coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुई विद्यार्थीको मृत्यु प्रकरणः क्षतिपूर्तिको माग गर्दै आफन्तको प्रदर्शन

खोटाङ– खोटाङमा खोलाको दहमा डुबेर ज्यान गुमाएका दुई विद्यार्थीका आफन्तले दिक्तेल बजारमा जुलुस निकालेको छ। शनिबार साप्सु खोलामा पौडी खेल्नेक्रममा ज्यान गुमाएका दिक्तेल प्राविधिक शिक्षालयमा सव–ओभरसियर अध्ययन गरिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका अन्दाजी १९ वर्षीय विक्रम भट्टराई र एलिस बस्नेतका आफन्तले क्षतिपूर्तिको माग गर्दै दिक्तेलबजारमा शान्तिपूर्ण जुलुस निकालेको हो। आइतबार चर्का नाराबाजी गर्दै जुलुस निकालेका पीडित पक्षले दिक्तेलबजारका कतिपय पसलसमेत बन्द गराएका थिए। 

जिल्ला प्रहरी कार्यालयबाट निस्केको नारा जुलुस रत्नपार्क पुगेर त्रिबेणीचोकबाट प्रशासन पुगेको थियो। उनीहरुले क्षतिपूर्ति तथा कारबाहीको माग गर्दै प्रशासनकै अगाडि हस्ताक्षर समेत संकलन गरेका छन्। जिल्ला प्रहरी कार्यालयमा भएको वार्ताका क्रममा क्षतिपूर्तिको रकमको मात्रामा कुरा नमिलेपछि पीडित पक्ष नारा जुलुसमा उत्रिएका हुन्। पीडित पक्षले मागेको रकम प्राविधिक शिक्षालयका सञ्चालकले दिन नसक्ने बताएपछि वार्ता निष्कर्षबिहीन भएको प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताए। 

पीडित पक्षले नारा जुलुस निकालेपछि अहिले जिल्ला प्रशासन कार्यालयमा अर्को वार्ताको तयारी भइरहेको छ। मृतक बस्नेतका मामा बिनोद बस्नेतका अनुसार उचित क्षतिपूर्ति दिनुपर्ने, मृतकको भाई÷बहिनीलाई प्राविधिक शिक्षालयमा निःशुल्क अध्ययनको अवसर दिनुपर्ने, मृतकको स्मृतिमा कोष खडा गर्नुपर्ने लगायतका पीडित पक्षको माग छ। 

समस्या समाधानका लागि प्राविधिक शिक्षालयका प्रिन्सिपल र पीडित पक्षलाई राखेर अर्को वार्ताको पहल भइरहेको प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययले बताए। पीडित पक्षको विरोधका कारण अहिलेसम्म मृतकको पोष्टमार्टम हुन सकेको छैन। मृतक भट्टराईका बाबु राजन भट्टराई र बस्नेतका बाबु इन्द्रबहादुर बस्नेतलाई समेत वार्तामा राखेर छलफल गराउने तयारी भइरहेको खाल्लेका वडाध्यक्ष डिल्ली राईले बताए। छोराको मृत्यु भएपछि इन्द्रबहादुर बिदेशबाट घर आउँदैछन्। 

प्राक्टिकल भ्रमणका लागि साप्सु कालिका हाईड्रोपावरमा लगिएको अवस्थामा खोलाको दहमा पौडी खेल्दा उनीहरु दहमा डुबेको जनाइएको छ। सुरुमा डुबेका भट्टराईलाई जोगाउनेक्रममा बस्नेतले पनि ज्यान गुमाएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १९ जेष्ठ २०७६ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App