२७ श्रावण २०७७ मंगलबार
समाज

औषधिविहीन स्वयंसेविका

रसुवा - कालिका गाउँपालिका–५ ज्याङलाङकी अन्जिता तामाङको घरमा महिनामा करिब १५ जना बिरामी पुग्छन्। उनी महिला स्वास्थ्य स्वयंसेविका हुन्। उनले स्वयंसेविकाको रूपमा काम गर्न थालेको १३ वर्ष भयो। दुई वर्षअघिसम्म उनले घरमा आएका बिरामीलाई औषधि दिने गर्थिन्। सामान्य चोटपटक लाग्दा, ज्वरो आउँदा, झाडापखाला लाग्दा उनको घरमा पुग्ने बिरामी अझै घटेका छैनन्। तर २०७४ साउनदेखि स्वास्थ्य संस्थाले औषधि उपलब्ध गराउन छाडेपछि घरमा पुगेका बिरामीलाई फर्काउनुको विकल्प छैन।

यसअघि उनले पाउँदै आएको औषधि कटौती भएको छ। उनीसँग अहिले जिंक चक्की र पिल्स मात्रै छ। यी दुई औषधिबाहेक अरू औषधि उनीसँग छैन। हातखुट्टामा चोट लागेर आएका बिरामीलाई ब्यान्डेजको अभावमा फेटा बाँधेर पठाउने गरेको उनले बताइन्। ‘ब्यान्डेज नहुँदा मेरो बाबुको व्रतबन्धको समयमा आएका फेटा च्यातेर बाँधिदिने र पठाउने गरेकी छु,’ स्वयंसेविका तामाङले भनिन्, ‘यसले बिरामीलाई थोरै भने पनि राहत भएको छ।’

स्वास्थ्य केन्द्रले दिँदै आएको औषधि कटौती गरेको गुनासो

स्वयंसेविकालाई जिल्ला स्वास्थ्य कार्यालयले १५ दिने तालिम दिने गरेको छ। तालिम लिएर फर्किएपछि उनले जीवजीवे प्राथमिक स्वास्थ्य केन्द्रबाट औषधि लिँदै आएकी थिइन्। तालिममा प्राथमिक उपचार गर्न सकिने बताए पनि उक्त केन्द्रले अहिले औषधि दिँदैन। ‘तालिममा प्राथमिक उपचार गरेर पठाउनु भनेर सिकाउँछन्,’ उनले भनिन्, ‘अनि स्वास्थ्य संस्थामा ब्यान्डेज चाहियो भनेर अघिपछि भन्यो भने किन चाहियो, भनेजस्तो कुरा गर्छन्।’ प्रत्येक महिना स्वास्थ्य संस्थामा स्वयंसेविकासँग बैठक हुन्छ। बैठकमा स्वास्थ्य संस्थाले आवश्यक औषधि दिएर पठाउने गरेको थियो। तर अहिले एक पाता सिटामोल, पाँच प्याकेटसम्म जीवनजल, जिंक चक्की र पिल्स मात्रै दिने गरेको छ।

महिनामा नौ÷दश जना बिरामी फर्कने गरेको उनले सुनाइन्। ‘पहिले औषधि दिन्थ्यौं,’ उनले भनिन्, ‘अहिले सल्लाह मात्रै दिने गरेका छौं।’ उनीसँग जिंक चक्की र पिल्स मात्र पर्याप्त छ। ‘तपाईहरूले सिधै दिन मिल्दैन। बिरामीको अवस्था कस्तो छ, नबुझी औषधि दिँदा भोलि तलमाथि भयो भने के गर्ने ? बिरामीको ज्यान जानसक्छ भनेर केन्द्रमा कर्मचारीले भन्ने गरेका छन्,’ उनले भनिन्। कालिका गाउँपालिका–३ की देउती नेपालीलाई पनि उही समस्याले गाँजेको छ। त्यस्तै औषधि कम आएपछि बिरामीलाई स्वास्थ्य संस्थामा जान सल्लाह दिने गरेको कालिका गाउँपालिका–४ की स्वयंसेविका साइलीमाया तामाङले बताइन्। ‘पहिले औषधि हुने समयमा औषधि र सल्लाह दुवै दिन्थ्यौं, हिजोआज भने सल्लाह मात्रै दिन थालेका छौं।’

रसुवामा दुई सय ४५ जना स्वास्थ्य स्वयंसेविका छन्। स्वयंसेविकाको विकल्पमा रोमिङ अनमी ट्रायलको रूपमा सुरु भएको छ। जिल्लाको आमाछोदिङमो गाउँपालिका–१ र २ हाकुमा यो कार्यक्रम सुरु भएको स्वास्थ्य कार्यालय रसुवाका परिवार नियोजन सुपर भाइजर चन्द्रभूषण ठाकुरले बताए। रसुवाको तल्लो क्षेत्रमा जनसंख्याको आधारमा र माथिल्लो क्षेत्रमा साविकका गाविसको वडा संख्याको आधारमा राखिएको छ। एकजना स्वयंसेविकाबराबर एक सय ५० देखि दुई सय परिवार हेर्नुपर्ने उनको भनाइ छ। स्वयंसेविकाले आफ्नो मासिक प्रतिवेदन आफ्नो कार्यक्षेत्र भएको स्वास्थ्य संस्थामा बुझाउनपर्छ।

नीतिमै उल्लेख भएको कुरा कटौती गर्न नहुने स्वास्थ्य कार्यालय रसुवाका प्रमुख शिवप्रसाद बडालले बताए। स्वास्थ्य स्वयंसेविकाको साथमा जिंक, जीवनजल, आइरन चक्की, भिटामिन ए क्याप्सुल तथा जुकाको औषधि, परिवार नियोजनको अस्थायी साधन कण्डम र पिल्स हुनुपर्छ। आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमै पु¥याउन आव २०४५/४६ देखि नेपालमा महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम सुरु भएको हो। हरेक वडामा एकजना स्वयंसेविकाका दरले परिचालित हुने गरी कार्यक्रम सुरु भएको थियो। स्वयंसेविकाको आधारभूत तालिम १५ दिनबाट परिमार्जन गरी सुरुमा ९ दिन तालिम दिई परिचालन गरिन्छ। यसरी परिचालित भएको ६ महिनाभित्र पुनः ९ दिने तालिम गरी १८ दिने तालिम प्रदान गरिन्छ। साथै समयसापेक्ष पुनर्ताजगी तालिम दिने र विभिन्न गोष्ठीमा सहभागिता गराउने गरिएको छ।

प्रकाशित: १२ जेष्ठ २०७६ ०७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App