coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘मेरो सरकार’ मा राजतन्त्रकै झल्को

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिक हुन् राष्ट्रपति। राष्ट्रपतिका दिनचर्या, आनीबानीलगायत संस्कारलाई जनताले अहिलेको शासन व्यवस्थाको मानक बनाउने गरेका छन्। तर, पछिल्ला दिनमा राष्ट्रपति कार्यालय र राष्ट्रपति स्वयं पटकपटक विवादमा मुछिँदै आएकी छिन्। दसैंमा विभिन्न व्यक्तिलाई टीका लगाइदिँदाको आसनदेखि विलासीपूर्ण सवारीसाधन खरिदले राष्ट्रिपतिको गरिमा मात्र घटाएको छैन लोकतान्त्रिक गणतन्त्रप्रति नै जनतामा वितृष्णा जगाउने काम गरेको छ।

दुई सय ४० वर्षे राजतन्त्र अन्त्यका लागि सक्रिय दलका नेताहरुले मुलुकको उच्च ओहोदामा पुगे पनि पुरानै संस्कारलाई निरन्तरता दिएका छन्। त्यसको पछिल्लो उदाहरण हो– शुक्रबार संघीय संसद्मा पेस भएको सरकारको नीति तथा कार्यक्रम। विगतमा जस्तै शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट संसद्मा नीति तथा कार्यक्रम पेस गरिन्। तर, उनले मुलुकमा राजतन्त्र भएका बेला राजाले तत्कालीन प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गरेकै शैलीमा आफूलाई प्रस्तुत गरिन्। दुई सय १८ बुँदे सरकारको नीति तथा कार्यक्रम नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उनले राजाले जस्तै पटकपटक ‘मेरो सरकार’ पदावली प्रयोग गरिन्।

सार्वभौमसत्ता जनतामा निहित रहेका बेला राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने पदावली दर्जनौंपटक उच्चारण गरेपछि चौतर्फी विरोध भएको छ। यो पदावलीलाई लिएर समाजिक सञ्जालमा उनको चर्को आलोचना भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले ट्विट गर्दै प्रश्न उठाएका छन्, ‘म त नेपाल सरकार (जनताको सरकार) को नीति तथा कार्यक्रम सुन्न संसद्मा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिमज्यूको निजी सरकारको कार्यक्रम पो घोषणा भैरहेको छ। नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आऊँ होला ?’

त्यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका छन्– हराएको ‘मेरो सरकार’ आज सम्बोधनमा भेटियो तर गुमाएको विश्वास गाँस्नेगरी भरपर्दो इच्छाशक्ति र पत्यारिलो संकल्पसाथ भेटिएन कि अघिल्लो वर्ष झै ‘मौन समर्थन’ गर्न सकिने सम्भावना पनि भेटिएन।‘राष्ट्रपतिलाई राष्ट्रपति नै रहन दिऊँ सरकार, राजतन्त्र बिदा गरेका नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन’, उनले लेखेका छन््, ‘दसैंको टीका प्रकरण अनि आज (शुक्रबार) को ‘मेरो सरकार’ सामान्य त्रुटि बिल्कुलै होइन !’

त्यस्तै नेकपाका प्रदेशसभा सदस्य रचना खड्काले पनि ‘मेरो सरकार’ पदावलीप्रति असहमति राख्दै गणतन्त्रलाई गणतान्त्रिक चेतले मात्रै लोकप्रिय बनाउन सकिने धारणा राखेकी छिन््। ‘मेरो सरकार’ ले कुनै पनि अर्थमा गणतान्त्रिक चेत बोक्दैन भन्दै उनले चर्को आलोचना गरेकी छिन्।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले ‘श्री ५ को सरकार हुँदा पो राजाले मेरो सरकार भन्थे। त्यसको नक्कल गरेर राष्ट्रपतिले नेपाल सरकारलाई मेरो सरकार भनेको सुहाएन’ भन्ने टिप्पणी गरेका छन्।

साझा विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पनि सामाजिक सञ्जालमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अत्यन्त गैरजिम्मेवार र लोकतान्त्रिक भावनाको बर्खिलाफ भएको भन्दै रोष प्रकट गरेका छन्। ‘यो राष्ट्रपतिको सरकार होइन, नेपाली जनताको सरकार हो,’ संविधानमा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता जनतामा निहित रहेको स्मरण गराउँदै उनले लेखेका छन्।

नेपाल सरकारका पूर्वसचिव रामेश्वर खनालले पनि यो सार्वभौम नेपाली जनताको सरकार हो कि जनताको भन्दै प्रश्न उठाएका छन्। लेखक युग पाठकले ‘खसोखास सरकार त वहाँकै हो, अरुलाई आफ्नो जस्तो लागे के गर्नु त ?’, भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

प्रथम राष्ट्रपति रामवरण यादवले संसद्मा सम्बोधन गर्दा नेपाल सरकार प्रयोग गर्थे। राष्ट्रपति भण्डारी संसद्मा जाँदा र त्यहाँबाट फर्कंदा सडक खाली गराइएको थियो। सर्वसाधारणले यसको विरोधमा सवारीसाधनको हर्न बजाएका थिए।

प्रकाशित: २१ वैशाख २०७६ ०१:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App