१६ चैत्र २०८० शुक्रबार
समाज

आफन्त नै ह्रिंसक

दोलखा - जिल्लाको जिरी नगरपालिका–१ का ङिमा शेर्पाकी पत्नी फुर्लमु डेढ महिनाअघि कामदारसहित गाउँमा नयाँ घर बनाउन जुटेकी थिइन्। पति प्रायः मदिरा सेवन गर्ने भएकाले घरव्यवहारको जिम्मेवारी उनको काँधमा आयो। चैत २७ गते फुर्लमुले काम गर्नेहरूलाई खाजासँगै रक्सी पनि दिइन्। रक्सीको नशामा आइपुगेका ङिमाले सो दृश्य देखेपछि पत्नीप्रति शंका गर्न थाले। पतिले पत्नीमाथि नाजायज सम्बन्धको आरोप लगाएपछि उनीहरूबीच सुरु भएको विवादले उग्र रूप लियो। ङिमा पत्नीमाथि कुटपिटमा उत्रिए। लगत्तै फुर्लमुले दाउराको चिर्पटले जवाफी हमला गरिन्। भुइँमा ढलेका ङिमाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भयो। फुर्लमु अहिले पुर्पक्ष थुनामा छिन्।

त्यस्तै गौरीशंकर गाउँपालिकाको झ्याँकु गाउँका छिरिङ शेर्पा र खम्सु शेर्पा दाजुभाइ हुन्। उनीहरू खुब मिल्थे। भाइ खम्सुलाई गाह्रोसाह्रो पर्दा दाजुले नै सहयोग गर्थे। भाइ पनि दाजुलाई सुखदुःखमा साथ दिन्थे। भाइ बिस्तारै रक्सीको लतमा फसे। ज्यालादारी काम गर्दै आएका उनले काममा ध्यान दिन छाडे। कमाइ कम भएपछि रक्सी पिउन पैसा पुग्न छाड्यो। त्यसपछि उनले छिमेकीको सामान चोर्दै बेच्न थाले। गाउँमा परिवारकै बदनाम हुन थालेपछि छिरिङले खम्सुलाई सम्झाउन थाले। रक्सीको नशामा रहेका खम्सुले धारिलो हतियारले हानेर दाजुको हत्या गरे। खम्सु अहिले कारागारमा छन्।
यी घटना प्रतिनिधिमूलक घटना र पात्र हुन्। यस्ता घटनाले परिवारमा भित्रभित्रै झाँगिँदै गएको अपराध कर्मको वास्तविकता चित्रण गर्छन्। जिल्ला प्रहरी कार्यालय दोलखाको मुद्दा शाखामा वर्ष दिनयता दर्ता अपराधका घटनाहरूको फेहरिस्त हेर्दा कर्तव्य ज्यानदेखि, करणी उद्योग हुँदै सार्वजनिक अपराधसम्म गम्भीर प्रकृतिका अधिकांश घटना परिवारभित्रै भएका देखिन्छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांक विश्लेषण गर्दा पेसेवर तथा संगठित अपराधमा कमी आए पनि परिवारभित्र हुने आपराधिक घटना र बेमेल मौलाउँदै गएको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी वासुदेव पाठक आफू दोलखा आएको १० महिनामा २० वटा गम्भीर अपराधका घटना भएको बताउँछन्। तिमध्ये १३ वटामा परिवारका सदस्य जोडिएका छन्। उनका अनुसार साउनयता पतिले पत्नी र पत्नीले पतिको हत्या गरेको घटना मात्र ६ वटा छन्। यस्तै करणी उद्योग र जर्बजस्ती करणीका मुद्दा पनि प्रायः परिवारभित्रकै छन्। जिल्लामाा पेसेवर तथा संगठित अपराधका घटना घटे पनि परिवारभित्रै अपराधको शृंखला बढ्दै जान थालेको विषयले प्रहरीसहित सरोकारवाला सबैलाई चिन्तित तुल्याउन थालेको छ। ‘पेसेवर अपराध धेरै घट्दै गयो तर हाम्रो जिल्लासहित देशभर भइरहेका घटनाहरूको पृष्ठभूमि हेर्दा पारिवारिक अपराध भित्रभित्रै झागिँदै छ,’ डिएसपी पाठक भन्छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी वासुदेव पाठकका अनुसार जिल्लामा बितेका १० महिनामा २० वटा गम्भीर अपराधका घटना भएका छन्। तिमध्ये १३ वटामा परिवारका सदस्य जोडिएका छन्।

केही दिनअघि पाँचथर हत्याकाण्ड, ललितपुर हत्याकाण्डसहित पछिल्लो समय देशभरि देखिएका केही प्रमुख घटना परिवारकै सदस्यबाट भएको उदाहरण दिँदै उनी पारिवारिक अपराधका घटना नियन्त्रणबाहिर जान सक्ने आँकलन गर्छन्। ‘पेसेवर अपराध भए नियन्त्रण गर्न सजिलो हुन्छ,’ पाठक भन्छन्, ‘तर आफ्नै परिवारका सदस्यबाट को–को असुरक्षित छन् भन्ने पत्ता लगाएर नियन्त्रण गर्न सकिने अवस्था देखिन्न।’

प्रहरीका अनुसार आफ्नै परिवारका सदस्यबीच हत्याको क्रम बढ्दो छ। प्रायः परिवारभित्रैका हत्या घटनामा रक्सी र लागुऔषध सेवनको उन्माद प्रमुख कारण रहेको निष्कर्ष प्रहरीको छ। ‘९० प्रतिशतभन्दा बढी घटना यसै कारण भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय दोलखाका मुद्दा शाखा प्रमुख सई यज्ञानन्द शाह भन्छन्, ‘परिवारभित्रको वैमनश्य र झगडाले भित्रभित्रै उग्ररूप लिइरहेको छ।’ बेमेल, वैदेशिक रोजगारी, व्यक्तिगत स्वार्थ, आर्थिक मामिलाले पनि परिवारभित्रै आपराधिक घटना हुने गरेका प्रहरी अधिकारी बताउँछन्। परिवारका सदस्यहरू एकअर्काको व्यक्तिगत चरित्रमा हावी हुन खोज्ने प्रवृत्तिका कारणसमेत बेमेल र झगडा बढिरहेको देखिन्छ। दोलखामा पति–पत्नीले एकअर्काको चरित्रमाथि आशंका गर्दा त्यसले हत्या र आत्महत्यासम्म निम्त्याउने गरेको छ। प्रहरीको मुद्दा शाखाका अनुसार एकअर्काको चरित्रमा शंका गर्दा हुने झगडाले उग्र रूप लिँदा १० महिनामा दोलखामा तीन महिलाले पति र तीन पुरुषले पत्नीको हत्या गरेको देखिन्छ।
आफन्तै तारो

भदौमा हाटबजार र जात्राबाट रक्सी सेवन गरी घर फर्कंदै गरेका शैलुंगेश्वरका उमेश विकले आफ्नै १० वर्षीय भतिजालाई बाटोमा भेटे। उमेशको दाजुको परिवारसँग अंश विवाद थियो। उनले रक्सीको उन्मादमा दाजुको परिवारसँगको रिसईबी साँध्न भतिजाको टाउको र अण्डकोषमा प्रहार गरे। भतिजा बितेपछि उनी आत्तिए। प्रहरीका अनुसार तत्कालै भतिजाको शव खाल्डामा हालेर उनी घर फर्किए। एक सातापछि शव फेला पारेर प्रहरीले उनलाई पक्राउ ग¥यो। विक अहिले पुर्पक्ष थुनामा छन्। यस्तै मागापौवा गाउँमा समेत केही साताअघि एक बाबुले १९ वर्षीय छोराको हत्या गरे। मानसिक रोगी रहेका छोराले दिसापिसाब गरेर फोहोर गरेका कारण क्षणिक आवेशमा आएर बाबुले हत्या गरेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार प्रायः परिवारभित्रैका हत्या घटनामा रक्सी र लागुऔषध सेवनको उन्माद, बेमेल, वैदेशिक रोजगारी, व्यक्तिगत स्वार्थ, आर्थिक मामिला, व्यक्तिगत चरित्रमाथि हावी हुन खोज्ने प्रवृत्ति कारक देखिएका हुन्। पति–पत्नीले एकअर्काको चरित्रमाथि आशंका गर्दा त्यसले हत्या र आत्महत्यासम्म निम्त्याउने गरेको छ।


छोरीचेली परिवारमै असुरक्षित

तीन महिनाअघि छोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा चरिकोटका ४० वर्षीया बाबु पक्राउ परे। उनले ११ वर्षको उमेरदेखि छोरीलाई जर्बजस्ती करणी गर्दै आएको खुल्यो। लामो समयदेखि बाबुबाट भोग्नुपरेको कुकृत्य उनले १८ वर्षको उमेरमा आएर मात्र सुनाउन सकिन्। घरमा आमा र परिवारका अरू सदस्य नहुँदा कयौंपटक बाबुले त्रास देखाएर गरेको कुकृत्यको फेहरिस्त छोरीले प्रहरीका अनुसन्धान अधिकृतलाई सुनाएकी थिइन्। बाबुले त्रास देखाई २० पटकभन्दा बढी सम्बन्ध राखेको ती किशोरीले बताएकी थिइन्।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक केलाउँदा बलात्कार, करणी उद्योग वा जर्बजस्ती करणी साथै यौन हिंसाका मुद्दामध्ये प्रायःमा परिवारकै सदस्यबाट महिला बलात्कृत भएको देखिन्छ। सदरमुकाम चरिकोट नजिकैको एक गाउँकी विवाहिता युवती आफू बलात्कारमा परेको जाहेरी दिन वर्ष दिनअघि जिल्ला प्रहरी कार्यालय पुगिन्। प्रहरीले घटनामा संलग्नलाई पहिचान गरी पक्राउ ग¥यो। पक्राउ परेका ती युवतीकै जेठाजु रहेछन्। जेठाजुले बयानका क्रममा आफू रक्सीको नशामा परेर बुहारीमाथि जबर्जस्ती करणी गरेको स्वीकारे।

उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘बेसुरमा आफ्नै बुहारीमाथि यस्तो अपराध कर्म गर्न पुगेछु।’ उनी अहिले जिल्ला कारागारमा सजाय काटिरहेका छन्। माघमा जिरीमा समेत आफ्नै जेठाजुबाट बुहारीको गर्भ रहन पुगेको खुलासा भयो। यस्ता घटना परिवारकै सदस्यबाट हुने थालेको देखिएपछि प्रहरीले केही समयअघि जिल्लाभरि विद्यालयमा अध्ययनरत छात्रालाई तालिमसमेत दिएको थियो।

बालबालिकामा नराम्रो असर
परिवारभित्र बढ्दो अपराध कर्मले सबैभन्दा बढी असर बालबालिकामा परेको छ। बाबुआमाबीचको द्वन्द्व हत्या र आत्महत्यामा परिणत हुँदा छोराछोरी टुहुरा बनेका कयौं उदाहरण छन्। त्यस्तै पतिपत्नीबीच बढ्दो बेमेलका घटनाले छोराछोरीमा मानसिक असर पर्न थालेको देखिएको छ। जिल्ला प्रहरी कार्यालय महिला सेलमा परेका उजुरी हेर्दा बाबु–आमाबीच घरमा हुने झगडाका कारण घर छाडेर हिँडेका दुई दर्जनभन्दा बढी बालबालिकालाई प्रहरी टोलीले उद्धार गरेको छ। मंगलबार बिहान मात्रै दोलखा प्रहरीलाई चरिकोट बजारबाट तीन किशोरी हराएको जानकारी आयो। खोजी गर्न प्रहरी परिचालन गरियो। सोमबार रातिदेखि घरबाट भागेका उनीहरूलाई प्रहरी टोलीले चरिकोटनजिकैको जंगलबाट उद्धार ग¥यो। डिएसपी पाठक आफैंले उनीहरूसँग बयान लिए।

बयान सुनेर डिएसपी पाठक चकित भए। बयानअनुसार ती किशोरीहरू स्थानीय सामुदायिक स्कुलमा कक्षा ९ मा सँगै पढ्थे। तीनैजनाका बाबु–आमा ज्यामी काम गर्थे। बाबु–आमा दुवै दैनिक रक्सी खाएर घर आउँथे र झगडा गर्थे। विद्यालयमा तीनैजनाले आ–आफ्नो पीरव्यथा आपसमा साटेपछि भागेर काठमाडौं जाने भनेर हिँडेका रहेछन्। किशोरीहरूको बयानपछि प्रहरीले बाबु–आमासँग परामर्श ग-यो। परामर्शपछि किशोरीहरूलाई बाबुआमाको जिम्मा लगाइयो।

प्रकाशित: ११ जेष्ठ २०७६ ००:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App