coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

होमस्टे नचल्दै विवाद

जुम्ला - जिल्लाको हिमा गाउँपालिका बड्कीका स्थानीयले होमस्टेका बारेमा आफुहरुलाई जानकारी नै नदिई एकलौटी गरेको भन्दै भु तथा जलाधार व्यवस्थापन कार्यालयमा उजुरी दिएका छन्। बैशाख २५ गते सो वडाका झण्डै ६० जनाले सामूहिक दस्तखत गरेर निर्णय प्रक्रिया र सबैलाई समावेश नगर्दा सम्म होमस्टेको प्रक्रिया अघि नबढाउन आग्रह गरेका हुन्।

चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले होमस्टे सञ्चालनका लागि बजेट बिनियोजन गरेको कुनै जानकारी नदिई निश्चित ब्यक्तिले आफू अनुकुलको समिति दर्ता गराएर प्रस्तावना पेस गरेको भन्दै आक्रोश पोखे। अहिले सम्म होमस्टे सञ्चालनका लागि अघि बढेको प्रक्रिया रोक्का गर्न माग गरे। स्थानीयको एउटै आवाज थियो,‘ गाउँमा आउने हरेक विकास गाउँ भेलामार्फत प्रक्रिया अगाडि बढाइनु पर्छ। पहिले जस्तो गाउँमा नपुग्दै बिचौलियाले आफ्नो अनुकुलतामा ढाल्ने परम्पराको अन्त्य हुनुपर्छ। होमस्टे सामान्य किसानको हातमा पर्नुपर्छ। गाउँमा आउने विकास बारे सबैलाई जानकारी दिनुपर्छ।

जुम्ला तातोपानी गाउँपालिकामा दुई वटा होमस्टेको लागि प्रदेश सरकारले बजेट ब्यवस्था गरेको छ। दुबै होमस्टे पहुँचवालाको पोल्टामा पार्न कसरत भइरहेको स्थानीय आरोप लगाउँछन्। अहिले होमस्टे सञ्चालनमा स्थानीय बीच चर्को विवाद छ। तातोपानी २ का गोबिन्द दमाई जलाधार व्यवस्थापन कार्यालयले प्रस्तावना आह्वान गरेपछि मात्रै थाहा भएको बताउँछन्।

उनले भने, ‘होमस्टे सञ्चालन बारे न स्थानीय सरकारले जानकारी दियो। नत स्थानीय अगुवाले नै। बरु स्थानीय अगुवा नेता भनाउँदाले आफ्नो अनुकुलको समिति बनाएर अघि बढ्दै गरेको भेटायौँ। यो भन्दा दुर्भाग्य के हुन सक्छ, सर्वसाधारण नागरिकका लागि। ’तातापानीमा सञ्चालन हुन लागेको होमस्टेमा तातोपानी पर्यटन विकास केन्द्रका अध्यक्ष नबराज बुढा अध्यक्ष छन्।

उनले आफ्नो नजिकका ब्यक्तिलाई समेटेर लगेको आरोप स्थानीयको छ। तातोपानी गाउँपालिकाको ५ मा बन्न लागेको होमस्टेमा फरक वडाका पहुँचवाला ब्यक्तिले हस्तक्षेप गरेर अघि बढ्न थालेको स्थानीय बताउँदै आएका छन्। अहिले वडा नम्बर ५ र ६  ऐरेनीमा होमस्टे सञ्चालनका लागि दुबै वडाको सिफारिस आवश्यक हुन्छ।  होमस्टे सञ्चालनका लागि गाउँ स्तरमा छलफल गरेर अघि बढ्नु पर्नेमा जनप्रतिनिधिका पति र पूर्व राज्यमन्त्री नै समितिमा रहेर काम अघि बढाउदा गाउँले चिढिएका छन्।

एक स्थानीयले भने, ‘कर्णाली प्रदेश सरकारले आफ्नो पहलमा कार्यक्रम ल्याएकोले आफूहरूले पाउनु पर्ने दाबी यहाँका अगुवा नेताले भन्दै आएका छन्। स्थानीय सरकार सबैको भएकोले सबै विकास योजनामा समान सहभागिताको आवाज उठाईरहेका छन्।’ जिल्लाको कनकासुन्दरी गाउँपालिकाको बोतामालिका,हिमा गाउँपालिकाको बड्की र तातोपानी गाउँपालिकाको ऐरेनी र तातोपानीमा होमस्टे सञ्चालनका लागि बजेट ब्यवस्था गरेको छ। जसमध्ये गाउँलेले आफैले जिम्मेवारी सुम्पेर कनकासुन्दरी गाउँपालिकाको बोतामा होमस्टे सञ्चालन हुन लागेको छ। यो नै विवादरहित होमस्टे बन्ने निश्चित छ। कनकासुन्दरी गाउँपालिकाको बोता बाहेक तीन वटै स्थानमा होमस्टे सञ्चालनका लागि पहुँचवालाकै हालीमुहाली रहेको जनगुनासो छ। 

जनप्रतिनिधिका पति र पूर्व राज्यमन्त्रीले नै आफू अनुकुलको समिति बनाएर कसैलाई जानकारी नदिएर प्रस्तावना पेस गरेपछि स्थानीय आक्रोशित छन्। गाउँमा सिंहदरवार पुगेको भनिदै आएको छ। तर गाउँमा कसैलाई जानकारी नदिएर बिचौलियाले बीचर्मै आफू अनुकुलको निर्णय गरेर कार्यक्रम सञ्चालन गर्छन्, तातोपानी गाउँपालिका हरिकेश दमाईले भने,‘कसरी सर्वसाधारण नागरिकको दैनिकि बदलिन्छ। समाजको नेतृत्वकर्ताले नै आफ्नो अनुकुलमा काम गर्न थालेपछि सरकारले भने जस्तो सुखी नेपाली समृद्ध नेपालको नारा कसरी साकार हुन्छ ? ’

सम्वन्धीत स्थानीय तहमा दर्ता भएको होमस्टेले मात्रै प्रस्तावना दिन पाउने ब्यवस्था छ। उनले भने,‘होमस्टेका बारेमा कसैलाई जानकारी नदिईकन नेतृत्वकर्ताले नै जनविरोधी कार्य गर्न थालेको प्रति दुखि छौँ। ’तातोपानीमा सञ्चालन हुने होमस्टेका अध्यक्ष तातोपानी पर्यटन विकास केन्द्रका अध्यक्ष नबराज बुढा छन्। उनले पनि आफ्नो अनुकुलको समिति निर्माण गरेर प्रस्तावना दिएका छन्। एक स्थानीय भन्छन्,‘गाउँमा सबै अधिकार आयो भन्छन्, तर अधिकार बीचैमा खोसिएको कैसलै सुन्दैनन्। बास्तविक जनमैत्री कार्यलाई प्रवद्र्धन गर्नेको अभाव छ।

पहुँचका आधारमा एकलौटी रुपमा आफ्नो परिवारलाई मात्रै केन्द्रित गरेर सरकारी रकमको दुरुपयोग गरेको आरोप स्थानीयको छ।   आफू अनुकुलको मन्त्री भएकोले बिकास पनि आफ्नो पहलमा आएको भन्दै एकलौटी निर्णय गरेर कार्यक्रम सञ्चालन गर्न खोज्छन्, एक स्थानीयले भने,‘यो राजनैतिक दलका नेता कार्यकर्ताबाटै बिग्रेको संस्कार हो।  ’ बरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शेरबहादुर श्रेष्ठ जुम्लामा सञ्चालन गर्न लागिएको चार वटा होमस्टेमा तीन वटामा निकै चर्को बिवाद आईरहेको बताउँछन्।

उनले भने,‘ होमस्टे सञ्चालन गर्न सम्वन्धीत स्थानीय तहमा दर्ता हुनुपर्छ,दर्ता भएपछि मात्रै योग्य ठहरिन्छ। प्रत्येक स्थानीय तहमा प्रस्तावना पेस गर्ने बारे सुचना टाँस गरेका छौँ। पहुँचवालाले पेस गरे वा सामान्य किसानले गरेको बिषयमा छलफल भइरहेको छैन्। पछिल्लो समयमा भईरहेका विवादले होमस्टेलाई सामान्य किसानमैत्री बनाउन प्रेरणा दिन थालेको छ। तातोपानी ऐरेनीको हकमा वडा नम्बर ५ र ६ दुबै वडाको सिफारिस आवश्यक हुन्छ। तर पाँच वडाले अहिले सम्म सिफारिस दिन मानेको छैन्। एक आपसमा विवाद भएकोले समस्या छ। पाँच नम्वर वडाको सिफारिस बिनै अघि बढ्न नसक्ने अवस्था छ।

जलाधार व्यवस्थापन अधिकृत श्रेष्ठले भने,‘पर्यटनको सेवा सुविधा ठुलो होटलले मात्रै नभई सामान्य किसानले पनि लाभ लिउन भन्नका लागि होमस्टेको अवधारणा अघि सारिएको हो।यो प्रकृतिको होमस्टेमा बाहिरको कुरा किन्नु पर्दैन्,घरमा फलेको, समुदायमा रहने,आफैले उत्पादन गरेको बस्तुको प्रयोग हुन्छ। यो सामाजिक आर्थिक पहिचान गर्ने राम्रो माध्यम हो। यसमा सामान्य किसान नै लाभान्वित हुनु पर्छ भन्ने मान्यता हो। तर गाउँमा कसरी दर्ता भईरहेका छन्। भन्ने बिषयमा खासै चासो गएको पाईदैन्। ’

तातोपानीमा होमस्टेमा बसेको ब्यक्ति ४ नम्वर वडाको र तोकिएको स्थान वडा नम्वर ५ र ६ को भएकोले समस्या आएको हो। स्थानीयले गाउँमा आउने विकास बजेटको हर हिसाव किताव माग्नु पर्ने बेला आएको बताउँछन्। बड्की र बोताको लागि २५÷२५ लाख रुपैया आएकोमा तातोपानी र ऐरेनीका लागि गरेर ५० लाख रुपैया आएको हो। पहिलो चरणमा कार्ययोजना हेरेर कासेली घर,पाहुना घर र सुचना केन्द्र जस्तो बनाउने देखिएको छ।

प्रकाशित: ३१ वैशाख २०७६ ०६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App