७ वैशाख २०८१ शुक्रबार
समाज

निर्वाचनपछि पहिलोपटक बर्दिया पुगेका वामदेव त्यहाँको विकास देखेर दंग

तस्बिर/निर्मल

बर्दिया - प्रतिनिधिसभाको निर्वाचनपछि पहिलोपटक बर्दिया पुगेका नेकपा नेता एवं पूर्वउपप्रधामन्त्री वामदेव गौतमले आइतबार पूर्वाधार विकास प्रगतिबारे स्थलगत अनुगमन गरे। अनुगमनमा गौतम पत्नी एवं सांसद तुलसा थापा र सांसद विमला विक पनि सँगै थिए।

जिल्लाका अधिकांश भूभाग–डुब्नेगरी बर्सेनि बबई नदीमा आउने बाढी नियन्त्रणका लागि भइरहेको तटबन्ध कार्य र राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत बबई सिँचाइ आयोजनाको अनुगमनलाई नेता गौतमले प्राथमिकता दिए। यस्तै हुलाकी सडक आयोजना, सडक डिभिजन, सघन सहरी विकास कार्यक्रमको प्रगतिबारे उनले जानकारी लिए। गौतमले पण्डितपुर र मधुवनका अधिकांश चालू वर्षका आयोजनाहरूको पनि अनुगमन गरे।

बबई नियन्त्रणका लागि निर्माणाधीन २८ किलोमिटर तटबन्ध र बबई सिँचाइ आयोजनाले विस्तार गरिरहेको मूलनहर देखेर गौतम दंग परे। दुई वर्षको अवधिमा तटबन्ध निर्माण तथा बबई, औरही र भादा नदी नियन्त्रण व्यवस्थापनबारे आयोजना प्रमुख जितबहादुर थापा र बबई सिँचाइ आयोजना प्रमुख कुञ्जनभक्त श्रेष्ठ विस्तृतमा जानकारी गराएका थिए। यस्तै, जिल्लामा समग्र विकास निर्माण कार्य प्रगतिबारे प्रजिअ रामबहादुर कुरुम्बाङले स्पष्ट पारेका थिए।

बबई नदी नियन्त्रणमा ४७ करोड रुपैयाँ थप भए यसै वर्ष ६० प्रतिशत काम सम्पन्न हुने आयोजना प्रमुख थापाले उल्लेख गरे। गौरवको आयोजनाले लिएको रफ्तारप्रति खुसी व्यक्त गर्दै बजेट अभाव टार्न तत्कालै पहल थाल्ने प्रतिबद्धता गौतमले व्यक्त गरे।

‘दुई वर्षपछि बर्दिया आएँ,’ उनले भने, ‘आफू जहाँ भए पनि बर्दियाको विकासलाई सकारात्मक बाटोमा ल्याइरहेको छु।’ गुलरिया बचाउन यसअघि अर्थ मन्त्रालयमा २५ करोड रकम निकासाको पहलकदमी आफूले गरेको उनको दाबी थियो। दुई वर्षदेखि गुलरिया, बारबर्दिया र मधुवन नगरपालिका बचाउन १५ वटा ठाउँमा तटबन्ध निर्माण कार्य भइरहेको छ। बाढीबाट प्रभावित गुलरिया, पदनाहा, बनियाभार, थपुवा, लटकनियालगायत बाढीबाट अति जोखिममा रहेका बस्ती तटबन्ध निर्माणले बाढीको जोखिम टरेको छ।

पछिल्लो समय उक्त आयोजनाको कार्यालय स्थापनाका लागि प्रतिनिधिसभा सदस्य सञ्जय गौतमको योगदान रहेको र थप बजेटको पूर्वउपप्रधान मन्त्री गौतमले पहल गरिरहेको स्थानीयको बुझाइ छ। विकासे आयोजनाहरूको कार्यप्रगतिबारे छलफल गर्दै पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, सांसद तुलसा थापालगायत।

प्रकाशित: १४ जेष्ठ २०७६ ०१:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App