१६ चैत्र २०८० शुक्रबार
समाज

क्रिकेट मैदान संरक्षण र पूर्वाधारमा ९५ लाख प्रस्ताव

पोखरा रंगशालाभित्रको क्रिकेट मैदान। तस्बिरः धन/नागरिक

पोखरा– क्रिकेटमा नेपालले धेरै फड्को मारिसकेको छ। जिल्ला तहमा क्रिकेटको क्रेज बढ्दै गएको छ। त्यसको पछिल्लो उदाहरण नै क्रिकेट मैदानको धमाधम निर्माण हो। भएका मैदानहरूको स्तरोन्नति गरिएको छ। क्रिकेट मैदान निर्माणले लिएको गतिसँगै क्रिकेट खेलको विकास र विस्तार फराकिलो बन्दै गएको छ।

पोखरा क्रिकेट मैदान एक दशकअघि निर्माण सुरु गरिएको हो। २०६४ सालमा निर्माण सुरु गरिएको मैदानले अन्तर्राष्ट्रियस्तरको आकार लिएको छ। २०६८ सालमा निर्माणकै क्रममा राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलाइएको थियो । त्यसपछि निरन्तर विभिन्न शीर्षकमा आउने बजेटले क्रिकेट मैदानको रूप फेरिँदै गयो। २०७० सालमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन जाने राष्ट्रिय क्रिकेट टोलीको क्लोज क्याम्प पोखरामै सुरु गरिएको थियो।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष डा. वीरेन्द्रसिंह गुरुङको अगुवाइमा पोखरा क्रिकेट मैदान निर्माण समिति गठन गर्दै काम अघि बढाइएको थियो। समितिका अध्यक्षसमेत रहेका उनकै सक्रियता र नेतृत्वले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानले मुहार फेरेको क्रिकेटप्रेमी सुनाउँछन्। अग्रजहरूको सक्रियतामा क्रिकेट मैदान निर्माण गरिएको थियो। निर्माणको क्रम भने अझै जारी छ।

मैदान बनाउनकै लागि राष्ट्रिय खेलकुद परिषद्सँग पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले ९५ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ। प्रस्ताव गरिएको बजेटले अर्को वर्षको फागुनमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रिकेट प्रतियोगिताका लागि तयारी गरिने समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए। ‘९५ लाख रुपैयाँको बजेट प्रस्ताव गरेका छौं। मैदानसँगै अन्य आवश्यक भौतिक पूर्वाधार निर्माणमा खर्च गर्ने छौं,’ उनको भनाइ थियो।

‘पिचभन्दा तलपट्टिको भागमा माटो भर्न जरुरी छ। केही भागमा अझै पनि पानी जम्छ,’ इन्जिनियर ताम्राकारले भने, ‘माटो भरेर लेभलिङ गरेपछि पानीको निकासका लागि नाली खन्नुपर्छ।’

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारका अनुसार प्रस्ताव गरिएको बजेटबाट मैदानको बाउन्ड्री यकिन गरी वरिपरि तारजाली लगाई संरक्षण गरिनेछ। ‘मैदान संरक्षण र वरिपरि पानीको निकासका लागि ड्रेनेज बनाइने छ,’ उनले भने, ‘त्यसपछि मात्र अन्य पूर्वाधारमा खर्च गरिनेछ।’ उनका अनुसार तारजाली र नालीपछि दक्षिणतर्फ चेन्जिङ रुम, शौचालय निर्माण गर्ने योजना छ। प्यारापिटसमेत निर्माण गर्नुपर्ने खाँचो छ।

समितिले मैदानको लेभलिङ अझै उत्कृष्ट नभएको जनाएको छ । पिचभन्दा दक्षिणतर्फ माटो फिलिङ गर्नुपर्ने खाँचो छ। ‘पिचभन्दा तलपट्टिको भागमा माटो भर्न जरुरी छ। केही भागमा अझै पनि पानी जम्छ,’ इन्जिनियर ताम्राकारले भने, ‘माटो भरेर लेभलिङ गरेपछि पानीको निकासका लागि नाली खन्नुपर्छ।’ उनका अनुसार अहिले दक्षिण, उत्तर र पश्चिमतर्फ माटो भर्ने काम गरिए पनि पानीको निकास नहुँदा समस्या हुने भन्दै नाली निर्माण तत्कालै सुरु गर्नुपर्नेमा जोड दिए। ‘पानी पर्दा मैदानको बाउन्ड्री लाइनमै जम्छ, हिलाम्य हुन्छ,’ उनको भनाइ थियो, ‘त्यसैले पानीको निकास पहिलो प्राथमिकता हो।’

मैदान फराकिलो बनाउन उत्तर पश्चिमको तल्लो भेगमा माटो फिलिङ गरिएको छ। पोखरा रंगशाला फुटबल मैदान निर्माणको काम पनि अगाडि बढिरहेको छ। त्यहीँबाट निस्किएको ढुंगेमाटोलाई क्रिकेट मैदानको तल्लो क्षेत्रमा पुरिएको हो। माटोले भरिएको ठाँउलाई सम्याउने क्रममै झण्डै दस लाख रुपैयाँ खर्च भएको छ। दस लाख रुपैयाँ भने केही महिनाअघि मात्र परिषद्ले खेलकुद विकास समितिमार्फत खर्च गर्न कास्की जिल्ला क्रिकेट संघलाई निर्देशन दिएको थियो।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रस्ताव गरिएको बजेटले संघलाई काम गर्ने जिम्मेवारी दिए क्रिकेट मैदानको स्वरूप नै बदल्ने गरी काम गरिने दाबी गरे। ‘राष्ट्रिय खेलकुद प्रतियोगिता आउन लगभग दुई वर्षको समय छ। प्रस्ताव गरिएको बजेटले मैदानसँगै पेभेलियन बनाउने योजना बनाउनुपर्छ,’ उनले भने, ‘काम गर्दै जाने हो। केही आर्थिक सहयोग स्थानीयस्तरमै जुटाउनुपर्छ। केन्द्रसँग पनि माग्नुपर्छ।’

नेपाल क्रिकेट संघ (क्यान), स्थानीय व्यक्तिविशेष तथा संघसंस्था एवं राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमै पोखरा रंगशाला क्रिकेट मैदान यो अवस्थासम्म आइपुगेको उनको भनाइ थियो। क्यानकै आर्थिक सहयोगमा मैदान (जग्गा) संरक्षणका लागि तारजाली लगाइएको थियो। परिषद्ले मैदानका लागि छ वर्षअघि १३ लाख उपलब्ध गराएको थियो । त्यसपछि अहिले छुट्ट्याइएको १० लाख रुपैयाँ मात्र हो। त्यसभन्दा अघिका कामहरू भने क्यान र स्थानीयस्तरमै जुटाइएको सहयोगबाट निर्माण गरिएको थियो।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताभन्दा अघि नै पोखरामा क्रिकेटको फ्रेन्चाइज पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताका दुईवटा संस्करण सम्पन्न हुनेछन्। पहिलो संस्करणको फ्रेन्चाइज २०७५ साल कात्तिक ९ देखि २० गतेसम्म आयोजना गरिएको थियो।

क्रिकेट लिग गर्ने समयमै आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले मैदान बनाउन खर्च गरेको थियो। प्रिमियर लिगले पोखरा क्रिकेट मैदानको अन्तर्राष्ट्रिय बजारीकरण गर्न टेवा दिएको थियो। त्यसभन्दा अघि नै पोखराको क्रिकेट मैदान अन्तर्राष्ट्रिय क्षेत्रमा पुगिसकेको थियो। पत्रकार सुदर्शन रञ्जितले ढुंगेमैदानमा खिचेको फोटोले एसियन क्षेत्रमा उत्कृष्ट पुरस्कार प्राप्त गरेको थियो।

प्रकाशित: २६ वैशाख २०७६ ०७:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App