१६ चैत्र २०८० शुक्रबार
समाज

बालगृहलाई स्कुल ब्याग सहयोग

दोलखा - गौरीशंकर बालगृहमा रहेका २९ जना असहाय बालबालिकालाई सदरमुकाम चरिकोटका व्यवसायी सनत थापाले सहयोग गरेका छन्। भीमेश्वर नगरपालिका–५ स्थित गौरीशंकर बालगृहका बालबालिकालाई थापाले शनिबार बिहान बालगृह पुगेर २५ हजार रुपैयाँ बराबरका स्कुल ब्याग, मिठाई र खानेकुरा बाँडेका हुन्।

थापाले बालगृहलाई वर्षेनी सहयोग गर्दै आएको सुनाए। उनले अघिल्लो वर्ष ओच्छ्याउने तन्नाका साथै दुई वर्षअघि स्टेसनरी सामग्री सहयोग गरेका थिए। बालगृहका प्रमुख सुरज विष्टका अनुसार व्यवसायी थापा वर्षको एक पटक सहयोग बोकेर बालगृहमा आउने गरेका छन्। ‘उहाँहरूको परिवारले वर्षको एकपटक यहाँ के आवश्यकता छ, त्यहीअनुसारको सामान बोकेर सहयोग गर्ने गर्नुभएको छ,’ विष्टले भने।

चरिकोटस्थित सातदोबाटो चोकका थापा हार्डवयर लगायत व्यवसायमा संलग्न छन्। विष्टका अनुसार बाल गृहमा अहिले २९ जना बालबालिका छन्। नेपाल बाल संगठनद्वारा सञ्चालित यो बालगृह संगठनकै बजेटबाट चल्ने गरेको छ। यस्तै बेलाबेलामा सहयोगी भावना भएका मनकारी मानिसले समेत ल्याउने सहयोगले बालगृह सञ्चालन गर्न थप सजिलो हुने गरेको विष्टले बताए।

प्रकाशित: २२ वैशाख २०७६ ०२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App