७ वैशाख २०८१ शुक्रबार
समाज

रातो हाब्रे जाेगाउन लागिपरे धाँमीझाँक्री

डिबी बुढा – जुम्ला जुम्ला चन्दननाथ नगरपालिका क्षेत्रका धामी दुर्गाबहादुर खत्री गाउँमै कहलिएका व्यक्ति हुन्। अहिले पनि गाउँमा अफ्ठेरो पर्दा, दुःखी बिरामी हुँदा उनकै घरमा जानेको घुइँचो लाग्छ। उनले बिरामीलाई हेर्दा निको हुने विश्वास छ।
तर पछिल्लो समयमा उनी बिरामीलाई अस्पताल लैजान सुझाउँछन्। भन्छन्, ‘धामीझाँक्रीले निको पार्न सक्ने बिरामीलाई घर फर्काउँछौँ। नसक्नेलाई अस्पताल लैजान सुझाव दिन्छौँ।’

यो त परिवर्तित झाँक्रीको काम भयो। तर, यहाँका अधिकांश धामीझाँक्री अहिले रातो हाब्रे (रेडपाण्डा) संरक्षणमा लागेका छन्। ‘जंगलमा वन्यजन्तु छैनन्। संरक्षणमा कोही अघि सरेका पनि छैनन्,’ उनले भने, ‘आफ्नो कला र प्रतिभामार्फत रातो हाब्रे बचाउन जागरण ल्याउछौँ। झारफुक गर्न आउने हरेक बिरामी र आफन्तलाई जंगल र वन्यजन्तुबारे जनचेतना दिन्छौँ।’

अर्का कालीबहादुर झाँक्री हराउँदै जान थालेको रातो हाब्रे बचाउन सबै तह र तप्काबाट लागि पर्नुपर्ने बेला आएको बताउँछन्। उनले भने, ‘रातो हाब्रे बचाउन एकजुट हौँ। जंगली जनावरको चोरी पैठारी बन्द गर्न साथ दिऔँ।’ धामी झाँक्रीको काम भनेको तँ आँट म पु-याउँला भनेजस्तै हुने भएकोले रातो हाब्रो बचाउन होस्टेमा हैंसे गर्न आतुर रहेको प्रतिक्रिया दिए।

रेडपाण्डा नेटर्वको सहयोग तथा हातेमालो नेपाल जुम्लाको समन्वयमा जुम्ला सदरमुकाममा भएको अभिमुखीकरणमा सहभागी धामी झाँक्री आमा समूह र युवाहरुले रेड पाण्डा संरक्षणमा जुट्ने बताएका थिए। बढ्दो बासस्थान, विनास, खण्डीकरण, चोरी सिकारी र संरक्षित क्षेत्रमै संख्या कम हुनु संरक्षणका मुख्य चुनौती रहेकाले रेड पाण्डाको संरक्षणमा जुट्ने उनीहरुले बताएका हुन्।

स्थानीयस्तरमा मानिस बिरामी हुँदा औषधि तथा झारफुकका लागि वन्यजन्तुका छाला तथा अन्य कुरा प्रयोग गर्न धामी झाँक्रीले सुझाव दिने भएकाले त्यो प्रकारको सुझाव नदिन आग्रह गरिएको थियो। अहिले पनि बिरामी पर्दा जंगली जनावरका हड्डी र छाला  पकाएर खानु, निकौ भइहाल्छ भन्ने मान्यता छ।
 
डिभिजन वन कार्यालय जुम्लाका रेन्जर खड्कलाल नेपालीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा वन्यजन्तु कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा पाँचदेखि १० वर्षसम्म कैद वा एकदेखि पाँच लाखसम्म जरिवाना वा दुवै हुने प्रावधान सुनाए। वन्यजन्तु चोरी सिकार गर्न नपाइने भन्दै कसैले गैरकानुनी कार्य गरे कानुनअनुसार सजाय भोग्नुपर्ने बताए।  वन र वन्यजन्तु अमूल्य सम्पति भएकाले संरक्षणमा सबै जुट्ने पर्ने बेला आएको प्रतिक्रिया दिए।

हातेमालो नेपाल जुम्लाका रेड पाण्डा संरक्षण अधिकृत पुरुषोत्तम जैसीले समुदायलाई नै संलग्न गराएर संरक्षण गर्न आवश्यक देखिएको बताए। निगालोको टुसा र पात खाने रेडपाण्डाको बासस्थान नष्ट हुँदै जानुमा एकातिर वन क्षेत्रमा हुने आगलागी, गाईवस्तु चरिचरन, बढ्दो मानवीय गतिविधि मुख्य कारण हुन् भने, चोरी सिकारीसँगै लेकाली गोठमा पालिने कुकुरको आक्रमण संरक्षणको अर्को चुनौती हो।

प्रकाशित: १९ वैशाख २०७६ १०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App