१६ चैत्र २०८० शुक्रबार
समाज

विद्युत् प्राधिकरणको जग्गा व्यक्ति र गुठीका नाममा

ललितपुर - जिल्लाभर विद्युत् वितरणका लागि ६६ केभी प्रसारण लाइनदेखि कार्यालय भवनसम्म रहेको लगनखेलस्थित विद्युत् प्राधिकरणले १० रोपनीभन्दा बढी जग्गा भोगचलन गर्दै आएको छ। तर नेपाल विद्युत् प्राधिकरणको जिल्लादेखि केन्द्रसम्म त्यसबारे कुनै विवरण छैन, न त कार्यालयका कुनै कर्मचारीलाई जग्गाको क्षेत्रफल नै थाहा छ।

लालपुर्जाबारे जानकारी माग्दा वितरण शाखा प्रमुख वीरेन्द्रकुमार शाहले प्राधिकरणको केन्द्रीय कार्यालयस्थित सम्पत्ति व्यवस्थापन महाशाखामा हुन सक्ने बताए। तर महाशाखाले उक्त जग्गाबारे कुनै विवरण दिन सकेन। नागरिकले उक्त जग्गाबारे खोजबिन गर्दा नेपाल विद्युत् प्राधिकरणको नाममा नभई गुठी र व्यक्तिको नाममा भएको तथ्य फेला परेको छ। चल्तीको मूल्यअनुसार एक अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने उक्त जग्गाको भोग दशकौंदेखि प्राधिकरणले गर्दै आए पनि उसका नाममा लालपुर्जा प्राप्त नभएको देखिन्छ।

यसबारे प्राधिकरणको ललितपुर वितरण केन्द्रदेखि केन्द्रीय कार्यालयसम्म जानकारी माग्दा स्वामित्व या भोगाधिकारको कुनै विवरण उपलब्ध हुन सकेन। मालपोत कार्यालयको रेकर्डमा विभिन्न कित्ताका जग्गा गुठी र व्यक्तिका नाममा छन्।

उक्त जग्गामा प्राधिकरणअन्तर्गत काठमाडौं ग्रिड महाशाखाको पाटन सबस्टेसनदेखि वितरण महाशाखाका भवनहरू बनेका छन्। नापी कार्यालयले उपलब्ध गराएको नक्सामा ललितपुर महानगरपालिकाअन्तर्गत कित्ता नं. ५ ‘क’को ९९, १००, १०३, २८६, २९२ लगायत विभिन्न कित्ताका जग्गा नेपाल विद्युत् प्राधिकरणले उपभोग गर्दै आएको छ। नागरिकले जिल्ला मालपोत कार्यालय ललितपुरसँग ती कित्ता नम्बरहरूको जग्गाको हकवालाबारे जानकारी माग्दा व्यक्ति र गुठीका नाममा रहेको पाइएको छ।

जसमध्ये कित्ता नं. १०३ नन्दकेशरी गुठी, २८६ मच्छिन्द्रनाथ गुठी, १०० गिरिमान शाक्य र ९९ हरेन्द्रमान शाक्यको नाममा दर्ता छ। कित्ता नं. २९२ बारे भने कुनै जानकारी प्राप्त हुन नसकेको मालपोत कार्यालय ललितपुरका प्रमुख भीमकान्त पौडेलले जानकारी दिए।

प्राधिकरणले दशकौंदेखि उपभोग गर्दै आएको जग्गा व्यक्ति र गुठीको नाममा कसरी रहन गयो भन्नेबारे प्राधिकरणसमेत आश्चर्यमा परेको छ। प्राधिकरणको केन्द्रीय कार्यालयस्थित सम्पत्ति व्यवस्थापन महाशाखामा लगनखेलको जग्गाबारे कुनै विवरण छैन। जग्गाहरूको स्वामित्वको प्रमाणबारे सोध्दा प्राधिकरणका ललितपुरस्थित वितरण शाखा प्रमुख वीरेन्द्रकुमार सिंहले खोजबिन भइरहेको जानकारी दिए। सम्पत्ति व्यवस्थापन महाशाखा स्रोतका अनुसार लगनखेलमा मात्र नभई अन्य स्थानमा पनि सम्पत्ति विवरणबारे प्रमाणिक कागजात छैन।

जग्गाको स्वामित्व या भोगाधिकार समेत नेपाल विद्युत् प्राधिकरण नभएको अवस्थामा त्यहाँ भएका निर्माणहरूको वैधानिकतामा समेत कानुनी प्रश्न उठ्छ। महानगरपालिकामा नक्सा पास गरेर मात्र भवन बनाउनुपर्नेमा जग्गाको लालपुर्जा नभएको अवस्थामा पक्की भवन वैधानिक देखिँदैन। भवनहरू कुनै सरकारी निकायमा दर्ता छैनन्। नापी शाखा ललितपुरले उपलब्ध गराएको नक्सामा भवनहरू रहेको देखाइएको छ।

तर ललितपुर महानगरपालिकाको विवरणअनुसार उक्त जग्गामा भवन रहेको देखिँदैन। ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले लालपुर्जा नभई भवन बनेको भए वैधानिक भन्न नसकिने बताए। उनले भने, ‘लालपुर्जा नभई नक्सा पास हुँदैन।’

हाल ललितपुरस्थित सबस्टेसनबाट जिल्लाभर विद्युत् आपूर्ति हुन्छ। वितरण शाखा प्रमुख वीरेन्द्रकुमार सिंहले जग्गाको मुआब्जा पनि दिइसकेको सुन्नमा आएको बताए। तर कुन मितिमा कसलाई मुआब्जा दिइएको हो भन्ने विवरणबारे बताउन सकेनन्।

वितरण शाखा प्रमुख भएर धेरै अधिकृत आउनेजाने भए पनि जग्गाको प्रमाणपुर्जा प्राप्त गर्ने वा खोज्नेबारे कसैले चासो राखेनन्। विद्युत् प्राधिकरणको ललितपुर वितरण शाखा र ग्रिडको स्टेसन अवस्थित क्षेत्र लगनखेलस्थित सप्तापाताल पोखरीनजिकै छ। पोखरीको जग्गाबारे विवाद सर्वोच्च अदालतमा विचाराधीन छ।

प्रकाशित: १९ वैशाख २०७६ ००:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App