coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हत्यारा लुकाउन खाेजिएकाे भन्दै प्रहरी कार्यालय घेराउ

इलाका प्रहरी कार्यालय बुटवलमा नाराबाजीसहित धर्ना दिँदै महिला

रुपन्देही - हत्या आरोपीलाई प्रहरीले उम्काउन खोजेको भन्दै बुटवलमा स्थानीय महिलाले प्रहरी कार्यालय घेराउ गरेका छन्। गत २० गते बुटवल उपमहानगरपालिका १४ विनयपुरमा २५ वर्षीया लक्ष्मी खत्रीको रहस्मय रुपमा झुन्डिएको अवस्थामा लास भेटिएको थियो। मृतक खत्रीका माइती पक्ष र छिमेकीले उनकै सासू ४२ वर्षीया हरिमाया खत्रीले हत्या गरेको भन्दै प्रहरी कार्यालय नै घेराउ गर्न पुगेका हुन्।

मृतककी आमा चन्द्रकला खत्रीले कर्तव्य ज्यान उद्योगमा प्रहरीसमक्ष जाहेरी दिएकी छन्। सासू हरिमायाले पटक पटक दाइजो नल्याएको भन्दै बुहारी लक्ष्मीलाई यातना दिने गरेकी सृजना आमा समूहकी अध्यक्षसमेत रहेकी छिमेकी जमुना उपाध्यायले बताइन्।

‘महिलाको हत्या हुँदा पनि प्रशासनले दोषीलाई कारवाही गरेन’, उनले गुनासो गरिन्। मत्यु हुनभन्दा अघिल्लो रात सासूले लक्ष्मीलाई कुटेकी उनले बताइन्। सासूले यातना दिएपछि आमा समूहमा पटक पटक गुनासो आउने गरेको र आफूहरुले नै मिलाउने कामसमेत गर्दै आएको छिमेकीले बताएका छन्।

प्रहरीले सुरुमा जाहेरीसमेत लिन नमानेपछि स्थानीय महिलाहरु जुलुस नै लिएर प्रहरी कार्यालय आएका थिए। त्यसपछि सासूविरुद्ध जाहेरी दिए पनि घटनामा परिवारकै संलग्नता रहेको बताएका छन्। विदेश रहेका श्रीमान अमृत खत्रीले समेत घटना हुँदा पनि रमाइलो गर्दै हिँडेकाले घटना शंकास्पद रहेको महिलाहरुको दाबी छ। झुन्डिएको ठाउँ शंकास्पद रहेको र पासोसमेत घाँटीमा नभएकाले हत्या नै भएको आमा चन्द्रकला खत्री बताउँछिन्।

अर्घाखाँची मालारानी गाउँपालिका वडा नम्बर ९ की लक्ष्मीको ७ वर्षअघि बुटवल १४ विनयपुरका अमृतसँग मागी विवाह भएको थियो। इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि डिलबहादुर मल्लले ज्यान मुद्दा उद्योगमा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको बताए। उनले हत्या हो कि होइन भनेर अहिले नै भन्न नसकिने बताउँदै सासूलाई नियन्त्रणमा राखेर अनुन्धान भएको बताए।  उनले झुन्डिएको अवस्थामा शव भेटिएकाले घटना कर्तव्य ज्यानबाट भयो भनेर भन्न नसकिने बताए।

घरेलु हिंसा भएको बेलामा महिलाहरुले आवाज उठाउनुपर्नेमा अहिले झुन्डिएको अवस्थामा शव भेटिएपछि पहिलाको घटना जोडिन नसक्ने उनको तर्क छ। लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको पोष्टमार्टम रिर्पोटले भने हत्या नेदखाएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २६ वैशाख २०७६ १३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App