८ वैशाख २०८१ शनिबार
समाज

राजमार्गमा मालवाहक सवारीद्वारा ट्राफिक नियम उल्लंघन

क्षमताभन्दा सातदेखि १६ मेट्रिक टनसम्म बढी भारवहन गरेको भन्दै ट्राफिकद्वारा नियन्त्रणमा लिइएका मालवाहक ट्रकहरू। तस्बिर : टंक/नागरिक

सर्लाही - राजमार्गमा गुड्ने लरी, ट्रकजस्ता ठूला मालवाहक सवारीसाधनले क्षमताभन्दा अत्यधिक बढी भारवहन गरी ट्रफिक नियम उल्लंघन गरेको पाइएको छ।

प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाको विशेष टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नयाँरोडस्थित सर्लाही ट्रक व्यवसायी संघको धर्मकाँटामा तौल चेकजाँच गर्दा त्यस्तो अवस्था फेला परेको हो। दुई दिनदेखि चेकजाँच गरिरहेको ट्राफिक टोलीले ना७ख ७०१८ नम्बरको लरीले ५६ मेट्रिक टन कोइला बोकेको अवस्थामा नियन्त्रणमा लिएको छ। १४ चक्के लरीको ४० टन दुई सय किलो क्षमता भए पनि १६ मेट्रिक टनसम्म बढी थप भारवहन गरेको पाइएपछि ट्राफिकले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको हो।

त्यस्तै ना७ख १३५२ नम्बरको १२ चक्के ट्रक ३१ मेट्रिक टन सिमेन्ट बोकेको अवस्थामा नियन्त्रणमा परेको छ। उक्त ट्रकले क्षमताभन्दा १० मेट्रिक टन बढी भारवहन गरेको ट्राफिक प्रहरीले जनायो। यो त आकस्मिक चेकजाँचका क्रममा देखिएको उदाहरण मात्र हो। राजमार्गमा गुड्ने अधिकांश मालवाहक सवारीसाधनले क्षमताभन्दा अत्यधिक बढी भारवहन गर्ने गरेको जानकारहरू बताउँछन्। दुई दिनदेखि चलिरहेको आकस्मिक चेकजाँचका क्रममा क्षमताभन्दा बढी भारवहन गरेका ८५ सवारीसाधनलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी सहायक निरीक्षक इन्द्रभूषण मिश्र नेतृत्वको चार सदस्यीय चेकजाँच टोलीले गरेको कारबाही अभियानका क्रममा सात मेट्रिक टन बढी भारवहन गरेका १६ वटा सवारीसाधनलाई भने नियन्त्रणमा लिएको छ।

प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी निरीक्षक रिपेन्द्रकुमार सिंहले क्षमताभन्दा दुई मेट्रिक टनसम्म बढी भारवहन गरेका सवारीसाधनलाई ट्राफिक प्रहरीले नै पाँच सयदेखि एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना गर्ने र त्योभन्दा बढी भारवहन गरेकालाई थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइने जानकारी दिए। ‘दुई मेट्रिक टन बढी भारवहन गरेका सवारीसाधनलाई जरिवानासहित क्षमताभन्दा बढीको सामान झारेर पठाउँछौं,’ ट्राफिक प्रहरी निरीक्षक सिंहले भने, ‘त्योभन्दा बढी नै भारवहन गरेकालाई भने आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाउने तयारी गरिरहेका छौं।’ मालवाहक सवारीसाधनले नियमविपरीत अत्यधिक भारवहन गर्ने गरेको गुनासो आएपछि आकस्मिक रूपमा चेकजाँचसहित कारबाही प्रक्रिया अगाडि बढाइएको ट्राफिक प्रहरी निरीक्षक सिंहले जानकारी दिए।

अत्यधिक बढी भारवहन गर्नेमा भारतीय सवारीसाधनसमेत रहेका छन्। बढी भारवहन गरेका सवारीसाधनलाई कडा कारबाही गर्नुपर्ने सर्लाही ट्रक व्यवसायी संघका अध्यक्ष रामबहादुर दवाडीले माग गरे। ‘क्षमताभन्दा बढी भारवहन गर्दा स्वयं सवारीसाधनलाई मात्र होइन, राजमार्ग क्षति, दुर्घटनाजस्ता यावत् जोखिम हुन्छ,’ दवाडीले भने, ‘कहिलेकाहीं एक÷दुई मेट्रिक टनसम्म त यताउता हुन्छ तर १६ मेट्रिक टनसम्म बढी भारवहन गर्नु ठूलो जोखिम मोल्नु हो, यस्तालाई कडा कारबाही गर्नुपर्छ।’ आफूहरूले सञ्चालन गरेको धर्मकाँटामा तौल नै नगराई मालवाहक सवारीसाधन भाग्ने गरेको गुनासोसमेत अध्यक्ष दवाडीले गरे। ‘यसरी अत्यधिक बढी भारवहन गरिएको हुँदो रहेछ अनि किन तौल गराउन आउँथे,’ दवाडीले भने, ‘रोक्न खोज्दा ठक्कर नै दिउँला जसरी कुदाएर भाग्छन्।’

पूर्व–पश्चिम राजमार्गलगायत मुलुकका अधिकांश राजमार्गहरूको भार क्षमता ३५ मेट्रिक टनसम्म भए पनि सरकारले नै ७० मेट्रिक टन भारक्षमता भएका सवारीसाधनलाई समेत आयात गर्न दिँदा समस्या भइरहेको एक ट्राफिकले गुनासो गरे। ‘राजस्वको लोभमा सरकारले नै ठूला क्षमताका सवारीसाधन आयात गर्न दिन्छ अनि ट्राफिक नियमअनुसार कारबाही गर्नुपर्ने पनि हुन्छ। यो त पुरै द्विविधापूर्ण व्यवस्था भइहाल्यो नि !’ ती ट्राफिकले भने।

प्रकाशित: १५ वैशाख २०७६ ०३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App