्यसैले यसको जीवनचक्रलाई राम्ररी बुझेर नष्ट नगरी हुँदैन,’ डा.अधिकारीले भने, ‘यही विषयमा यहाँ के भइरहेको छ ? लामखुट्टेको जीवनचक्र नष्ट गर्ने उपायबारे छलफल गर्न हामी आएका हौं।’ घरआँगनमा फुटेको गिलास, बोतल वा टायरहरूमा पनि पानी जम्मा भएर लामखुट्टेले अन्डा पार्ने भएकाले विशेष ध्यान दिन उनले आग्रह गरे।

महानिर्देशक डा. लोहनी र डा. अधिकारमबार दिनभर धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर मञ्जु भण्डारी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी र ¥यापिड रेस्पोन्स टिमसँग डेंगु ज्वरो नियन्त्रणबारे छलफल गरेका थिए। साथै, सबैभन्दा बढी प्रभावित वडा १५ मा स्थलगत निरीक्षण गरी केही बिरामीसँग भेट पनि गरेका थिए। कार्यवाहक मेयर भण्डारीसँगको छलफलमा बृहत् रूपमा जनपरिचालन गरेर जनचेतना फैलाउने र लामखुट्टेको बासस्थापन पत्ता लगाएर अन्डा, लार्भा नष्ट गर्नु नै सबैभन्दा प्रभावकारी र अन्तिम विकल्प भएको निष्कर्ष निकालिएको थियो।

‘हामीले हरेक वडामा १० देखि १५ जनाको टोली तयार गरेर सबैभन्दा पहिला प्रभावित वडाहरूमा परिचालन गर्नुपर्छ, रेस्पोन्स टिमले विज्ञ उपलब्ध गराउछौं भनेर सुझाव दिएका छौं,’ ¥यापिड रेस्पोन्स टिमका सदस्य एवं बीपी प्रतिष्ठानको सामान्य प्रशासन महाशाखाका वरिष्ठ सहायक महेश्वर राईले भने, ‘कुनै घर नछोडी जम्मा भएको पानी नष्ट गर्नुपर्छ भन्यौं। जनपरिचालनमा ढिलाइ भइरहेको कुरा पनि राख्छौं।’

रेस्पोन्स टिमले स्कुल, कलेज र होटल सञ्चालकहरूलाई पनि चाँडो भेला पारेर अभियानमा सहभागी गराउन सुझाव दिएको छ। धरानमा खानेपानी अभावले गर्दा घर, होटल र स्कुलहरूमा पानी जम्मा गरेर राख्ने चलन छ। लामखुट्टेका लागि त्यसरी जम्मा गरिएको पानी अन्डा पार्न उपयुक्त बासस्थान हो। पछिल्लो तथ्यांकअनुसार बीपी प्रतिष्ठानमा वैशाख ३१ गतेदेखि जेठ २० गतेसम्म ३ सय ५६ जनामा परीक्षण गर्दा १ सय २३ जनामा डेंगु ज्वरो पोजेटिभ देखिएको छ। यस्तै, अर्को विजयपुर हस्पिटलमा पनि जेठ २० गतेसम्म २५ मा डेंगु पोजेटिम देखिएर उपचार गराएको उक्त अस्पतालले जनाएको छ।

बिपीमा डेंगु बिरामीलाई अलग्गै उपचार
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगु ज्वरोका बिरामीहरूलाई प्राथमिकता दिँदै विशेष उपचार व्यवस्था गरेको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियार, अस्पताल निर्देशक डा. गौरीशंकर साहलगायत विभिन्न विभागका प्रमुखहरूसँग छलफल गरेका थिए। ‘हामीले बीपीमा डेंगु बिरामीका लागि आकस्मिक कक्षमा छुट्टै दुईवटा बेड व्यवस्थापन गरेका छौं, थप उपचारका लागि ट्रपिकल वार्डमा पनि व्यवस्था गर्नेछौं,’ प्रतिष्ठानका असिस्टेन्ट डाइरेक्टर डा.विकास साहले भने, ‘डेंगुका बिरामीलाई फास्ट ट्र्याक विधिबाट उपचार सेवा दिने भएका छौं।’

छलफलमा डा. लोहनीले डेंगु प्रभावित बच्चालाई पेडियाट्रिक वार्डमा सरकारबाट भेन्टिलेटर उपलब्ध गराउने पनि प्रतिबद्धता जनाएको डा. साहले जानकारी दिए। यस्तै, स्वास्थ्य सेवा विभागलाई डेंगु परीक्षणमा आवश्यक किट एक हजार थान माग गरेकोमा विभागले ५ सय किट उपलब्ध गराएको पनि डा. साहले बताए।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीसहितको टोली कार्यवाहक मेयरसँग छलफल गर्दै। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीसहितको टोली प्रभावित वडाको स्थलगत अनुगमनमा जाँदै।

प्रकाशित: २१ जेष्ठ २०७६ ०२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App