१६ चैत्र २०८० शुक्रबार
समाज

गणतन्त्र स्मारकमा सुरक्षाकर्मीकै मानमर्दन

काठमाडौं - नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्माण गरिएको गणतन्त्र स्मारक सुरक्षाकर्मीहरुको मानमर्दन हुनेगरी निर्माण गरिएको पाइएको छ।

बुधबार (आज) राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुन लागेको स्मारकमा सशस्त्र द्वन्द्वकालमा नागरिक वेपत्ता तथा हत्याका घटनामा सेना÷प्रहरीको संलग्नता समेत झल्कनेगरी कुँदिएका तस्बीर समाबेस गरिएको हो। यसप्रति नेपाली सेनाका अधिकारीहरुले गम्भीर आपत्ति जनाएका छन्। ‘नेपाली सेनाका परमाधिपति (राष्ट्रपति)बाटै उद्घाटन हुने गणतन्त्र स्मारकमा राज्यका सुरक्षाकर्मीकै मानमर्दन हुने खालका सामग्री समाबेस हुनु गम्भीर आपत्तिको विषय हो।’ नाम नबताउँने शर्तमा एक उच्च सैनिक अधिकारीले नागरिकसँग भने, ‘द्वन्द्वमा ज्यान गुमाएका सुरक्षाकर्मीचाही अपराधी, गैरकानुनी र हिंसात्मक गतिविधि गर्नेचाही शहीद बनाएर स्मारक तयार हुनु गलत हो।’

स्मारक उद्घाटन कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापा सहितका उच्च सैनिक अधिकारीहरुसमेत उपस्थित हुँदैछन्। शहरी विकास मन्त्रालयले तयार पारेको स्मारकका चारवटै किनाराका खम्बा हरुमा माओवादी सशस्त्र द्वन्द्वका क्रममा वेपत्ता पारिएका, अंगभंग भएका, ज्यान गुमाएका तथा मारिएका घटना झल्कने किसिमका कुँदिएका तस्बीर समेटिएको छ। यसप्रति सेनाका अधिकारीहरु निर्माणकार्यको जिम्मेवारी लिएको शहरी विकास मन्त्रालयसँग रुष्ट बनेका छन्।

द्वन्द्वका बेला अंगभंग, व्यक्ति वेपत्ता तथा हत्यामा संलग्नता रहेको भन्दै तत्कालिन विद्रोही माओवादी पक्षले सेनामाथी आरोप लगाउँदै आएको छ। तत्कालिन माओवादी र नेकपा एमाले एकतासँगै बनेको दल नेकपा अहिले प्रमुख सत्तारुद दल छ। त्यसका अध्यक्ष पुष्पकमल दाहाल नै तत्कालिन विद्रोही माओवादीका अध्यक्ष हुन्। ‘सुरक्षाकर्मीलाई होच्याउँने र मानमर्दन हुने किसिमका तस्बीर कुँदिएको छ, यो समग्र सुरक्षाकर्मी माथीकै अपमान हो,’ मंगलबार साँझ नागरिकसँग एक उच्च सैनिक अधिकारीले भने, ‘यसलाई करेक्सन गर्नुपर्छ।’

नाम बताउँन नचाहेका एक अवकासप्राप्त रथीका अनुसार राष्ट्रपति भण्डारीले समेत संग्रहालय भइसकेको नारायणहिटी परिसर भन्दा अन्यत्रै गणतन्त्र स्मारक बनाउँन उचित हुने सल्लाह दिएकी थिइन्। विकल्पका रुपमा राजधानीको तिनकुनेस्थित खाली जग्गामा पनि स्मारक बनाउँने चर्चा चलेको थियो। तर तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले नारायणहिटी परिसरमै बनाउँनुपर्ने अडान लिएका थिए। पछि शहरी विकास तथा भवन विभागले करिव ३५ रोपनी क्षेत्रफललिएर नारायणहिटी परिसरमै निर्माण कार्य अघि बढाएको थियो। स्मारक परिसरकै ५ रोपनी क्षेत्रफलमा मेरोरियल प्लाजा बनाइएको छ। जहाँ गणतन्त्र प्राप्तिका लागि माओवादी सशस्त्र द्वन्द्व र २०६२÷०६३ को आन्दोलन ताका ज्यान गुमाएका व्यक्तिलाई शहीदको रुपमा चित्रण गरेर तस्बीर राख्ने तयारी छ। २०६८ सालमा गणतन्त्र स्मारक तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शीलान्यास गरेका थिए।

सेनाले नारायणहिटी भित्रका संरचनालाई नै जग्गा अपुग हुने भन्दै स्मारक अन्यत्र नै बनाउँन सुझावसमेत दिएको थियो। नारायणहिटी परिसरमा संग्रहालय बाहेक परराष्ट्र मन्त्रालय अन्तर्गत राहदानी र कन्सुलर विभाग, सेनाको उपत्यका पृतना मूख्यालय, पुरानो गोरख गण, सेनाकै क्याब्लरी हाउस (घोडा÷तबेला) लगायत सरकारी कार्यालयहरु छन्।

प्रकाशित: १५ जेष्ठ २०७६ ०८:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App