१५ चैत्र २०८० बिहीबार
समाज

क्षतिपूर्ति प्रतिबद्धतापछि परिवारले बुझ्यो शव

धादिङ - मलेखु खोलामा ग्राभेल निकाल्दा बनेको खाल्डोमा डुबेर मृत्यु भएका बालकको शव परिवारले बुझेको छ। बेनिघाट रोराङ गाउँपालिकाले १० लाख क्षतिपूर्ति दिने र निर्माणाधीन सिमेन्ट उद्योगमा रोजगारीका लागि समन्वय गर्ने सहमतिपछि परिवारले शव बुझेको हो।

बेनीघाट रोराङ–२ स्थित ताल्तीमा निर्माण हुँदै गरेको ह्वासिङ नारायणी सिमेन्ट उद्योगमा जाने बाटो निर्माण गर्न मलेखु खोलाबाट ग्राभेल निकाल्दा खोलामा खाल्डो बनेको थियो। खाल्डोमा शनिबार पौडी खेल्न गएका तीन जनामध्ये गजुरी गाउँपालिका–२ का आठ वर्षीय केदार गिरीको डुबेर मृत्यु भएको थियो भने अन्य दुईजना पौडिएर बाँचेका थिए। खोला कटान गरी सडक निर्माण गरेको आरोप लागिरहेको सो क्षेत्रमा बालकको मृत्युपछि स्थानीयवासी तथा परिवारका सदस्यहरू आक्रोशित बनेका थिए। आक्रोशित स्थानीयवासीले मृतक बालकको परिवारलाई उचित क्षतिपूर्ति र सिमेन्ट उद्योगलाई कारबाहीको माग गरेका थिए। पीडित पक्ष, स्थानीयवासी, सिमेन्ट उद्योगका प्रतिनिधि, गाउँपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि पीडित परिवारलाई राहत उपलब्ध गराउने सहमति भएको हो।

घटनास्थलमा पुगेका बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीलाई गजुरीका स्थानीयले हातपातको प्रयाससमेत गरेका थिए। यसअघि सिमेन्ट उद्योगसँग निजी स्रोेत प्रयोग गरेर बाटो बनाउने सहमति भए पनि खोलाबाट अवैध उत्खनन गरेकाले घटना निम्त्याइएको आक्रोशित समूहको आरोप छ। बेनीघाट रोराङमा निर्माण हुँदै गरेको सिमेन्ट उद्योगका लागि निर्माण भइरहेको सडकको विषयमा दुई गाउँपालिकाका स्थानीयबीच विवाद उत्पन्न हुँदै आइरहेको छ।

पहिले सञ्चालनमा रहेको सडक गजुरी गाउँपालिकामा पर्ने र सिमेन्ट उद्योगका लागि भनेर बेनीघाट रोराङतर्फ हाल खनिएको सडकले खेतीयोग्य जमिन खोलाले कटान गर्ने र प्राकृतिक सम्पदा दोहन हुने भन्दै सार्वजनिक लेखा समितिमा उजुरी परेको थियो। उजुरी परेपछि सार्वजनिक लेखा समितिको उपसमितिको टोलीले छानबिनका लागि दुई गाउँपालिकाको सडक र निर्माण भइरहेको उद्योगको निरीक्षण गरेका थिए।

प्रकाशित: ६ जेष्ठ २०७६ ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App