४ वैशाख २०८१ मंगलबार
समाज

पुर्नजीवन पाउँदै भक्तपुरको रानीपोखरी

भक्तपुर - रानीपोखरी भनेपछि धेरैलाई लाग्छ, काठमाडौंको रानीपोखरी। तर भक्तपुरमा पनि रानीपोखरी छ, जुन काठमाडौंको भन्दा पनि ४० वर्ष पुरानो हो। यही भक्तपुरको रानीपोखरीले अहिले पुनर्जीवन पाउँदैछ।

भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारी भक्तपुरको सैनिक व्यारेकभित्र रहेको यो पोखरीलाई अहिले पुनर्जीवन दिने काम हुँदै आएको छ। घाँसे मैदानको रुपमा रहेको यो पोखरीको सरसफाई कार्य हुँदै आएको छ।

भक्तपुर नगरपालिकाले आइतबार पनि रानीपोखरी परिसरको सरसफाई गरेको छ। भक्तपुर नगरपालिकाको पाक्षिक सरसफाइ कार्यक्रमलाई निरन्तरता दिंदै वैशाख १५ गते  भक्तपुरको रानीपोखरी परिसरमा नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरु, कर्मचारी, टीम–क्लब, विद्यालय, स्थानीय र सेनाको संयुक्त प्रयासमा सरसफाई गरिएको हो।

प्राडा पुररुसोत्तमलोचन श्रेष्ठ काठमाडौंको रानीपोखरीभन्दा भक्तपुरको रानीपोखरी ४० वर्ष पुरानो भएकोले ऐतिहासिक रुपले महत्वपूर्ण पोखरी रहको बताउँछन्। सेनाको व्यारेक (वीरेन्द्र सैनिक आवासी माविको कम्पाउण्ड) भित्र रहेकोले अरुबेला यहाँ सर्वसाधारणलाई प्रवेश निषेध छ।

रानीपोखरी सरसफाई कार्यक्रम अवलोकनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) पुगेका थिए। त्यस अवसरमा उनले सम्पदा पुनःनिर्माण र संरक्षणमा अरु ठाउँमा भन्दा भक्तपुरमा व्यवस्थित र उल्लेखनीय कार्य भएको बताए। भक्तपुरका ऐतिहासिक ठाउँहरूको मौलिक नामलाई बचाइ राख्नुपर्नेमा जोड उनले दिए।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले स्थानीय चाड देवाली पूजा (दिगु पुजा) नजिकिंदै गएको अवस्थामा यस ठाउँको सरसफाइ कार्यलाई निरन्तरता दिएको बताए। भक्तपुरको रानीपोखरी जनताकै ठाउँ भएको र यो ठाउँको नाप नक्सा गरी पुराना भेटिएका तस्बीरहरूका आधारमा पुरानै शैली र परम्परागत निर्माण सामग्री प्रयोग गरी पुनःनिर्माण गर्न सम्बन्धित निकायसग नगरपालिकाले निरन्तर छलफल भइरहेको उनले जनाए। भक्तपुरको रानीपोखरी पुनःनिर्माणमा केही प्राविधिक समस्या भएको बताउँदै उनले भक्तपुरको रानीपोखरीलाई पुनर्जीवन दिने प्रयासमा नगरपालिका अग्रसर रहेको बताए।

भक्तपुर नगरपालिकाले यो समेत स्थानीय जनता, टीम–क्लब, दाफा–भजन, विद्यालय, सेना, गुठीलगायतको सहयोगमा तीन पटक सफाइ गरिसकेको छ। आइतबारको सरसफाई कार्यक्रममा प्रजापति समुदायका त गुठी, थिला गुठी, चुकु गुठी, न्हु गुठी, मारी गुठी र ख्वँ रे गुठीलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १५ वैशाख २०७६ ०८:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App