१६ चैत्र २०८० शुक्रबार
समाज

सुरक्षा निकाय लक्षित सुरक्षा विश्वविद्यालय बन्ने

काठमाडौं - अर्थ मन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेको वार्षिक बजेटमा राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा सम्बन्धी विषयमा स्वदेशमै अध्ययन अनुसन्धान गर्ने/गराउने लक्ष्यसहित राष्ट्रिय सुरक्षा विश्वविद्यालय स्थापना गर्न प्रक्रिया अगाडि बढाइने बताएका छन्। यसका लागि निश्चित रकम समेत बजेटमा छुटाइएको उनले जनाए।

नेपाल सरकारको सेना प्रहरीको क्षमता अभिवृद्धि गरी दक्ष र योग्य जनशक्ति उत्पादन गर्न तथा नेपाल सरकारका कर्मचारीलाई समेत रणनीतिबारे ज्ञान उपलब्ध गराउने उद्देश्यले सरकारले राष्ट्रिय सुरक्षा विश्वविद्यालय स्थापना गर्न लागेको हो।

नेपाली सेनामा सहायक रथीबाट उपरथीमा बढुवा हुनका लागि दाबेदार उम्मेदवारहरुले नेसल डिफेन्स कोर्स (एनडिसी÷वार कोर्स) अनिवार्य गर्नुपर्छ। जुन हालसम्म नेपालमा पठनपाठन गराइने कुनै शैक्षिक निकाय अझै छैन।
यसका लागि सेनाले हरेक वर्ष बढुवाका दाबेदार सैनिकहरुलाई विभिन्न देशहरुमा तालिमका लागि पठाउने गरेको रक्षा मन्त्रालयका प्रवक्ता बावुराम गौतमले बताए।

उनले रक्षा मन्त्रालयले प्रारम्भिक अध्ययन गरी विश्वविद्यालय स्थापनाका लागि खाका तयार पारी सरकारालाई बुझाएअनुसार बजेटमा समावेश गरिएको जनाए। ‘हाल हाम्रो देशमा सुरक्षासम्बन्धी पठनपाठन गराइने शैक्षिक निकाय छैन। तर बढुवाका लागि यो विषयमा योग्यता हासिल गर्न आनिवार्य छ,’ प्रवक्ता गौतमले नागरिकसँग भने, ‘त्यही भएर चाइना, भारत, बंगलादेश, पाकिस्तान, अमेरिका, बेलायत र नाइजेरियासम्म हाम्रा शैक्षिक अधिकारीहरुलाई पठनपाठनका लागि पठाउने गरिएको छ। यी देशले उपलब्ध गराउँदै आएको कोटामा मापदण्डमा मेरिट लिस्टमा परेकाहरु मात्र जान पाउने व्यवस्था छ।’ उनले थपे, ‘विश्वविद्यालय स्थापनाबारे नेपाली सेनाले गृहकार्य सुरु गरिसकेको छ।’

यसबाहेक स्टाफ कलेजका लागि पनि यी मुलुकमा नेपाली सेनाका अधिकृतहरु हरेक वर्ष तालिममा जाने गरेका छन्। नेपाल प्रहरी र शसस्त्र प्रहरीका उच्चअधिकारीहरु समेत सुरक्षा तालिमका लागि हरेक वर्ष विदेश जाने बाध्यता हटाउने भन्दै सरकारले नेपालमै राष्ट्रिय सुरक्षासम्बन्धी विषय अध्ययन गराउन राष्ट्रिय सुरक्षा विश्वविद्यालय स्थापना गर्न लागेको उनले प्रवक्ता गौतमले जनाए। ‘नेपालभरि छरिएर रहेका सुरक्षा विज्ञहरुको विज्ञतालाई यस विश्वविद्यालयमा सम्मानको रुपमा प्रयोग गरिने छ,’ प्रवक्ता गौतमले नागरिकसँग भने, ‘विश्वविद्यालयमा विषयगत पाठ्यक्रमम निर्माण गर्ने, राष्ट्रिय सुरक्षासम्बन्धी प्रोफेसनल काम गर्ने, कोर्स बनाउने तालिम दिनेलगायतका कामहरुका लागि कार्ययोजना बनाउने काम भइरहेको छ।’ साथै राज्यलाई आवश्यक सुरक्षाबारे सल्लाह दिने, विचार विमर्श गर्ने काम पनि यही विश्वविद्यालयमा हुनेछ।

सुरक्षाविद् एवं नेपाली सेनाका पूर्वप्रवक्ता (सहायक रथी) सरेश शर्माले सरकारले स्वदेशमै सुरक्षा विश्वविद्यालय खोल्ने नीति स्वागतयोग्य रहेको प्रतिक्रिया दिनुका साथै विश्वविद्यालय स्थापना र व्यवस्थापनमा चुनौती पनि थपिने अवगत गराए। उनले आपूm नेपाली सेनामा कार्यरत हुँदा नै सुरक्षा विश्वविद्यालय खोल्नेबारे छलफल चलाएको बताए। ‘विदेशमा सुरक्षा विश्वविद्यालय अपरिहार्य नै हुन्छ,’ सुरक्षाविद् शर्माले नागरिकसँग भने, ‘हामी कहाँ भएका विश्वविद्यालयहरुमा सैद्धान्तिक विषयबस्तु मात्र पढाइन्छ।’ उनले थपे, ‘तर सुरक्षा विश्वविद्यालयमा सुरक्षा, युद्धकला र रणनीति बारे विषयबस्तु पढाइन्छ।’ जसका कारण यो विश्वविद्यालयमा सेना, प्रहरी मात्र नभएका नेपाल सरकारका कर्मचारीहरुले समेत अध्ययनको अवसर पाउँछन्। ‘जसका लागि विश्वविद्यालयमा दक्ष र योग्य शिक्षक, सही परिस्थिती, आवश्याक सामग्री र माटो सुहाउँदो शैक्षिक सामग्री अति आवश्यक हुन्छ,’ उनी भन्छन्, ‘हामीकहाँ यही विषय व्यवस्थापनमा चुनौती थपिने मैले महसुस गरेको छु।’

उनले हाल नेपालमा सेना प्रहरीको शैक्षिक योग्यता र बौद्धिकता विकासका लागि स्टाफ कलेजभन्दा उच्च शैक्षिक निकाय नभएको अवस्थामा सुरक्षा विश्वविद्यालय निकै लाभदायी हुने धारणा व्यक्त गरे। ‘सुरक्षा विश्वविद्यालयले राष्ट्रिय आवश्यकताअनुसारको माथिल्लो निकायमा देशलाई आवश्यक पर्ने राष्ट्रिय रणनीति बनाउने बौद्धिक जमात उत्पादन गर्छ,’ सुरक्षाविद् शर्मा भन्छन्, ‘जसकाकारण कर्मचारीहरु आआफनो क्षेत्रमा थप दक्ष र योग्य बन्नु हुन्छ। सही तरिकाले आप्mनो क्षेत्रको काम गर्न रणनीति तय गर्नसक्ने दक्षता हासिल गर्नु हुन्छ।’

प्रकाशित: १७ जेष्ठ २०७६ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App