coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

झाँक्री हत्याकाण्ड : २६ जनालाई कैद फैसला

धादिङ- उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं २ लताबमा दुई झाँक्रीको हत्या भएको घटनामा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ। धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङगानाको इजलासले बुधबार सजाय सुनाएका हुन्। चार जना महिलालाई भने सफाइ दिइएको छ।

गाउँमा झाँक्रीको काम गर्दै आइरहेका गंगाजमुना गाउँपालिका–२ लताबका ४५ वर्षीय साइँला भन्ने प्लेक तामाङ र सोही स्थानका ६५ वर्षीय नरुङ तामाङको विसं २०७५ साउन ५ गते गाउँलेको कुटाइबाट मृत्यु भएको थियो। गाउँलेको कुटाईपछि झाँक्रीको मृत्यु भएपछि प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको थियो।

हत्यामा संलग्न ३४ वर्षीय जितबहादुर तामाङ, ४९ वर्षीय भिमबहादुर तामाङ, ३६ वर्षीय मेमबहादुर तामाङ, ४४ वर्षीय टाडोङ तामाङ, २५ वर्षीय मंगले तामाङ, ३४ वर्षीय बमबहादुर तामाङ, २७ वर्षीय विशाल तामाङ, ३८ वर्षीय रामबहादुर तामाङ, ३६ वर्षीय रामबहादुर तामाङ, १८ वर्षीय अमित तामाङ, २३ वर्षीय विशाल तामाङ रहेका छन्। मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्म कैद गर्ने फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दंगालले बताए। ‘हत्यामा संलग्न मुख्य आरोपी ११ जनालाई मुलुकी ऐन अनुसार जन्म कैद फैसला गरिएको छ’, उनले भने, ‘अन्यलाई घटनामा संलग्नताको प्रकृति हेरी सजाय तोकिएको छ।’

त्यस्तै घटनामा संलग्न ३८ वर्षीय ज्ञानबहादुर भन्ने शंकर तामाङ, ३७ वर्षीय वीरबहादुर तामाङ, २६ वर्षीय शुकबहादुर तामाङ, १८ वर्षीय शुकराम तामाङ, २० वर्षीय सुनिल तामाङ, १८ वर्षीय मिनबादुर तामाङ, १८ वर्षीय अन्जन तामाङ, ३६ वर्षीय मनोज तामाङ, ३१ वर्षीय बेगबहादुर तामाङ, २२ वर्षीय सनम तामाङ र ५५ वर्षीय मनराम तामाङलाई जनही पाँच वर्ष छ महिना कैद गर्ने फैसला गरिएको छ।

त्यस्तै १७ वर्षीय बुद्धिलाल तामाङ, १७ वर्षीय निरज तामाङ, १७ वर्षीय चन्द्रमान तामाङ बालक भएकोले पाँच वर्ष कैद हुनेमा दुई तिहाइ अर्थात तीन वर्ष आठ महिना कैद गर्ने फैसला गरिएको छ। ५६ वर्षीय बलबहादुर तामाङलाई मतियारको रूपमा कटुवाल कराई झाँक्रीहरु मार्नका लागि सहयोग पुर्याएकाले तीन वर्ष छ महिना कैद गर्न जिल्ला अदालतले फैसला सुनाएको छ।

साधारण तारेखमा रहेका सुशीना तामाङ, असारमायाँ तामाङ, कैसाङ तामाङ र तारस्य तामाङलाई घटनामा निर्दोष रहेको भन्दै सफाइ दिइएको छ। चार महिला साधारण तारेखमा रिहा भएका थिए भने बाँकी २६ जना पुर्पक्षका लागि थुनामा थिए।

प्रकाशित: ९ जेष्ठ २०७६ ०८:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App