१६ चैत्र २०८० शुक्रबार
समाज

‘मन्दिरको जग्गा हडपेर निजी घर’

जनकपुर - प्राचीन मिथिलाको राजधानी जनकपुरले यति बेला प्रदेश २ को अस्थायी राजधानीको पहिचान पाएको छ। त्रेता युगदेखि नै धार्मिक पहिचान बनाउन सफल यो नगरले नेपालका सबै राजनीतिक परिवर्तनमा कुनै न कुनै योगदान दिइरह्यो। प्रदेशको नामकरण र भाषा सम्बन्धमा प्रदेशसभाले निर्णय गर्न त्यति सहज नभए पनि प्रादेशिक राजधानी जनकपुर तोकिँदा कसैले खुलेर विरोध गर्न सकेको छैन।

पाइलापाइलामा मठमन्दिर भेटिने यस सहरको नाम पछिल्लो स्थानीय निर्वाचनपछि ‘जनकपुरधाम’ कायम गरिएको छ। ऐतिहासिक मठमन्दिर र ताल–सरोवरको अस्तित्व बचाउन सकिएन भने ‘धाम’ को अर्थ रहँदैन। यसप्रति जनकपुरधाम उपमहानगरपालिका, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् र नेपाल गुठी संस्थान चिन्तित छन्। तर यो चिन्ता देखावटीमात्रै साबित भएको छ। ऐतिहासिक पहिचान सखाप भइरहँदा पनि सरोकारवाला निकायको मौनताले यस्तै महसुस भएको छ। मठमन्दिर र सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण रोक्न मठमन्दिरको व्यवस्थापन गर्न न गुठी संस्थानले सक्रियता देखाएको छ न बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले नै। यस्तै बेवास्ताको नियति भोग्दै आएको छ– बिरख कुटी मन्दिरले।

जनकपुरधाम ८, रामानन्द चोकस्थित आँखा अस्पतालको पछाडि बिरख कुटीको मन्दिर छ। बाँसको भाटाले घेरा हालिएको करिब एक कट्ठा क्षेत्रफलभित्र एउटा जीर्ण मन्दिर छ। मन्दिरभित्र मूर्ति छैन। पूजासामग्री र पुजारीको अतोपत्तो छैन। मन्दिर परिसरमा बाँस र त्रिपालले बनाइएको छाप्रोमा एकजोडी घोडाको तबेला छ। वैवाहिक कार्यक्रममा रथ तान्ने काम हुन्छ ती घोडाको। खाली जग्गा उपयोग गरी घोडा बाँधे पनि उक्त जग्गाको स्वामित्वबारे आफूलाई थाहा नभएको रथवाला बताउँछन्। मन्दिरका नाममा रहेको बिजुली मिटरको बिल आउँदैन। मन्दिरलाई भनेर विद्युत् प्राधिकरणले सित्तैमा मिटर जडान र बिजुली उपलब्ध गराएको ती रथवालाले बताए।

मन्दिरवरिपरि घना बस्ती छ। अधिकांश घर एकतलेभन्दा अग्ला र पक्की छन्। मन्दिरको छेउमै फराकिलो जमिन घेरा गरी एउटा पक्की घर बनाइएको छ। उक्त घर यादव थरका एक प्रहरी अधिकृतको भएको ती रथवालाले बताए। आफ्नो नाम भन्न नमानेका उनले ती प्रहरी अधिकृतको नाम पनि बताएनन्। बेहाल अवस्थामा रहेको सोही मन्दिरको बहुमूल्य जग्गा हुनेखानेले नै उपभोग गरिरहेका छन्। तर मन्दिर व्यवस्थापनमा कसैको ध्यान पुगेको छैन। स्थानीयका अनुसार नगरकै वडा सचिवदेखि विभिन्न सरकारी कार्यालयका कर्मचारी र राजनीतिक दलका प्रतिनिधिले पनि मन्दिरको जग्गा हडपेर निजी घर ठड्याएका छन्।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष भोजराज घिमिरेको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलले २०६२ सालमा सबै धार्मिक पोखरी तथा मठमन्दिरको स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो। २०६२ साउन २६ को मन्त्रिपरिषद् बैठकले घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। उक्त कार्यदलको प्रतिवेदनअनुसार बिरख कुट्टीको स्वामित्वमा ६ बिघा जमिन भएको उल्लेख छ। जसमध्ये जानकी आँखा अस्पताललाई एक बिघा दुई कट्ठा र अन्ध अपांग संघलाई १७ कट्ठा जमिन वार्षिक एक मन धान दिनुपर्ने सर्तमा मनखप दिइएको देखिन्छ। बाँकी जग्गा मन्दिरकै स्वामित्वमा रहेको प्रतिवेदनमा उल्लेख छ। अहिले मन्दिर जीर्ण अवस्थामा छ। मनखपमा जग्गा दिइएको कागजात, त्यहाँबाट आउने धान र बाँकी जग्गा कुन अवस्थामा छ र कसले उपभोग गरेको छ कुनै पत्तो छैन।

क्याप्सन

जनकपुरधाम–८ स्थित जीर्ण अवस्थामा रहेको बिरख कुटीको मन्दिर। यो मन्दिरको जग्गा हुनेखानेले हडपेका छन्। तस्बिर ः सुरेश÷नागरिक

प्रकाशित: १६ वैशाख २०७६ ००:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App