coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अध्यक्षले अभद्र व्यवहार गरेको उपाध्यक्षको आरोप

रौतहट - यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाले आफूलाई अभद्र व्यवहार गरेको भन्दै उपाध्यक्ष गीतादेवी साहले आरोप लगाएकी छन्। अध्यक्ष मुखियाले बलजफ्ती योजनामा हस्ताक्षर गराउन खोजेको र आफूले नमानेपछि अभद्र व्यवहार गर्दै कुट्नसमेत खोजेको उनले बताएकी छन्।

उपाध्यक्ष साहले आफ्नै घरमा यमुनामाई गाउँपालिकामा भइरहेको भ्रष्टाचार र अनियमिततासम्बन्धी जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेकी थिइन्। शुक्रबार ‘शुकदेव चोकदेखि राधेश्याम साहको घरसम्म सरसफाइ र मिक्स ग्राबेलको कार्य’ भन्ने शीर्षकको योजनामा बलजफ्ती हस्ताक्षर गराउन अध्यक्ष मुखिया, वडाध्यक्षद्वय नन्दलाल यादव र रहमत राँकीले आफूमाथि दबाब दिएपछि आफूलाई योजनाबारे कुनै जानकारी नभएको तथा स्थलगत अनुगमन गरेपछि मात्रै सही गर्नेभन्दा अपशब्द प्रयोग गर्दै कुट्न झम्टिएको उनले पत्रकार सम्मेलनमा भक्कानिँदै जानकारी दिएकी हुन्। पत्रकार सम्मेलनमा उपाध्यक्ष साहको गला पटकपटक अवरुद्ध भएको थियो।

प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा आफूलाई बाइपास गरेर अध्यक्ष मुखियाले विगत र चालू आवको रकम व्यापक दुरुपयोग गरेको आरोप लगाउँदै उपाध्यक्ष साहले सम्बन्धित निकायबाट छानविन गरेर कारबाही गर्न माग गरेकी छन्। पालिकाको काम पारदर्शी नभएको र आफूले असहमति जनाउँदा आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उनले आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा उजुरी हाल्ने पनि बताएकी छन्।

यता गाउँपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष नन्दलाल राय यादवले उपमेयर साहले मेयर मुखियासँग बजेट माग गरेपछि दुवैबीच सामान्य विवाद मात्र भएको बताएका छन्। उनले विवादपछि उपाध्यक्ष साहले गाउँपालिका कार्यालयमा तालाबन्दीसमेत गरेको बताए। उपाध्यक्ष साहले लगाएको ताला सोमबार खोलिएको छ। उपाध्यक्ष साहले आफूसँग बजेट मागेकी र नियमअनुसार बजेट दिने बताएपछि आफूलाई गाउँपालिकाको कार्यालयबाट बाहिर निस्किन नदिने बताएकी थिइन्। सम्झाई बुझाई कार्यालयबाहिर निस्किएर गएको तर थप्पड अथवा कुनै किसिमको अपशब्द प्रयोग नगरेको र प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको अध्यक्ष मुखियाले बताए।

अध्यक्ष र उपाध्यक्ष दुवैजना नेकपाबाटै निर्वाचित भए पनि दुवैजनामा मनोमालिन्य रहेको छ। नेकपाभित्रकै केही नेताको भरमा अध्यक्ष मुखियाले उपाध्यक्ष साहमाथि बारम्बार दुव्र्यवहार गर्ने प्रयास गरेका छन्। विगतमा पनि उपाध्यक्ष साहले गाउँपालिकामा आफूले कुनै काम गर्न नपाएको गुनासो गरेकी थिइन्। कानुनले दिएको काम पनि उपाध्यक्षलाई गर्न नदिएको तथा प्रशासकीय प्रमुखसित मिलेर अध्यक्ष मुखियाले बलजफ्ती विभिन्न योजना तथा निर्णयमा सही गराउने गरेका छन्। अध्यक्षले गाउँपालिकामा कुन योजना कहाँ र कसरी सञ्चालित हुँदै छ भन्ने विषयमा पनि उपाध्यक्ष साहलाई जानकारी गराउने गरेका छैनन्। साथै योजना निर्माणमा पनि सहभागी नगराएको उपाध्यक्ष साहको आरोप छ।

प्रकाशित: १७ वैशाख २०७६ ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App