१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आगलागीमा परेर तीन जनाको मृत्यु, १३ घर जलेर नष्ट

जंगलमा फैलिएको आगोले स्थानीयको घर जल्दै । तस्बिर : लोकेन्द्र/नागरिक

रुकुम– गत बिहीबारदेखि सल्यानका विभिन्न ठाउँमा भइरहेको आगलागीमा परेर अहिलेसम्म तीन जनाको मृत्यु भएको छ। आगलागीका कारण १३ घर पूर्णरुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ रामकाडाबाट सुरु भएको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ। अहिले पनि जिल्लाका विभिन्न ठाउँमा सुरक्षाकर्मीहरु आगो नियन्त्रणका लागि खटिएको सल्यानका प्रहरी प्रमुख डिएसपी बीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार आगलागीमा परेर अहिलेसम्म जिल्लाको छत्रेश्वरी गाउँपालिकामा दुई जना र शारदा नगरपालिकामा एक जनाको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका ६ का ५५ वर्षिया प्यान्टी बोहरा र सोही ठाउँका ४७ वर्षीय खगेन्द्र बोहरा तथा शारदा नगरपालिका ९ दुवेरीका ६३ वर्षीय गोवर्धन पुनको मृत्यु भएको डिएसपी शाहीले बताए। खगेन्द्रको उपचारको क्रममा काठमाडौंमा मंगलबार बिहान मृत्यु भएको बताइएको छ। मंगलबार साँझसम्म पनि यहाँका विभिन्न सामुदायिक वनमा आगलागी भइरहेको प्रहरीले जनाएको छ। जंगलमा भइरहेको आगो नियन्त्रण गर्न सक्ने अवस्थामा नरहेको बताइएको छ। 

‘गत २६ गते दिउँसोबाट यहाँ आगो लाग्न सुरु भएको हो, अहिले पनि यहाँका विभिन्न जंगलमा आगो लागिरहेको छ’, डिएसपी शाहीले भने, ‘हामीहरुले नियन्त्रण गर्न सक्ने अवस्था छैन्, तर मानव वस्तीमा आउन नदिनेको लागि ठाउँ ठाउँमा खटिएका छौं।’ १३ घर जलेर नस्ट भएपछि ति घरका मान्छेलाई आफन्तको घरमा राखिएको छ। आगलागिका कारण जिल्लामा अहिलेसम्म करिब ६५ लाखभन्दा बढीको धनमाल क्षति भएको प्रहरीको अनुमान छ। प्रत्येक दिन क्षतिको विवरण थपिने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

गाउँवस्ती र मानवीय क्षति हुन नदिनको लागि सल्यानमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी आगो नियन्त्रणमा खटिएका छन्। आगो नियन्त्रणको लागि सुरक्षाकर्मीका साथै स्थानीयहरु पनि लागि परेका छन्। अहिले यहाँका सामुदायिक वनमा भिषण आगलागी भइरहेको स्थानीयले जानकारी दिएका छन्। आगो नियन्त्रणका लागि आवश्यक उपकरण नहुँदा समेत थप समस्या भएको बताइएको छ। 

‘भिरालो जमिनमा आगो लागिरहेको छ’, डिएसपी शाहीले भने, ‘आगो नियन्त्रणमा लिनको लागि कुनै उपकरणहरु छैनन्, स्थानीय स्तरमा पाइने रुख, विरुवाका सोत्तर बनाएर निभाउने काम भइरहेको छ।’ स्थानीयहरु आफैले जंगलमा आगो लगाउन गर्दा थप समस्या भइरहेको प्रहरीले बताएको छ। ‘नयाँ घाँस तथा दाउरा उम्रिन्छ भन्ने सोचका साथ स्थानीवासी आफैले जंगलमा आगो लगाएको पनि पाइयो,’ डिएसपी शाहीले भने।

प्रकाशित: ३१ वैशाख २०७६ १२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App