७ वैशाख २०८१ शुक्रबार
समाज

गाउँपालिकाको सहयोगमा दृष्टिविहीनले देखे संसार

जाजरकोट– कुसे गाउँपालिका वडा नम्वर ७ समाकोटका बिजुले तिरुवाले जीवनमा फेरि उज्यालो आँखाले संसार देख्छु भन्ने कल्पनासम्म गरेका थिएनन्।  १२ वर्षको उमेरमा घाँस ल्याउन जंगल गएको बेला रुखको हांगाले देब्रे आँखामा चोट लागेर ज्योति गुमाएका बिजुलेलको एक वर्षअघि दाहिने आँखाको पनि मोतिया विन्दुका कारण  ज्योति गुमेपछि उनको जीवन पुरै अन्धकारमा चलिरहेको थियो। 

दुवै आँखाको ज्योति गुमेर अन्धकारमा बाँचिरहेका बिजुलेको लौरी  बनेका थिए उनकी आमा राधिका तिरुवा र श्रीमती कौशिला तिरुवा।  दृष्टिविहीन बिजुलेको जीवन आमा र श्रीमतीबिना ‘मरेको लास’जस्तै  थियो। तर, उनको जीवनमा सौभाग्यको संयोग बन्यो गत वैशाख  २७ गते कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत र उपाध्यक्ष रामछाया शाहीसंगको भेट। दृष्टिविहीन भएर अरुको सहारामा बाचिरहेका उनी चरम गरिबीका कारण सदरमुकाम खलंगासम्म आउन सक्ने अवस्थामा थिए। 

विजुलेकी आमा राधिकाले कुसे ७ समाकोटको नेपाल राष्ट्रिय आधारभुत विद्यालयको वार्षिकोत्सवमा प्रमुख अतिथि बनेका गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत र विशेष अतिथि बनेकी रामछाया शाही बसेकै स्थानमा गएर दृष्टिविहीन छोराको बेहाल अवस्था सुनाइन्। राधिका र उनका छोराको दुःख सुन्ने वित्तिकै  अध्यक्ष बस्नेत र उपाध्यक्ष शाहीले बिजुले आँखाको उपचार गाउँपालिकाको तर्फवाट गर्ने वच्चन दिए। 

अध्यक्ष उपाध्यक्षको वचन पाएकी विजुलेकी आमा र श्रीमती खुसीले घर फर्किएको केही दिनमै उनको आँखाको उपचारको लागि  काठमाडौं जाने र सो वापत लाग्ने रकम अध्यक्ष बस्नेत र उपाध्यक्ष शाहीको पहलमा जोहो भयो। बिजुले उनकी आमा र श्रीमती समेतले कल्पनासमेत गरेका थिएनन् कि उनले संसार फेरि देख्न सक्छन् भनेर। 

काठमाडौंको  तिलगंगा आँखा अस्पतालमा  उनको  आँखाको सफल उपचारपछि डाक्टरले बिजुलेलाई सोधे, सुरुमा कसलाइ हेर्न चाहनु हुन्छ? बिजुलेले उत्तर दिए, मेरो जीवनमा भगवान बनेर आएका गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत र उपाध्यक्ष रामछाया शाहीलाई।  अनि उनी काठमाडौंबाट सिधै सदरमुकाम खलंगास्थित कुशे गाउँपालिकाको अध्यक्ष बस्ने घरमा गए अनि उज्योलो संसार देख्न पाएकोमा खुसी र हर्ष पोख्न थाले। ‘एक वर्षसम्म पुरै अन्धकारमा बस्दा मेरो आमा र श्रीमती, छोराछोरीले दुःख पाए, अब म केही दुःख र मेहनत गर्छु’, उनले भने। 

बिजुलेको  आँखाको उपचारका लागि गाउँपालिकाको तर्फबाट ३५ हजार सहयोग गरिएको उपाध्यक्ष रामछाया शाहीले बताइन्। उनले  विपन्न समुदायको अप्ठेरोमा परेका व्यक्ति भएको हुनाले बिजुलेलाई सहयोग गरिएको बताइन्। 
कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विजुुलेलाई  गाउँपालिकाको राहत तथा उद्धार कोषबाट सहयोग गरिएको बताए। 

प्रकाशित: १९ जेष्ठ २०७६ १२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App