१६ चैत्र २०८० शुक्रबार
समाज

धरानमा गोली प्रहार, लघुवित्तको पैसा लुटियो

गोली लागेर घाइते भएका शम्भु गच्छदार। तस्बिर : नागरिक

सुनसरी– धरानस्थित जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको चार लाख भन्दा बढि रकम लुटिएको छ।

धरान ५ साउनेबाट लघुवित्तका कर्मचारीमाथि शम्भु गच्छदारमाथि गोली प्रहार गरी रकम लुटिएको प्रहरीले जनाएको छ। धरानको वडा नं ५ स्थित साउनेटारमा ३ जनाको समुहले गोली प्रहार गर्नुका साथै उनको साथमा भएको ४ लाख बढी रकम पनि लुटेर लगेका छन्। घाइते गच्छदारको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा उपचार भइरहेको छ। उनलाई देब्रे कम्मर माथि र देब्रे हातको कुहिनामा गोली लागेको छ। तर, गोली उनको शरीरभित्र नभएको र बाहिरी भागलाई मात्र छेडेर गएकोले खतरामुक्त भएको आकस्मिक कक्षका डाक्टर कमर आलमले जानकारी दिए।

घाइते गच्छदार मोरङको धनपालथान गाउँपालिका २ का बासिन्दा हुन्। उनी जीवन विकासको धरानस्थित शाखा कार्यालयमा सहायक कर्मचारी हुन्। आइतबार बिहान धरानको पुर्वी सिमाना पर्ने मोरङको याङ्शिला क्षेत्रको लामिछानेटारमा रहेको समुहसँग पैसा संकलन गरेर उनी मोटरसाइकलमा धरानतिर फर्कदै थिए। धरानको वडा नं ५ स्थित साउनेटारमा ३ जनाको समुहले बाटो छेकेर लुटेको घाइते गच्छदारले बताए। घटनास्थल धरानको पहाडी क्षेत्र हो। त्यसक्षेत्रमा मोवाइल सम्पर्क पनि हुदैन। ‘झोला चेक गर्नुछ भनेर रोक्यो, मैले हुदैन भनेर नदिदा २ जनाले पेस्तोल झिक्यो र टाउकोमा हिर्कायो,’घाइतेले भने,‘त्यसपछि २, ३ फायरिङ गर्दा मैले छले, २ गोली चै लाग्यो।’ घाइतेका अनुसार लुटेराहरुले झोला र गोजीमा भएको ४ लाख हाराहारीको पैसा झोलासहित लिएर गएका छन्।

संस्थाको मुख्य कार्यालय मोरङको कटहरीमा रहेको छ। सहायक महाप्रबन्धक दामोदर रेग्मीका अनुसार कति पैसा लुटेर लगेको भन्ने यकिन नभएपनि ४ लाख हाराहारीमा भएको अनुमान छ। ‘हाम्रो आन्तरिक सुरक्षा मजबुत नै छ। तर, भवितव्य यस्ता घटना भइदिन्छ,’उनले भने,‘यस्तो नहोस् भनेर हामी सचेत छौ। पैसा नबोक्ने, र बोक्दा पनि धेरै कम मात्र बोक्ने हाम्रो प्रयास नै हो।’

घटनाबारे जानकारी आएलगत्तै इलाका प्रहरी कार्यालय धरानका डिएसपी डुण्डीराज न्यौपाने त्यसतर्फ विस्तृत अनुसन्धान गर्न गएका छन् भने इनरुवास्थित जिल्ला प्रहरी कार्यालयबाट प्रहरी प्रमुख एसपी राजन अधिकारी पनि धरान आएका छन्। घाइतेलाई भेटेका एसपी कोइरालाले घटनाबारे प्रारम्भिकरुपमा अनुसन्धान शुरु भएको बताए। ‘हामीसँग प्रारम्भिक जानकारी मात्र छ, डिएसपी साप घटनास्थलतर्फ जानुभएको छ, र नाका कडाई गरेर अनुसन्धान शुरु गरेका छौं,’उनले भने।

 

प्रकाशित: १२ जेष्ठ २०७६ ०७:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App