coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

स्थानीय तहमा केन्द्रकै किचलो

पाँचथर–स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित बनेको दुई वर्ष पुग्नै लाग्दासमेत केही तहले अझै केन्द्र विवाद सुल्झाएका छैनन्। कतै गाउँपालिका केन्द्र त कतै वडाको केन्द्रमा पनि असन्तुष्टि छन्। पाँचथरका केही स्थानीय तहमा अझै पनि केन्द्रको किचलो साम्य हुन नसकेको हो।

गाउँपालिकाको केन्द्रका कारणले पछिल्लो दिनमा तनाव पनि उत्पन्न भएका छन्। फाल्गुनन्द गाउँपालिकामा केन्द्रको विषयले तोडफोड तथा विरोधका कार्यक्रमसमेत भएका छन्। उता हिलिहाङ गाउँपालिकामा मतदानमार्फत भएको निर्णय कार्यान्वयन नभएको भन्दै असन्तुष्टि बढेको छ।

फाल्गुनन्द गाउँपालिकाको कार्यालयमा तोडफोड गर्दै गाउँसभाको बैठक खाता जलाइएको छ। रातको समयमा ढोका फोडेर निर्णयखाता जलाइएको हो। कसले जलायो भन्ने टुंगो छैन। कसले जलायो भन्ने खुल्न नसकेको प्रमुख प्रशासकीय अधिकृत अनिल त्रिखत्रीले जानकारी दिए।

सोमबार चौथो गाउँसभाले घुर्बिसे पञ्चमी बजारबाट केन्द्र सार्ने निर्णय गरेको थियो। सबैको पायक पर्नेगरी भन्दै गाउँसभाबाट सर्वसम्मतले घुर्बिसे पञ्चमीबाट केन्द्र सार्ने निर्णय गरेको थियो। सभाले याङबुङदेखि माथि र कोम्बुङभन्दा तल केन्द्र राख्ने निर्णय गरेको थियो। बजारवासी केन्द्र सार्न नदिने पक्षमा छन्। जनप्रतिधिहरु पायक पर्ने स्थानमा केन्द्र राख्ने चाहनामा देखिन्छन्। जनप्रतिनिधिले धम्कीसमेत आउन थालेको गुनासो गरेका छन्।

पाँचथर र इलामको सिमानामा रहेको पञ्चमी बजारका व्यवसायीसहितका बासिन्दाले उक्त निर्णयको मंगलबार विरोध जनाएका थिए। गाउँपालिकाको कार्यालय तालाबन्दी गर्दै विरोधमा उत्रिएका थिए। आन्दोलनमा बजारवासी उत्रिएपछि साँझ पाँच बुँदे सहमतिपछि आन्दोलन फिर्ता भएको थियो।

दश गते संयुक्त बैठक बस्ने, तत्काल गाउँसभाको निर्णय कार्यान्वयन नगर्नेसहितको सहमति भएको थियो। तर सोही राति निर्णय पुस्तिका च्यात्ने काम भएको हो। बैठक हलमा रहेको पुस्तक च्यातिएको त्रिखत्रीले बताए। माइन्युट च्यातिएको विषयमा अनुसन्धान भइरहको प्रहरीले जानकारी दिएको छ।

यसअघि पनि गाउँपालिका केन्द्रका विषयमा लामो समयसम्म विवाद भएको थियो। मतदानबाट केन्द्र निर्धारण भए पनि सिफारिस गर्ने समय ढिलो भएको भन्दै कार्यान्वय हुन सकेको थिएन। अझै केन्द्रको विवाद पेचिलो बन्न सक्ने स्थानीयको बुझाइ छ। यो गाउँपालिका कांग्रेसले बहुमत स्थानमा जितेको थियो।

हिलिहाङ गाउँपालिकाले मतदानबाट चयन भएको केन्द्रमा कार्यालय भवन निर्माण गरी कार्यान्वयन गर्नेतर्फ ध्यान नदिएको भन्दै स्थानीयस्तरमा असन्तुष्टि बढ्दै गएको छ। हाल केन्द्र रहेको साविकको पञ्चमी गाविस कार्यालय भएको ठाउँ र गोपेटार बजारमध्ये कहाँ केन्द्र बनाउने भनेर जनप्रतिनिधिबीच मतदान भएको थियो। मतदानमा पुरानै केन्द्र कायम गर्ने पक्षले जितेको थियो। गाउँपालिका प्रमुख गोपेटारको पक्षमा भएकाले अझै पनि मतदानबाट निर्णय लिइए पनि भौतिक पूर्वाधारलगायतको निर्माण गरी स्थानीय रुपमा केन्द्र कार्यान्वयनमा ध्यान नदिएको स्थानीय असन्तुष्टि बढ्दै गएको छ। स्थानीयले पटक–पटक असन्तुष्टि व्यक्त गर्दै आएका छन्। जग्गा दिन स्थानीय तयार भए पनि प्राप्तिका लागि पहल नगरेको भन्दै असन्तुष्टि बढ्दै गएको छ।

प्रकाशित: २ जेष्ठ २०७६ ०४:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App