७ वैशाख २०८१ शुक्रबार
समाज

महिलाको मृत्यु शंकास्पद, हत्या गरिएको माइती पक्षको आरोप

धादिङ–  धादिङमा एक महिलाको शंकास्पद मृत्यु भएको छ। जिल्लाको त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ४ स्थित कार्की गाउँकी मेनुका न्यौपानेको गत बैशाख ७ गते शंकास्पद रुपमा मृत्यु भएको भन्दै माइती पक्षले हत्या भएको आरोप लगाएका छन्। मेनुकाले विष सेवन गरेर आत्महत्या गरेको नभइ घरपरिवारले कुटपिट गरि हत्या गरेर विष खुवाइएको दावी गरेका छन्।

विष सेवन गरी आत्महत्या गरेको खबर बाहिर आएपछि घटना थप रहस्यमय बनेको छ। विष खाएको भनिएको मृतक मेनुकाको शरीर भरी निलडाम, अनुहारमा चोटपटक, र कपडा समेत भिज्ने गरि नाक मुखबाट रगत बगेको देखिएकाले आत्महत्या हुनै नसक्ने मृतक मेनुकाका भाइ बासुदेव न्यौपानेले बताए। ‘आफैले विष सेवन गरेको भए शरीरभरी निलडाम, अनुहारमा चोट र रगत बगेको देखिदैनथियो होला’, उनले भने, ‘यो हत्या नै हो, निष्पक्ष छानविनको लागि माग गर्दछु।’
 मृतक महिलाको ३ महिनाअघि मात्रै (गत २०७५ माघ २३ गते) धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ कार्कीगाउँका रुपेश ढुङ्गानासंग मागी विवाह भएको थियो। विवाह गर्ने वेलामा नै केटीपक्षले कुनैपनि दाइजो दिन नसक्ने सहमती गरेर विवाह गरिएको र पछि पटक पटक दाइजो मागेर बहिनीलाई दुःख दिएकाले उनको हत्या भएको माइतीपक्षले आशंका गरेको छ।

विवाहको १६ रातमा माइती आउँदा नै बहिनीले घरमा दाइजो नल्याएको भनेर आफुलाई मानसिक र शारीरिक यातना दिएको बताएकी नुवाकोट किस्पाङ गाउँपालिका वडा नं २ घर भएका मृतक मेनुकाका भाइ बासुदेवले न्यौपानेले भने। विवाह गराउने लमी मार्फत पनि दाइजोको माग गरिएको थियो। हामीले विवाह अघि नै दाइजो नलिने/नदिने सहमती गरिएको भन्दै आफूले दाइजो दिन नसक्ने जवाफ फर्काएको बासुदेवले बताए।

विष खाएर मृत्यु भएको गाउँले मार्फत माइती पक्षले थाहा पाएका थिए। घटनाको बारेमा थाहा पाएपछि परिवारसँग बुझ्दा उपचार भइरहेको भनेर ढाँटेका थिए। घटनाको विषयमा बुझ्न खोज्दा मृतक मेनुकाका श्रीमान रुपेश ढुङ्गानाको  मोवाइल भने स्वीच अफ गरिएको छ। घटनाको विषयमा किटानी जाहेरी दिनखोज्दा प्रहरीले पनि जाहेरी लिए पनि दर्ता गर्न नमानेको मृतकका माइतीपक्षले आरोप लगाएका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी राजकुमार बैदवारले भने जाहेरी लिएर सुक्ष्म अनुसन्धान भइरहेको बताएका छन्। मृतकको जिल्ला अस्पताल धादिङमा पोष्टमार्टम गरिए पनि हालसम्म पोष्टमार्टम रिपोर्ट नआएको र शवको भिसेरा परीक्षणको लागि पनि नमुना काठमाडाैं पठाएको जानकारी दिए। रिपोर्टमा कर्तब्य ज्यान देखिए तत्काल कारवाही प्रक्रिया अघि बढाउने एसपी बैदवारले जानकारी दिए।
 

 

प्रकाशित: १५ वैशाख २०७६ १०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App