२१ जेष्ठ २०७७ बुधबार
समाज

समावेशी चापाकोट

तारानाथ पहारी
दुर्गम भन्नेबित्तिकै रोल्पारुकुम वा अन्य क्षेत्रका विकट पहाडी भूगोलको सम्झना हुन्छ। तर, हाम्रा सुविधायुक्त सहर छेउछाउमै छन् थुप्रै विकट गाउँ बस्तीहरू। सडक राम्रो नहुँदा, यातायात सुविधा राम्रो नहुँदा दुर्गम बनेका छन् ती लेकबेंसीहरू। पर्यटनको राजधानी पोखरा, त्यसमाथि फेवाताल किनारबाट १२ किमी दूरीको एउटा सुन्दर गाउँ चापाकोटको चर्चा गर्दैछु यहाँ। पोखरा महानगरपालिका– २३ मा पर्ने चापाकोट प्राकृतिक हिसाबले सुन्दर छ जहाँबाट माछापुच्छे«, अन्नपूर्ण लगायत हिमालको ताँती देखिन्छ।

गाउँमा स्वच्छ वातावरण छ। गाउँले आत्मीय छन्। डाँडाबाट सूर्योदयको सुन्दर दृश्य देखिन्छ। फेवाको मोहनीले लठ्याउँछ। एक दिने हाइकिङ होस् या बहु दिने टे«किङ, चापाकोटलाई केन्द्र मानेर सेरोफेरो पदयात्रा गर्न सकिन्छ। यतैबाट पञ्चासे पदयात्रा गर्न मिल्छ। प्रशस्तै पर्यटकीय संभावना बोकेको गाउँ बत्तीमुनिको अँध्यारोझैं भएको छ। फेवातालको सिरान हर्पन खोलाको तटमा अवस्थित चापाकोट पोखराका हरेक गतिविधिको साक्षी बसेको छ। साँघुरिँदै गएको फेवाताल देखेर, फेवामा प्रदुषण बढेको हेरेर सायद ऊ धुरुधुरु रुँदो हो !

फेवातालबाट  १२ किमी दूरीको चापाकोट गाउँमा होमस्टे सुविधा छ। पोखराभन्दा शान्त र शीतल गाउँमा आत्मीय व्यवहार पाइन्छ।

कुमारी पोखराको विकास क्रम नियालिरहेछ चापाकोट। कंक्रिटको जंगलतिर हेर्दै सायद हिजोका घुमाउने घरहरू खोज्दै होला ऊ। धन्न जोगिएको छ गाउँ।
विकासका आधारभूत पूर्वाधारको राम्रो विकास नहुँदा गाउँलेले दुःख पाएका छन्। गाउँमा पक्की सडक छैन। गाउँमा एक समय ठूलो पहिरोका रूपमा चिनिएको क्षेत्र अहिले घना जंगलमा रूपान्तरित भैसक्यो। करिब ४५ हेक्टर सामुदायिक वनभित्र बाँस, कटुस, चिलाउने, उत्तिस, चाँप लगायत रुख छन्। एक समय बाम्बो सेक्रेटका नामले चिनिन्थ्यो सामुदायिक वन। बाँसका कुर्सीदेखि पेन होल्डरसम्म उत्पादन गर्थे गाउँले।

चराको चिरबिर सुनिन्छ त्यहाँ। वनमा मृगहरू पनि डुल्छन्। चापाकोट पुग्दा तन र मन दुवै शान्त हुन्छ। मनमा आनन्द छाउँछ। शरीरमा रिचार्ज हुन्छ। ग्रामीण विकासमा क्रिशायली भिटोफ नेपाल गण्डकी प्रदेशले चापाकोटलाई ग्रामीण पर्यटन गन्तव्य बनाउने प्रयास गरेको छ। हामीले गाउँको संम्भावना अध्ययन गरी सामुदायिक होमस्टे विकासमा गाउँलेलाई हौस्याएका छौं।

अहिले चापाकोट पर्यटक पर्खिरहेको छ। चापाकोट पर्यटकीय पर्यटन विकास समिति र चापाकोट देउराली सामुदायिक होमेस्टे गरी दुइटा समूह छन्। हामेस्टेको प्रवद्र्धनमा वडा अध्यक्ष विष्णु पराजुली देखि समितिका अध्यक्ष भिम पराजुलीसम्म कम्मर कसेर लागि परेका छन्।   गाउँमा पहिल्यैदेखि गुरुङ  बस्ती थियो भन्ने उदाहरण चापाकोटको घडेरी डाँडामा रहेको चिहान डाँडाले दर्शाउँछ। त्यहाँबाट गुरुङहरूको बसाइँ सराइँले गर्दा डाँडा झाडीमा परिणत भयो। यतिबेला गाउँमा बाहुन, क्षेत्री, मगर र दलित समुदायको बसोबास छ। एक हिसाबले समावेशी फूलबारी भने हुन्छ गाउँलाई।

गाउँका बाहुन र दलितका १० घरमा होमस्टे गराइन्छ। हामेस्टेले पर्यटनको ढोका खोलेको छ। ओखलढुंगा, घडेरी र रकेट गरी तीन गाउँको सिरानमा अवस्थित चिहानडाँडा भ्यू पोइन्ट बनेको छ। खोल्साको झरनाको रूप फेरिँदै छ। पोखराबाट पामे–चापाकोट– भुम्दस्कोट हुँदै पुम्दीतिरबाट  ग्रामीण  सडकले छिचोलेको छ। कच्ची सडकमा हुइँकिँदै चापाकोट पुग्न सकिन्छ। स्थानीय पर्यटन समितिले पुराना गोरेटालाई पदमार्गका रूपमा विकास गर्दैछन्।  

चापाकोट क्षेत्र विकासका लागि पोखराको ड्याम साइड, स्तुपा हुँदै कालावाङ र कालावाङबाट चापाकोटमा बास बस्ने गरी होमेस्टे टे«ल विकास गर्न सकिन्छ। यसो गर्न सके गाउँलेको जीवनस्तर उकासिन सक्छ। विडम्बना ! पञ्चासेको काख, अन्नपूर्ण हिमश्रृङ्खलाको कोखमा बसेको लुकेको हिराप्रति न सरकारले नजर लगायो न नीतिनिर्माताले। बरु आज गाउँले नै कस्सिएका छन् पर्यटकीय गाउँ बनाउन। आशा गर्दछु, चापाकोट चाँडै चम्किने छ।

प्रकाशित: ११ जेष्ठ २०७६ ०९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App