२१ असार २०७७ आइतबार
समाज

२ ‘पलङ दाइजो नदिँदा छोरी मारिइन्’

रौतहट - दाइजोमा लाखौं रुपैयाँ ल्याए पनि सुत्ने पलङ नल्याएको निहुँमा रौतहटमा एक महिलाको हत्या भएको आरोप माइती पक्षले लगाएको छ। गत शनिबार झुन्डिएको अवस्थामा भेटिएकी एक युवतीलाई पलङको निहुँमा हत्या गरेर झुन्ड्याएको माइती पक्षले आरोप लगाएको हो।

रौतहटको राजदेवी नगरपालिका–३ चण्डिहाका २४ वर्षीय विवेक तिवारीकी २२ वर्षीया श्रीमती निशा उपाध्याय तिवारीलाई माइतीबाट दाइजोस्वरूप सुत्ने पलङ नल्याएको निहुँमा चरम यातना दिई हत्या गरी आत्महत्या गरेको भन्ने देखाउन पासोमा झुन्ड्याइएको मृतकका दाजु दिलीप उपाध्यायले बताए।

रौतहटको गढीमाई नगरपालिका–५ मदनपुरका रामबाबु उपाध्यायकी भतिजी निशाको राजदेवी नगरपालिका चण्डिहा बस्ने वीरेन्द्र तिवारीको छोरा विवेकसँग २०७३ साल फागुन २२ गते सामाजिक परम्पराअनुसार मागी विवाह भएको थियो। बिहेमा नगद ८ लाख, मोटरसाइकल, टिभी, दराजलगायत सामान दिए पनि पलङ नदिँदा पटकपटक यातना दिने गरेको माइती पक्षका मृतककी भाउजू रेखा तिवारीको आरोप छ।

छोरी निशालाई जेठानी सोनी तिवारी, श्रीमान् विवेक र ससुरा वीरेन्द्र मिलेर हत्या गरेको मृतककी आमा पार्वती देवीको आरोप छ। पलङका लागि पटक–पटक यातना दिने गरेको र पलङ ल्याउन घरबाट निकालेर माइती पठाउने गरेको पनि उनी बताउँछिन्।

मृतक युवतीको शव जिल्ला अस्पताल गौरमा राखिएको छ। पोस्टमार्टमको रिपोर्ट आइसकेको छैन। माइती पक्षले अस्पताल र प्रहरीलाई पनि मिलाउन खोजेको आरोप लगाएका छन्।
पत्रकारहरुले सत्यतथ्य सार्वजनिक गरी घटनाको निष्पक्ष छानबिन गर्न सहयोग गर्नुपर्ने अन्यथा मुद्दा गुपचुपमै मिल्ने आशंका माइती पक्षले गरेका छन्।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले हत्या वा आत्महत्या भन्ने कुरा पोस्र्टमार्टम रिपोर्ट आएपछि मात्र स्पष्ट पार्न सकिने बताएका छन्।

प्रकाशित: १८ वैशाख २०७६ ०६:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App