७ वैशाख २०८१ शुक्रबार
समाज

जर्मन नागरिकको सहयोगमा विद्यालय रेट्रोफिट सम्पन्न

भक्तपुर – भक्तपुरको जेसिस माध्यमिक विद्यालयको एक भवनको रेट्रोफिट सम्पन्न भएको छ। २०७२ साल वैशाख १२ को भूकम्पले क्षतिग्रस्त सो भवन जर्मनी नागरिकका सहयोगमा रेट्रोफिट भएको हो। जर्मनीका नागरिक एवं जर्मनीको सेनाका पूर्वकर्णेल योग बारको आर्थिक सहयोगमा चारतले भवनको रेट्रोफिट गरिएको विद्यालयका प्रधानाध्यापक जयराम गोर्खालीले बताए। कूल २४ लाख ४५ हजारको लागतमा बनेको भवनको सहयोगी पूर्वकर्णेल बारले उद्घाटन गरे।

भवन उद्घाटन भएसँगै कक्षा ७, ८, ९ र १० का विद्यार्थीले नयाँ कक्षा पाएका छन्। सो भवनमा कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, प्रशासनिक कक्ष बनेको छ। सो भवन सन् २००६ मा बारकै आर्थिक सहयोगमा बनेको थियो। आफूले बनाएको भवन भूकम्पले भत्केपछि विद्यार्थीको भविष्य अन्योलग्रस्त भएपछि पूर्वकर्णेल बारले जर्मनीमै विद्यालय बनाउनका लागि सहयोग संकलन गरी विद्यालयको रेट्रोफिट गर्न पाउँदा आपूmलाई आनन्द लागेको बताए। ‘विद्यालय भवनले पूनर्जीवन पाएको छ। विद्यार्थीहरु भूकम्पप्रतिरोधी भवनमा बसेर पढ्न, लेख्न सक्ने भएका छन्। मलाई खुसी लागेको छ,’ भवन उद्घाटन गर्दै उनले भने।

पूर्वकर्णेल बारले भने, ‘शिक्षाले नै नयाँ पुस्तालाई अघि बढाउँछ। उनीहरुलाई राम्रो शिक्षाको प्रत्याभूति दिने काम सुरक्षित भवनले दिन्छ।’ कूल ३ सय ६२ विद्यार्थी अध्ययनरत सो विद्यालयको उन्नयनमा बारले विगत १५ वर्षदेखि लगातार सहयोग गरिरहेका छन्। उनको सो सहयोगबापत विद्यालयले उनलाई विद्यालयको संरक्षक घोषणा गरेको छ। विद्यालयको भवन उद्घाटनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अवालले बारको सहयोगले विद्यालयलाई अघि बढाउन सहयोग पुगिरहेको उल्लेख गरे।

प्रकाशित: २० वैशाख २०७६ ०१:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App