१५ चैत्र २०८० बिहीबार
समाज

गाउँपालिका अध्यक्षका सालाले कुटे कर्मचारी

कुटपिटमा संलग्न गाउँपालिकाका अध्यक्षका साला थकाली भनिने पदम रोकाया ।

डोटी– जिल्लाको सायल गाउँपालिकाका अध्यक्षका सालाले मोटरसाईकलको साँचो नदिएको भन्दै गाउँपालिकाका कर्मचारीलाई कुटपिट गरेका छन्।  गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलका आफ्नै साला थकाली भनिने पदम रोकायाले गाउँपालिकाका ‘आईटी अफिसर’ (सूचना प्रविधि अधिकृत) नरेश महरालाई कुटपिट गरेका हुन्। घटना बिहिबार दिउँसो ३ः५५ बजेको हो।

‘म अफिसमा काम गरिरहेको थिए। उनी आएर मलाई मोटरसाईकलको साँचो देउ भने,’ आईटी अफिसर महराले नागरिक न्युजसँग भने, ‘मसँग थिएन। त्यसैले ‘मसँग छैन सर, हाकिमसाबसँग माग्नुस’ भने। त्यसोभन्दा अश्लिल शब्दमा गाली गरे।’ त्यसपछि आफुले गाली नगर्न भन्दा शरीरमा झम्टिएको उनले बताए। ‘मैले गाली नगर्न भन्दा उल्टै कुटपिटमा उत्रिए,’ उनले थपे।

आईटी अफिसर महराका अनुसार त्यसपछि बाहिर निस्किएका गाउँपालिका अध्यक्षका साला रोकाया केहि समयपछि छ/सात जनाको हुल ल्याएर कार्यालय छिरे। ‘फेरी तथानाम गालीसहित कुटपिट गर्नथाले,’ महराले भने, ‘दोस्रो पटक गाउँपालिकाका अध्यक्ष पनि अफिसमै हुनुहुन्थ्यो। केही बोल्नुभएन।’

गाउँपालिका अध्यक्ष डुम्रेलले भने आईटी अफिसर महरा र ओभरसियर जंग साउँदबीचमा मात्रै विवाद भएको दाबी गरे। ‘ओभरसियर साउँदले आईटी (महरा)सँग साँचो माग्दा नदिएपछि विवाद भएको हो। त्यतिबेला रोकाया त्यहाँ थिएन,’ उनले भने,‘रोकाया पछिमात्रै त्यहाँ आएको हो।’ रोकायाले पछि कुटपिट गर्न खोज्दा आफुले छुट्याएको उनले स्वीकारे।

पहिलो विवादमै रोकायाले कुटपिट गरेको कुरा कर्मचारीहरुले नागरिकसँग बताएको विषयमा गाउँपालिका अध्यक्ष डुम्रेलले कर्मचारीहरुसँग ‘हिसाब’ गर्ने प्रतिक्रिया दिए। ‘कसले भनेको हो? त्यसको हिसाब हुन्छ,’ उनले भने।

यता जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय डोटीसँग घटनाको एकदिन बित्दा पनि घटनाबारे जानकारी छैन्। ‘कर्मचारीहरुको विवाद हो भन्ने आएको छ,’ नायब प्रहरी उपरिक्षक लालबहादुर धामीले भने ‘गाउँपालिका अध्यक्ष ज्युले सामान्य विवाद हो आफैं मिलाउँछु भन्नुभएको छ।’ सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले नायब प्रहरी उपरिक्षकबाट सोही जानकारी आएको बताए। उनले भने ‘सायद टाढा भएकाले धेरै जानकारी नआएको हुनसक्छ।’

उता कर्मचारीमाथि कुटपिट भएपछि शुक्रबार गाउँपालिकाका कर्मचारीहरुले कार्यालयमा हाजिर गरेका छैनन्। जसले कार्यालयको कामकाज प्रभावित छ। प्रमुख प्रशासकिय अधिकृतसहितका कर्मचारीहरुले यस्तो कार्यालय समयमा कार्यकक्षमा आई कर्मचारीमाथि हमला गर्ने सुनुयोजित अमानविय घटनाको भत्सर्ना गर्दै दोषिलाई कार्वाहीको माग गरेर प्रेस विज्ञप्ती जारी गरेका छन्।

यस्तै बिहिबारै गाउँपालिकाको ‘लेटर हेड’मा प्रमुख प्रशासकिय अधिकृतको दस्तखतसहित डौड प्रहरी चौकीमा कारवाहीको माग गर्दै निवेदन पेश गरिएको छ। जसको बोदार्थ जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय डोटीलाई जनाईएको छ ।

प्रकाशित: २० वैशाख २०७६ ०६:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App