१६ चैत्र २०८० शुक्रबार
समाज

नाबालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

सांकेतिक तस्बिर

मकवानपुर– तीन वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। पश्चिमी मकवानपुरको मनहरी गाउँपालिकास्थित नीजी विद्यालयमा एल केजीमा अध्ययन गर्ने छात्रालाई बलात्कार गरेको भन्दै शिक्षक अमन लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

छात्रालाई विद्यालयकै शौचालयमा सोमबार बलात्कार गरेको उजुरी परेपछि २२ वर्षीय लामालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक विरेन्द्र पनेरुले बताए।

बालिका बलात्कार गरेको भन्दै पीडित पक्षले बिहीबार इलाका प्रहरी कार्यालय मनहरीमा किटानी जाहेरी दिएका थिए। उजुरीका आधारमा पक्राउ परेका लामामाथि बलात्कार (जबर्जस्ती करणी)मा मुद्दा चलाइने प्रहरीले जनाएको छ।

यसैबीच, एक १५ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मंगलबार हेटौंडा उपमहानगरपालिका ५ पिप्लेका ४५ वर्षीय हिरालाल चौंलागाई पक्राउ परेका थिए। हेटौंडा उपमहानगरपालिका २ मा डेरा गरी बस्ने बालिकालाई शनिबार बलात्कार गरेको भन्ने सूचनाका आधारमा उनलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवम् मुकेशकुमार सिंहले बताए ।

बढ्दैछ बलात्कारका घटना
मकवानपुरमा बिगत तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा चालु आर्थिक वर्षमा सबैभन्दा बढी बलात्कारका घटना भएका छन्। आर्थिक बर्ष २०७५/७६ को चैतसम्मको ९ महिनाको अवधिमै २५ वटा बलात्कारको घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रमुख एवम् प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए।

उनका अनुसार सबैभन्दा बढी बलात्कारका घटना २०७५ को कात्तिक र चैतमा ५/५ वटा भएका छन्। त्यस्तै, बलात्कृत हुनेमा सबैभन्दा धेरै १६ देखि २५ बर्ष उमेर समूहका १४ जना युवती र १६ बर्षभन्दा मुनिका ७ जना बालिका रहेको प्रहरीको तथ्याङ्क छ।

त्यस्तै, गत आर्थिक बर्ष २०७४/७५ मा २१ वटा बलात्कारको घटना दर्ता भएको मकवानपुरमा आर्थिक बर्ष २०७३/७४ मा २२ वटा र २०७२/७३ मा १९ वटा बलात्कार घटना दर्ता भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ जेष्ठ २०७६ १४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App