७ वैशाख २०८१ शुक्रबार
समाज

कर्मचारी नहुँदा स्थानीय तहमा समस्या, सचिवको काम अनमीको भरमा

गोरखा- जिल्लाको भिमसेन थापा गाउँपालिकामा गत वर्ष करिब ६ करोड विकास बजेट खर्च भएन। दरबन्दी अनुसार काम गर्ने कर्मचारी भएनन् भने यस वर्ष पनि गत वर्षको अवस्था दोहोरिन सक्ने गाउँपालिका अध्यक्ष इश्वर पाण्डे बताउँछन्।

आठ वटा वडा रहेको यो पालिकामा दुई जना मात्रै सचिव छन्। ‘घटना दर्ता सचिवले गर्नुपर्छ, हामीले दुई जनालाई मोटरसाईकलमा आठ वटै वडामा घुमाईरहन्छौं गाउँपालिका अध्यक्ष पाण्डेले भने। 'मोवाइल' सचिव बनेर दुई जनाले आठ वटै वडाको काम मोटरसाईकलमा घुम्दै गर्दैै गर्छन। सिफारिसलगायतका अन्य कागजात वडा अध्यक्ष र कार्यालय सचिवको भरमा जेनतेन चलिरहेपनि अनुभवी कर्मचारीले सम्हालेको वडा जस्तो चुस्त दुरुस्त छैन। ‘हामीले कहिल्यै नगरेको प्रशासनिक काम गर्नुपरेको छ, सिक्दै छौँ, सचिवले गरे जस्तो त हुँदैन’ भिमसेन थापा गाउँपालिका ८ का  अध्यक्ष बासु थापाले भने।

पाँच वटा वडा रहेको अजिरकोट गाउँपालिकामा एउटामा पनि सचिव छैनन्। ‘स्वास्थ्य स्वयमसेविका, अनमी, हेल्थ असिस्टेन्टलाई सचिवको काम लगाउँदै आएका छौँ’ प्रमुख प्रशासकिय अधिकृत परमेश्वर पन्तले भने। स्वास्थ्यकर्मी हेल्थ असिस्टेन्टले ‘स्टोर’ र योजनाको काम गर्दै आएका छन्। स्वास्थ्य चौकीमा रहेका जनशक्तिबाट वडाको काम र गाउँपालिकाको प्रशासनिक काम चलाउनुपर्ने बाध्यता रहेको प्रमुख प्रशासकिय अधिकृत पन्तले गुनासो गरे।

यी दुई पालिकामा मात्रै होईन, नगरपालिकामा जेनतेन कर्मचारी भएपनि गोरखाका नौ वटै गाउँपालिकामा दरबन्दी अनुसार कर्मचारी छैनन। लेखाअधिकृत भएको ठाउँमा लेखापाल छैनन् भने लेखापाल भएको ठाउँमा अधिकृत छैनन्। एउटा शाखामा एउटा मात्रै कर्मचारी भेट्न पनि मुस्किल छ। अधिकांश पालिकामा तीनदेखि चार वटा सचिवले दुई/तीनवटा वडाको काम गर्दै आएका छन्।

भिमसेन थापा गाउँपालिकामा लेखा अधिकृत र लेखापाल दुबै छैनन। सहलेखापालाई काजमा राखेर पालिकाले लेखाको काम गर्दै आएको छ। अजिरकोट गाउँपालिकामा लेखाका कर्मचारी दुबै समायोजना भएर अन्यत्र हिँडेपछि त्यहाँ कामकाज रोकिएको छ। ‘योजनाहरु सम्झौता हुने, काम हुने, भुक्तानी लिने समय चलिरहेको छ, तर यहाँ लेखाका कर्मचारी नै छैनन्’ गाउँपालिका अध्यक्ष फडिन्द्र धितालले भने। एउटा शाखाका कर्मचारीलाई अन्यत्र काम लगाउँदा दुबैतर्फ जनताले चाहे अनुसार सेवा दिन नसकेको उनले बताए।

गत वर्ष प्राविधिक जनशक्ति नहुँदा भिमसेन थापा गाउँपालिकाभित्र योजनाको स्टमेट, बिल तयार, भुक्तानीका काममा समस्या भयो। कर्मचारी नआएपछि गाउँपालिकाले करारमा दुई ओभरसियर र एकजना इन्जिनियर नियुक्त गरेको छ। यो समस्या अन्य गाउँपालिकामा पनि छ। तर अहिले वडा सचिव नहुनु, लेखा अधिकृत नहुनु, प्रशासन चलाउने कर्मचारी, योजना सम्झौता गर्ने, अनुगमन गर्ने,  कागजात चेकजाँच गर्ने कर्मचारी नहुँदा काम नभएको गाउँपालिका अध्यक्ष पाण्डेले बताए। ‘शिक्षा, पशु, कृषिमा काम गर्ने एक जना पनि कर्मचारी छैन’ उनले भने ‘कार्यक्रम लागु गराउने, मुख्य काम हुने सिजनमा कार्यालय रित्तै छ, कर्मचारी छैनन।’

स्थानीय विकास मन्त्रालयले कर्मचारी समायोजन गरेपछि सरुवा भएर जानेहरु गएको र आउनेहरुको टुङ्गो नलागेको, दुर्गम ठाउँमा आउन कर्मचारीले इच्छाशक्ति नदेखाएका कारण दरबन्दी अनुसार कर्मचारी पुरा नभएको गुनासो प्रशासकिय अधिकृतहरुको छ।  वर्षेनी ३० देखि ४० करोड बजेट लिएका स्थानीय तहमा कर्मचारी नहुँदा हरेक वर्ष विकास बजेट यसै रहेको छ। आर्थिक वर्षको अन्त्यतिर हतार गर्ने प्रवृत्ती, कर्मचारीको संख्या थोरै हुनु, नियमित अनुगमन र मूल्याङ्कन नहुनु जस्ता जनताको चाहना अनुसार काम गर्न नसकेको स्वयम जनप्रतिनीधिहरु स्वीकार गर्छन।

प्रकाशित: १६ वैशाख २०७६ ०४:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App