coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राजतन्त्र हटेको ११ वर्षपछि गणतन्त्र पार्क

काठमाडौं – सरकारले राजतन्त्र हटेको ११ वर्षपछि गणतन्त्र पार्क स्थापना गरेको छ। गणतन्त्र दिवसको अवसर पारेर नारायणहिटी संग्रहालय परिसरमा निर्मित गणतन्त्र पार्क (गणतन्त्र स्मारक) बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन्। पार्क उद्घाटन कार्यक्रममा राष्ट्रपतिसहित प्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, अन्य पदाधिकारीलगायत उच्चपदस्त अधिकारी सहभागी थिए। पार्क ४५ करोड रुपैयाँ लागतमा तयार भएको हो।

२०६५ जेठ १५ गते राजतन्त्र अन्त्य र गणतन्त्र घोषणासँगै तत्कालीन राजदरबार सरकारले नारायणसिहटी राजदरबार परिसरलाई ‘नारायणहिटी संग्रहालय’ घोषणा गरेको थियो। संग्रहालय परिसरकै पूर्वतर्फको ३५ रोपनी क्षेत्रफलमा सहरी विकास मन्त्रालयले गणतन्त्र पार्क र गणतन्त्र स्थापनाका क्रममा भएका विभिन्न सशस्त्र तथा शान्तिपूर्ण आन्दोलन झल्कने गरी ‘गणतन्त्र स्मारक’ निर्माण गरेको हो। पिरामिड शैलीमा निर्माण गरिएको गणतन्त्र पार्क आन्तरिक तथा बाह्य पर्यटकका लागि गन्तव्य बन्ने सरकारको दाबी छ।

गणतन्त्र पार्क र स्मारकमा कुँदिएका कतिपय तस्बिरमा भने सेनाले गम्भीर आपत्ति जनाएको छ। तत्कालीन विद्रोही नेकपा माओवादीबाट सञ्चालित १० वर्षे सशस्त्र आन्दोलनलाई बढवा र सरकारी सुरक्षाकर्मीलाई आलोचना गर्ने गरी तस्बिर कुँदिएकोमा सैनिक अधिकारीरूले असन्तुष्टि जनाएका हुन्। गणतन्त्र पार्कका अधिकांश संरचना सहरी विकास तथा भवन निर्माण विभागको व्यवस्थापनमा निर्माण भएको हो।

स्मारक निर्माण बिकोई स्काई बंगलामुखी जेभी, एसवाई कन्स्ट्रक्सन र बिके कन्स्ट्रक्सनले गरेको हो। कुल ३५ रोपनीमध्ये ५ रोपनीमा गणतन्त्र स्मारकका रूपमा मेमोरियल प्लाजा निर्माण गरिएको छ। प्लाजामा नेपालको संविधान २०७२ को अग्रभाग शीलालेखका रूपमा चित्रित छ।

२०६५ सालमै गणतनत्र पार्कको डिजाइन तयार भए पनि २०६८ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले शिलान्यास गरेका थिए। बुधबारबार उद्घाटन गरिएको पार्क छिट्टै सर्वसाधारणका लागि खुला गरिने मन्त्रालयले जानकारी दिएको छ। पार्कमा प्रवेशका लागि निश्चित कार्यविधि तयार पारेर खुला गरिनेछ।

टुँडिखेलमा गणतन्त्र दिवस

सरकारले ११ औं गणतनत्र दिवस विशेष कार्यक्रम आयोजना गरी मनाएको छ। गणतन्त्र दिवसका अवरसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा सरकारले विशेष कार्यक्रम आयोजना गरेको हो। गणतन्त्र दिवस बढाईं कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रधानसेनापति पूर्णचन्द्र थापा, विभिन्न राजनीतिक दलका नेता, सांसदलगायत उच्चपदस्त अधिकारी टुँडिखेलमा उपस्थित थिए।

सो अवसरमा सेना, प्रहरी, सशस्त्र प्रहरी, स्काउट, विद्यार्थीले विशेष कला प्रस्तुत गरेका थिए भने सैनिक हेलिकप्टरले पुष्पवर्षा गरेको थियो। हरेक वर्ष सरकारले जेठ १५ लाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ। विगतमा गणतन्त्र दिवसमा सार्वजनिक बिदा दिने गरिए पनि यसपटकदेखि बिदा कटौती गरिएको छ।

प्रकाशित: १६ जेष्ठ २०७६ ०१:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App