७ वैशाख २०८१ शुक्रबार
समाज

सडकले व्यावसायिक बन्दै किसान

सिन्धुली–सिन्धुलीमा पछिल्लो समयमा धमाधम निर्माण भइरहेको ग्रामीण सडकले कृषि क्षेत्रलाई टेवा पु-याएको छ। ग्रामीण सडकको पहुँचसँगै किसानहरू व्यावसायीक खेतीमा जुट्न थालेका छन्।

साविक तीनकन्या गाविसका मोहनबहादुर पूर्वछाने विगत पाँच वर्षअगाडिसम्म जुनारलाई व्यावसायिक खेतीका रुपमा लिँदैनथे। त्यसको कारण गाउँमा सडक नै नपुग्दा मूल्य पनि राम्रो आउँदैनथ्यो। जब ग्रामीण सडक तीनकन्या पुग्यो जुनारको भाउ पनि एक्कासि आकासियो। अनि पूर्वछानेले जुनारलाई मुख्य व्यावसायिक खेतीका रुपमा लिएर मिहिनेत गर्न थाले। मिहिनेत अनुसारको अहिले आम्दानी पनि राम्रै दिन्छ। ‘ग्रामीण सडकले मलाई मात्रै नभएर अन्य किसानलाई समेत सहज भएको छ, उनले भने, ‘सडक सञ्जाल जोडिएसँगै यहाँको उत्पादनले राम्रो मूल्य पाउन थालेको छ।’

पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रका किसान व्यावसायिक बन्दै गएका छन्। जिल्लाको महाभारत क्षेत्रसहित ग्रामीण क्षेत्रमा सडक सञ्जालको पहुँचबढेसँगै यहाँका किसानहरू व्यावसायिक खेतीमा लागेका हुन्। ग्रामीण सडक कृषि सडक जस्ता सडक सञ्जाल थपिएपछि यहाँको महाभारत क्षेत्रका किसान व्यावसायिक तरकारी खेती तथा पशुपालनमा लागेका छन्। सदरमुकाम सिन्धुलीमाढीसहित देशका विभिन्न ठूला तथा साना सहरमा कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुहरू निर्यात गर्नका लागि सहज भएपछि व्यावसायिक रुपमा कृषिमा लागी राम्रो आम्दानी गर्न थालेको स्थानीयको भनाइ छ।

कृषि सडक पुगेर दैनिक बस सञ्चालन हुन थालेपछि सिन्धुली मझुवा गाविसका पूर्णबहादुर तामाङको दैनिकी नै तरकारीमा चल्न थालेको छ। उनको दैनिकी माटोमा खेल्नु र तरकारी बजारसम्म पु¥याउनुमै बितेको छ। उनी आफूले लगाएको तरकारीसहित छिमेकीको तरकारीसमेत दैनिक सदरमुकामस्थित कृषि उपज बजारमा ल्याएर बेच्न थालेपछि त्यहाँका बासिन्दा व्यावसायिक तरकारीखेतीमा हौसिएका छन्।
‘म दैनिक आफ्नो र गाउँको गरी दश हजार बराबरको तरकारी बजारमा लगेर बेच्ने गर्छु’, उनले भने, ‘गाउँमै नमुना तरकारी व्यवसाय सञ्चालन गर्न कृषकलाई सघाउ पुग्ने मेरो विश्वास छ।’ हाल कृषकले परम्परागत रुपमा गर्दै आएको खेतीलाई छाडेर उन्नत जातका तरकारी तथा अन्य व्यवसाय गर्न थालेका छन्। विभिन्न गैरसरकारी संघ संस्थाहरूको सहयोगमा गाउँ–गाउँसम्म व्यवसायी खेती गर्न सिकाउनु र खेतीबाट उत्पादन भएका वस्तुलाई सहज रुपमा बजार लैजान कृषि सडकको पहुँचले सहजै बिक्री हुन थालेपछि व्यावसायिक रुपमा खेती हुन थालेको हो।

ग्रामीण सडक घरघरमा पुगेपछि हिउँदयाममा भने कृषकले उत्पादन गरेको कृषिजन्य वस्तु गाउँबाटै सजिलै बिक्री–वितरण हुन थालेको छ। पहिले कुहिएर जाने इस्कुस, फर्सीलगायतका तरकारीसमेत हाल राम्रो मूल्यमा गाउँमै व्यपारी गाडी लिएर पुग्ने गरेको कृषक बताउँछन्। सिन्धुलीको महाभारत क्षेत्रमा बाह्रै महिना चिसो हावापानी हुने भएकाले हरिया तरकारी जुनसुकै मौसममा पाइन्छ।

गाउँमा कुहिएर नै जाने अधिकांश फलफूल तथा तरकारीले बजार भाउ पाउँदा गाउँका स्थानीयको जीवनस्तर नै उक्सिएको देखिन्छ। सिन्धुली निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद गणेश पहाडी यस वर्षको पूर्वाधार विकास बजेट आफूले सडक र नदी नियन्त्रणमा बढी खर्च गर्ने योजना बनाई सोही अनुसार विनियोजन गरेको बताउँछन्। ‘ग्रामीण सडकले किसानलाई प्रत्यक्ष फाइदा पुगेको देखिन्छ’, उनले नागरिकसँग भने, ‘मेरो क्षेत्रको बजेट कृषकमा बढी केन्द्रित भएको छ।’

उनले नदी कटान नियन्त्रण गर्ने र कृषकको उत्पादनलाई देशका ठूला तथा साना सहरमा पु¥याउन ग्रामीण सडक दिगो बनाउने लक्ष्य राखिएको बताए। बिपी राजमार्ग, मध्यपहाडी राजमार्ग र निर्माणाधीन मदनभण्डारी राजमार्गसँग जोडिएर सिन्धुलीका अधिकांश विकट ग्रामीण क्षेत्रमा पछिल्लो समय सडक विस्तार भएका छन्। यिनै ग्रामीण सडकको फाइदा लिँदै कृषक व्यावसायिक भएका हुन्।

प्रकाशित: २९ वैशाख २०७६ ०५:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App