१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पुल निर्माणमा चरम लापरवाही, ७ वर्षमा २० प्रतिशत मात्र काम

उदयपुर- उदयपुर र खोटाङलाई जोड्ने मुख्य सडक नाकामा पर्ने सुनकोसीको फोक्सिन्टार स्थित पक्की मोटरेबल पुल ठेकेदारको लापरबाहीका कारण निर्माण सुरु भएको ७ वर्ष पुग्न लाग्दासम्म अलपत्र परेको छ। गएको चैत २० गते नै सम्पन्न हुनु पर्ने पुलको काम हालसम्म २०प्रतिशत भन्दा बढी हुन नसक्दा दुई जिल्लाबासी उपभोक्तालाई आउजाउमा समस्या पर्दै आएको छ।

गाईघाट–दिक्तेल लोकमार्ग अन्तरगत उदयपुरतर्फ रौतामाई ५ र खोटाङ तर्फ खोटेहाङ गाउँपालिका १ बीचको फौक्सिन्टारमा निर्माणाधीन पुल०७५ चैत २० गते सम्पन्न गर्नेगरी ०६९ चैत २३ गते ठेक्का सम्झौता भएको थियो। साढे ४ मिटर गहिरो फाउन्डेसन, ४ मिटर उचाई र १ सय २० मिटर लामो पुल निर्माणको जिम्मा गौरी पार्वती/वाईपी जेवीले लिएको छ। ३ स्पानको उक्त पुल बनाउन तत्कालीन सडक विभागले १९ करोड ६० लाख रुपैंयाँमा निर्माण कम्पनीलाई जिम्मा दिएको थियो। पुल योजना पूर्वी क्षेत्र सेक्टर नं. १ धरानले उक्त पुल निर्माणको प्राविधिक रेखदेख गर्ने जिम्मा पाएको छ। हालसम्म ६ करोड ६६ लाख रुपैंयाँ भुक्तानी समेत दिइसकिएको पुल योजना सेकटर १ का लेखा अधिकृत कैलाश चौहानले बताए।

सेक्टर १ का इन्जिनियर शिवनारायण साहले पुल निर्माणको सुरुवात  नै ढिला भएका कारण म्याद सकिइसक्दासम्म २० प्रतिशत भन्दा बढी काम हुन नसकेको बताए। उनले आफु भर्खरै साईट इन्चार्जको जिम्मेबारीमा आएको र जिम्मेबारी पाए लगत्तै चाँडो काम सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको बताए। ‘यो पुल बनाउन सुरुवात नै ढिला भएको भन्ने बुझिएको छ’ इन्जिनियर साहले भने ‘म २/३ महिना यतामात्र साईट इन्चार्जको रुपमा जिम्मेवारी पाएर आएको हुँ, म आउने वित्तिकै छिटो छिटो काम गर्न ठेकेदारलाई ताकेता गरिरहेको छु।’

पछिल्लो ३ महिना धमाधम काम भईरहे पनि असार मसान्तसम्ममा ३५/४० प्रतिशत भन्दा बढी काम हुन नसक्ने अनुमान उनले गरे। पुलको हालसम्म उदयपुरतर्फ २ वटा फाउण्डेसन पिल्लर उठाइएको छ भने पारितर्फ एउटा फाउण्डेसन पिल्लर निर्माण भएको छ। सुपरस्ट्रक्चर नै पूरा नभएकाले पुलको काम गर्न निकै ढिला हुने स्थानीयहरु बताउँछन्। असार मसान्त नजिकिएको र कोसीमा बाढी आउने याम सुरु भएकाले अव धेरै काम होला भन्ने आस नलागेको रौतामाई ५ का वडाध्यक्ष पाण्डव राई बताउँछन्।

वडाध्यक्ष राईले पटक पटक ठेकेदारलाई पुल छिटो बनाउन ताकेता गर्दा पनि काममा ढिलाई भईरहेको बताए। ‘यो पुल बनाउने भनिएको ६ वर्ष पुगिसक्यो तर, अहिलेसम्म पिल्लरै बनिसकेको छैन’अध्यक्ष राईले भने ‘पुल नबन्दा दुई जिल्लाबासीलाई आउजाउ गर्न ठूलो समस्या भईरहेको छ।

पुल समयमा नबनेकै कारण वर्षेनी हिउँद (कात्तिक) मा बेलिब्रीज जडान गर्ने र वर्षा लागेपछि जेठमा खोल्नुपर्ने बाध्यता रहदै आएको अध्यक्ष राईले बताए। पुल समयमा नबनेकै कारण बेलिब्रीजमा मात्र वर्षेनी राज्यको २ करोड हाराहारी रकम खर्च हुने गरेको छ। यो क्रमविगत ४ वर्षदेखि निरन्तर चलिरहेको छ। यो वर्षको बेलिब्रीज आउँदो १० गतेदेखि खोल्न पत्राचार गरिसकिएको गाईघाट–दिक्रेल सडक आयोजना कार्यालय गाईघाटले जनाएको छ। आयोजना प्रमुख (डिई) पशुपति ज्ञवालीले बाढी आउने याम सुरु भईसकेकाले यसै साता बेलिब्रीज खोलेर थन्काउन निर्माण कम्पनीलाई पत्राचार गरिसकेको बताए।

 

प्रकाशित: २ जेष्ठ २०७६ ११:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App