८ वैशाख २०८१ शनिबार
समाज

परिवारसँगको रिसइबी साध्न आर्यनको हत्या भएको आशंका

सुरेश यादव/कमलेश ठाकुर

ढल्केवर (धनुषा) - धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरमा अढाई वर्षीय बालकको घाँटी रेटी हत्या गरिएको छ। शम्भु साहका छोरा आर्यन मंगलबार बिहान गर्धन रेटिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। उनी सोमबार साँझपख घरबाट हराएका थिए।

साँझपख घरमै खेलिरहेका छोरालाई छोडेर आमा रेणु नजिकैको धारामा पानी लिन गएकी थिइन्। रेणुका अनुसार एकैछिनमा पानी लिएर फर्कंदा छोरा घरमा थिएनन्। भर्खर हिँड्न सिकेको दूधे बालकलाई घरमा नदेखेपछि स्याल, कुकुरले घिसारेर लग्यो कि भन्ने सोचेर उनले नजिकका बाँसघारी र खेतबारी सबैतिर खोजिन्। खोजीमा आफन्त र छिमेकी पनि दौडादौड गर्न थाले। घरमा र छिमेकमा जताततै खोज्दा पनि छोरा फेला नपरेपछि इलाका प्रहरी कार्यालय ढल्केवरलाई खबर गरियो।

छिमेकी त रातिको खाना खाएर सुते तर रेणु भने छोराको चिन्ताले रातभर सुतिनन्। रेणु, उनका दुई छोरी र आफन्तले रातभर खोज्दा पनि भेटिएनन् आर्यन। प्रहरीले पनि आफ्नै तरिकाले खोजीमा लागेको थियो। रातभर खोज्दा नभेटिएका आर्यन मंगलबार बिहान घरनजिकै मृत अवस्थामा फेला परे। घरदेखि करिब ७५ मिटर दूरीमा उनको शव थियो। गर्धन रेटिएको थियो। हराएदेखि खोजीका क्रममा दर्जनौंपटक परिवारका सदस्य, आफन्त र छिमेकी ओहोरदोहोर गरेको ठाउँमा शव थियो। सुरुमा हजुरआमा लालमुनिदेवीले आर्यनलाई मृत अवस्थामा देखेकी थिइन्। उनले प्रहरी पुग्नुआगावै आर्यनको शव घरमा लगिसकेकी थिइन्।

घटना प्रकृति हेर्दा आर्यनलाई अन्यत्रै लगेर हत्या गरी त्यहाँ ल्याएर फालिएको अनुमान प्रहरीको छ। ‘अमानवीय घटना भयो’, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रामेश्वर कार्कीले नागरिकसँग भने, ‘अढाई वर्षे दूधे बालकले कसको के बिगारेको थियो र ? परिवारसँगको रिसइबीका कारण आर्यनको हत्या भएको हुन सक्ने अनुमान गर्न सकिन्छ।’ घटनाको मिहिन तरिकाले अनुसन्धान भइरहेको जानकारी दिँदै कार्कीले चाँडै अपराधीलाई पक्राउ गरिने बताए।

जिल्ला प्रहरी प्रमुख एसपी शेखर खनाल, डिएसपी कार्की, इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर सरोज राई, प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै कोणबाट घटनाको अनुसन्धान थालेका छन्। तत्काल घटनाको तथ्य बाहिर ल्याउन हेटौंडाबाट तालिमप्राप्त कुकुरसमेत ल्याएर परिचालन गरिएको एसपी खनालले बताए। ‘घटना अत्यन्तै गम्भीर प्रकृतिको छ। यो घटनामा संलग्न अपराधीको पहिचान गर्न विभिन्न कोणबाट अनुसन्धान प्रक्रिया अघि बढाएका छौं’, उनले भने।

छिमेकीमाथि शंका
आर्यनको परिवारले घटनामा छिमेकी संलग्न भएको आशंका गरेको छ। पारिवारिक स्रोतका अनुसार करिब दुई वर्षअघि १५ वर्षका एक छिमेकीले शम्भुकी कान्छी छोरीलाई बलात्कार प्रयास गरेका थिए। शम्भुकै जाहेरीका आधारमा ती छिमेकीलाई जबरजस्ती करणी उद्योग मुद्दा चलाइयो। ती छिमेकी अहिले बालसुधार गृहमा छन्। तत्कालीन समयमा १६ वर्ष उमेर नपुगेकालाई कारागारमा राख्न नमिल्ने भएकाले बालसुधार गृहमा राखिएको हो। उक्त घटनापछि दुई परिवारबीच रिसइबी सुरु भएको आर्यनका काका पिताम्बर साहले बताए।

पीडित परिवारको आशंकालाई अनुसन्धानको दायरामा राखेर प्रहरीले दिनेश महतो र उनका अन् दुई छोरालाई नियन्त्रणमा लिएको छ। अनुसन्धान क्रममा सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिइए पनि हत्या घटनामा उनीहरुको संलग्नताको पुष्टि भइनसकेको एसपी खनालले बताए। ‘पीडित परिवारको शंकाको आधारमा पनि अपराध अनुसन्धान प्रक्रिया अघि बढेको छ। अन्य विभिन्न कोणबाट पनि अनुसन्धान अघि बढेको छ’, उनले भने।
शोकमा डुब्यो बस्ती

दूधे बालक आर्यनको निर्मम हत्यापछि पूरै बस्ती शोकमा डुबेको छ। दुई छोरीपछि जन्मिएका छोराको निर्मम हत्याले आमा रेणु बेहोस् छिन्। उनलाई घरमै सलाइन पानी दिइएको छ। परिवारमा रुवाबासी चलिरहेको छ। टोल–छिमेकमा पनि सन्नाटा छाएको छ। बाबु शम्भु छोराछोरीको भविष्य बनाउन भन्दै डेढ वर्षदेखि मलेसियामा मजदुरी गरिरहेका छन्। घटनापछि स्थानीय आक्रोसित बनेका छन्। स्थानीयले अविलम्ब हत्यारा पहिचान गरी फाँसीको सजाय दिनुपर्ने माग प्रहरी र जनप्रतिनिधिसमक्ष राखेका छन्।

प्रकाशित: २५ वैशाख २०७६ ००:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App