७ वैशाख २०८१ शुक्रबार
समाज

धर्म परिवर्तन गराउनु गलत: उपराष्ट्रपति

फाइल तस्बिर/नागरिक

सर्लाही - उपराष्ट्रपति नन्दबहादुर पुनले धर्म परिवर्तन गराउने कार्य गलत भएको बताएका छन्। हरिपुर नगरपालिका–४, हरैयामा मंगलबार अयोजित कृष्ण मन्दिर शिलान्यास समारोहमा उपराष्ट्रपति पुनले उक्त कुरा बताएका हुन्। उनले अरुको धर्मलाई होच्याउने कार्यसमेत गैरकानुनी भएको बताए।

‘नेपाली नागरिकलाई जुनसुकै धर्म मान्न पाउने स्वतन्त्रता छ’, उपराष्ट्रपतिले पुनले भने, ‘तर स्वतन्त्रताका नाममा धर्म परिवर्तन गराउने र अले मान्ने धर्मलाई होच्याउने कार्य गर्नु गलत हो।’ नेपाल बहुधार्मिक, बहुभाषिक र बहुसंस्कृतिले सम्पन्न मुलुक भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले धर्मका आधारमा कसैलाई पनि भेदभाव गर्न नहुनेतर्फ सबै सजग हुनुपर्ने औंल्याए। ‘प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुकमा विभिन्न जातजाति, धर्म र समुदाय मिलेर बसेका छन्’, उनले भने, ‘त्यसैले कसैमाथि पनि कुनै किसिमको विभेद हुनुहुँदैन।’

देशभित्र शक्तिपिठसहित पर्याप्त धार्मिक स्थल रहेकाले मुलुकको समृद्धिका लागि धार्मिक पर्यटनमा जोड दिनुपर्ने उनले बताए। ‘हाम्रो देशमा संसारकै प्रसिद्ध जानकी, पशुपतिनाथ, मुक्तिनाथ, गौतम बुद्ध जन्मस्थल लुम्बिनीसहित अनगिन्ती धार्मिक स्थल छन्’, उनले भने,

‘अब यस्ता धार्मिक स्थलमा पर्यटक आकर्षित गर्न पूर्वाधार तयार पानुपर्छ। यसैबाट समृद्ध मुलुकको आधार तयार हुन्छ।’ बाह्य पर्यटक नेपालको प्राकृतिक सुन्दरता, कला, संस्कृति र धार्मिक गन्तव्यमा रमाउन चाहने उल्लेख गर्दै उपराष्ट्रपति पुनले पर्यटनमैत्री पूर्वाधार निर्माण गर्दै धार्मिक पर्यटनमा जोड दिए ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियानमा ठूलो टेवा पुग्ने बताए।

कृष्ण मन्दिर निर्माणका लागि जुटेको यदुवंशी उत्थान समाज नेपालले उपराष्ट्रपति पुनलाई कदरपत्रसहित नागरिक अभिनन्दन गरेको छ। आयोजक पक्षले सयपत्री फूलको माला पहि¥याएर उपराष्ट्रपति पुनलाई सम्मान ग¥यो। पुनले उपराष्ट्रपति भएपछि आफूलाई २ नं. प्रदेशमा पहिलोपटक आउने अवसर दिएकोमा समाजप्रति आभार प्रकट गरे। ‘यदुवंशी उत्थान समाजको निमन्त्रणाकै कारण आज पहिलोपटक २ नं. प्रदेशमा उपराष्ट्रपतिको हैसियतमा पाइला टेक्ने अवसर प्राप्त गरेको छु’, उनले भने, ‘त्यसैले आयोजकप्रति आभारी छु।’

कार्यक्रममा २ नं. प्रदेशका प्रमुख रत्नेश्वरलाल कायस्थ, पूर्वमन्त्री एवं संघीय सांसद् प्रभु साहलगायतले शुभाकामना मन्तव्य राखेका थिए। मन्दिर निर्माणका लागि स्थानीय ठाकुर राय, विष्णुदेव राय र रामपुकार रायले १८ कट्ठा जग्गा निःशुल्क प्रदान गरेका छन्।

प्रकाशित: १ जेष्ठ २०७६ ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App