८ वैशाख २०८१ शनिबार
समाज

पोखराको प्रदूषण नाप्न उपकरण राखिँदै

पोखरा– पोखरामा वायुको प्रदूषण मापन गरिने भएको छ। विभिन्न ठाउँमा उपकरण राखेर वायु प्रदूषणको अवस्था पत्ता लगाउने योजना प्रदेशको वातावरण मन्त्रालयले बनाएको छ। पोखरा सहरको वायु प्रदूषण कुन अवस्थामा छ भन्ने थाहा पाउनका लागि मन्त्रालयले आवश्यक उपकरण खरिद गर्नका लागि टेन्डर आह्वान गरेको छ।पछिल्लो समय पोखराको वायु प्रदूषण निकै बिग्रँदै जान थालेकाले पनि त्यसबाट सचेत हुनका लागि प्रदूषण मापन गर्न आवश्यक परेको मन्त्रालयले बताएको छ। मन्त्रालयका योजना महाशाखा प्रमुख नारायण आचार्यका अनुसार पहिलो चरणमा आवश्यक एक सेट उपकरण खरिदका लागि टेन्डर आह्वान गरिएको छ। उपकरणको अनुमानित खर्च थाहा भएपछि आगामी वर्षदेखि बढी बजेट छुट्याएर पोखराका धेरै क्षेत्रको प्रदूषण मापन गर्न सकिने उनले बताए।

‘तत्कालका लागि मन्त्रालयले प्रदूषण मापन गर्ने एक सेट उपकरणका लागि टेन्डर आह्वान गरेका छौं,’ आचार्यले भने, ‘एक सेट उपकरणको मूल्य थाहा भएपछि अरू खर्च कति पर्छ भन्ने यकिन हुनेछ।’

पोखरामा पछिल्लो समय सवारी र मानवीय चाप बढ्दै जाँदा प्रदूषण पनि थपिँदै गएको छ। एक दशक अवधिमा पोखराको वायुको प्रदूषण निकै नै बढेको अनुमान भएकाले त्यसको अवस्था पत्ता लगाउन मापन गर्न थालिएको उनले बताए। ‘दस वर्ष अवधिमा यति धेरै सवारी र मान्छे पोखरामा भित्रिएका छन् कि पछिल्लो समय यहाँको वायुमा धुलो र धुवाँको कण पर्याप्त मात्रामा बढेको छ,’ उनले भने, ‘तर, त्यसको आधिकारिक मापन भएको छैन। अनुमानको भरमा प्रदूषण बढेको बताइरहेका छौ।’

पछिल्लो समय पोखराको वायु प्रदूषण बिग्रँदै जान थालेकाले प्रदूषण मापन गर्न आवश्यक परेको मन्त्रालयले जनाएको छ।


मन्त्रालयले यो वर्ष उपकरण खरिदका लागि १५ लाख रुपैयाँ मात्र छुट्याइएको उनले जानकारी दिए। ‘प्रदूषण मापन गर्ने एक सेट उपकरणका लागि यो रकम छुट्याएका हौं। अहिले नै पोखराको सबै चोकमा उपकरण राख्ने होइन,’ आचार्यले भने, ‘तर आगामी आर्थिक वर्षमा थप बजेट छुट्याएर ठाउँठाउँमा प्रविधि राख्न सकिन्छ।’ यो वर्षका लागि एक सेट उपकरणको कति लागत पर्छ भन्ने थाहा पाउन मात्र चाहेको उनले बताए।

अहिले छुट्याएको बजेटले पुगेको खण्डमा पोखराका चारवटा व्यस्त ठाउँमा यी उपकरण राख्न सकिने आचार्यले बताए। ‘पोखराको बढी प्रदूषण हुने चोकमा यो उपकरण राख्न सकिन्छ,’ उनले भने, ‘आगामी वर्ष विस्तारै अन्यत्र पनि यसलाई विस्तार गर्न सकिन्छ।’ सौर्य ऊर्जाबाट चल्ने उपकरण खरिद गरेर प्रदूषणको २४ घण्टे मापन इन्टरनेटमार्फत हेर्न सकिने गरी विस्तार गर्ने योजना रहेको उनले सुनाए।

मन्त्रालयका सहायक वन अधिकृत शिव परियारले यो उपकरणले पोखराको वायुमण्डलमा रहेको धुलोका कण, कार्बन–डाइअक्साइडको तह, कणको खदिलोपन, तापक्रम, सापेक्षिक आद्रता, हावाको गतिलगायतका जानकारी दिनेछ। ‘पोखरा स्वच्छ छ भनेर सबैतिर भनिन्छ, तर वायुको वास्तविक अवस्था के हो भन्ने अझै यकिन भएको छैन,’ उनले भने, ‘पछिल्लो समय वायुमण्डलमा निकै नै प्रदूषण बढेको अनुमान गरिएको छ, मापन भएको छैन।’

जडान गरिने उपकरणबाट कार्बन–डाइअक्साइडको पनि मापन हुने भएकाले पोखराको वायुबारे स्पष्ट थाहा हुने उनले बताए। पोखरामा मापनयन्त्र राखेपछि मानव र सवारीको भीड बढेको प्रदेशका अन्य जिल्लाका सहरमा पनि यस्ता उपकरण राख्न सकिने परियारले बताए।

पोखरामा हाल हावापानी कार्यालयमार्फत यहाँको तापक्रम र वर्षाको मापन नियमित रुपमा भइरहेको छ। एक वर्षअघि वातावरण विभागले जडान गरेको उपकरणमार्फत वायु प्रदूषणको सामान्य मापन पनि हुने गरेको छ। हावापानी कार्यालयका प्रमुख राजाराम ढकालका अनुसार वातावरण विभागले एक वर्षअघि पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुल, लेखनाथस्थित पोखरा विश्वविद्यालय परिसर र हावापानी कार्यालय भित्र मौसम जानकारी दिने उपकरण जडान गरेको छ।

तीन ठाउँमा राखेको यो उपकरणको सबै व्यवस्थापन विभागले नै लिने गरेको छ। अहिले जडित उपकरणले पोखराको वायुको सामान्य अवस्था मापन गरे पनि सबै पक्ष नदेखाउने ढकालले बताए।

‘उपकरणले १५ मिनेटको अन्तरमा तापक्रम देखाउँछ। सापेक्षिक आद्रता, हावाको गति, हावाको दिशा पनि यसले देखाउँछ,’ ढकालले भने, ‘प्रदूषणको तह कुन स्तरमा छ भन्ने पनि यसले सामान्य जानकारी दिन्छ, तर अक्सिजन, कार्बन–डाइअक्साइड बारेको विस्तृत विवरण भने अहिले मापन भएको छैन।’

मन्त्रालयका पदाधिकारी पनि अक्सिजन र कार्बन–डाइअक्साइडको मापन विभागले राखेको उपकरणबाट हुन नसकेको बताउँछन्। ‘पर्यटकीय सहर भएकाले धेरैले पोखरालाई मन पराउँछन्, तर यहाँको वायुको प्रदूषण बढिरहेको छ,’ ढकालले भने, ‘अब पोखराले पनि प्रदूषणको अवस्था कुन तहसम्म छ भन्ने थाहा पाउनुपर्छ।’

प्रकाशित: १ जेष्ठ २०७६ ०६:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App