१६ चैत्र २०८० शुक्रबार
समाज

ट्रकले युवतीलाई ब्याक गरेर च्यापेपछि तनावग्रस्त बनेको लम्की शान्त, आफन्तले शव बुझे

टीकापुर- दुर्घटनामा संलग्न ट्रक चालकलाई कानूनी कारवाही गर्ने सहमतिपछि लम्कीको जनजीवन सामान्य बनेको छ। मृतक सुनिता रावल (१९) का आफन्तले शव बुझेका छन्। उनको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको छ। दिनभर रोकिएका सवारी साधन सुचारु भएका छन्।

साइकलमा सवार रावललाई आज बिहान साढे नौ बजे विद्युत कार्यालयको गेट नजिकै ना ७ ख ९२३३ नम्बरको मालवाहक ट्रकले ठक्कर दिएको थियो। ट्रकले ठक्कर दिएपछि घाइते भएकी रावललाई सोही ट्रकले ब्याक गरेर च्यापेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।

मृतकका बुबा तप्तबहादुर रावले घाइते भएकी आफ्नी छोरीलाई ब्याक गरेर मार्ने ट्रक चालकलाई हदैसम्मको कानूनी कारवाही हुनुपर्ने बताएका छन्।

कैलाली प्रहरी प्रमुख एसपी आभुषण तिमिल्सिनाले लम्कीको जनजीवन सामान्य बनेको जानकारी दिए। उनले दोषीलाई कानूनी कारवाहीको प्रतिवद्धता गरेपछि सहमति जुटेको बताए। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि आक्रोशित स्थानीय र प्रहरीबीच दोहोरो झडप भएको थियो।

झडपका क्रममा १३ जना घाइते भएका छन्। घाइते हुनेमा एक जना स्थानीय प्रेमराज मुडभरी र अरु सबै सुरक्षाकर्मी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए। घाइते सबैको स्थानीय लालरत्न अस्पतालमा उपचार भैरहेको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास र हवाई फायर गरेको थियो।

प्रकाशित: १७ वैशाख २०७६ १०:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App