coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भारतमा निर्माण नेपालमा क्षति

तस्बिर ः भारतीय पक्षले आफ्नोतर्फ सडक निर्माण गर्दा भत्किएको नेपालको बाटो र बहाव थुनिएको महाकाली नदी। तस्बिर: प्रेम/नागरिक

दार्चुला - दार्चुलाको उत्तरी ब्याँस गाउँपालिकाको सीमाक्षेत्रमा भारतीय पक्षले निर्माण गरिरहेको सडकले क्षति पुगेको छ। भारतीय पक्षले आफ्नोतर्फ महाकाली नदी किनारैकिनार सडक निर्माण गर्दा नेपालतर्फको बाटोमा क्षति पुगेको हो। सडक निर्माणमा भारतीय पक्षले जिलेटिन प्रयोग गरिरहेको छ। विस्फोटले ठूल्ठूला ढुंगा महाकाली नदीमा खसेर नदीको बहावसमेत रोकिएको छ।

विस्फोटका कारण महाकाली नदीमा खसेका ठूल्ठूला ढुंगाले घाटिबगड क्षेत्रमा कृत्रिम ताल बनेको व्याँस गाउँपालिका–१ का दानसिंह तिंकरीले बताए। तिंकरीका अनुसार व्याँस गाउँपालिका–२, तम्बाकुदेखि माथि बुँदीसम्मको पैदलमार्ग ठाउँ–ठाउँमा क्षतिग्रस्त भएको छ। विस्फोट गराएर पहाड फुटाउँदा खसेको ढुंगामाटोले करिब १० किलोमिटर क्षेत्रको ठाउँठाउँमा महाकाली नदीको बहाव अवरुद्ध भई नेपालतर्फको बाटोमा क्षति पुगेको व्याँस गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिंह बोहोराले बताए।

व्यास गाउँपालिकाले गत वर्ष र चालु वर्षमा मर्मत गरेको व्याँस जोड्ने पैदलमार्गमा क्षति पुगेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडाअध्यक्ष धीरनसिंह बुढाथोकीले बताए। गाउँपालिकाले मर्मत गरेको पैदलमार्गअन्तर्गत घाटिबगड क्षेत्र डुबानमा परेको छ। उनले भने, ‘त्यसक्षेत्रमा यतिबेला आवतजावत बन्द भएको छ।’

नेपालतर्फको क्षतिग्रस्त सडक मर्मतमा भारतीय पक्षले आनाकानी गरेको छ। डेढ महिनाअघि पिथौरागढमा सम्पन्न सीमा बैठकमा दुई देशका अधिकारीबीच स्थलगत निरीक्षण गरी आपसी समन्वयमा पैदलमार्ग तत्काल मर्मत गर्ने सहमति भएको थियो। चैत १७ गते भएको सीमा बैठक छलफल र सहमतिअनुसार भारतीय पक्षले क्षतिग्रस्त बाटो मर्मत गर्न पहल गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए। ‘हामीले भारतीय पक्षलाई यसबारे निन्तर समन्वय र पत्राचारसमेत गरेका छौं,’ उनले भने।

क्षतिग्रस्त मार्ग पुनर्निर्माणमा सहयोग एवं सीमा क्षेत्रमा निर्माण गर्दा एकअर्काको क्षेत्रमा असर नपर्नेगरी समन्वय गर्न नेपाली पक्षले भारतीय पक्षलाई स्मरण गराएको छ।

बैठकमा भारतले निर्माण गरिरहेको सडकका कारण महाकाली नदीको बहाव प्रभावित भएको र नेपालतर्फको बाटोमा क्षति पुगेको विषयमा नेपाली पक्षले कुरा उठाएको थियो। बैठकमा पिथौरागढका डिएमले ‘तत्काल स्थलगत निरीक्षण गरी महाकालीको बहावमा भएको अवरोध हटाउने र क्षतिग्रस्त नेपालतर्फको बाटो निर्माण गर्न धारचुलाका एसडिएमलाई मौखिम निर्देशनसमेत दिएका थिए।

प्रजिअ विष्टका अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाले सीमा बैठकको सहमति कार्यान्वयन गर्न पिथौरागढका डिएमलाई पत्राचार गरेको छ। वैशाख १० गते गरिएको पत्राचारमा चैत १७ गते सम्पन्न बैठकको निर्णयअनुसार यथाशीघ्र सहमति कार्यान्वयन गर्न आग्रह गरिएको छ।

भारतीय सडक निर्माणका कारण व्यास गाउँपालिका–२, घाटिबगडदेखि बयालीधारसम्मको पैदलमार्ग क्षतिग्रस्त भएको नेपाली प्रशासनको भनाइ छ। महाकाली नदी किनारमा थुप्रिएको ढुंगामाटो हटाई पानीको प्राकृतिक बहावमा पुगेको अवरोध हटाउन भारतीय पक्षलाई आग्रह गरिएको छ। ‘क्षतिग्रस्त मार्ग पुनर्निर्माणमा सहयोग एवं सीमा क्षेत्रमा निर्माण गर्दा एकअर्काको क्षेत्रमा असर नपर्नेगरी समन्वय गर्ने,’ बैठकको निर्णयसमेत नेपाली पक्षले भारतीय पक्षलाई स्मरण गराएको छ।

पैदलमार्गमा क्षति पुगेपछि आवतजावतमा समस्या आएको भन्दै जनप्रतिनिधि र स्थानीयवासीले प्रशासनलाई गुहारेका छन्। भारतीय पक्षसँग तत्काल पहल गरी बाटो मर्मत गराउन प्रशासनलाई अनुरोध गरिएको व्याँस गाउँपालिका–१ का वडाअध्यक्ष बोहराले बताए। हाल महाकाली नदी किनारको उत्तरतिर दुम्लिङमा मात्रै नेपाल प्रहरीको उपस्थिति छ। अहिले बाटो भत्किएको र महाकालीको बहाव थुनिएको क्षेत्र प्रहरी चौकीबाट चारदेखि आठ घण्टासम्मको दूरीमा पर्छ।

प्रकाशित: ५ जेष्ठ २०७६ ००:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App