coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धर्म प्रचारकको बिगबिगी बढ्दो

दाङ - क्रिस्चियन धर्म प्रचारप्रसारमा संलग्न दुई विदेशी नागरिकसहित प्रहरीले घोराहीबाट बुधबार पाँचजनालाई नियन्त्रणमा लियो। अमेरिकी नागरिक सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तवसहित पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र नेपालगन्जका प्रमोद काफ्लेलाई प्रहरीले ठूलो मात्रामा क्रिस्चियन धर्म प्रचार सामग्रीसहित नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेका एसपी बेलबहादुर पाण्डेका अनुसार प्रहरीले उनीहरूको साथबाट एक कार्टुन बाइबल पुस्तक, पैसा राखिएका खाम, दमका उपचार सामग्री, ल्यापटप, पेनड्राइभलगायत सामग्री बरामद गरेको छ।

बिनाअनुमति नेपालमा आएर धर्मको प्रचारमा खटिएकी सिनक्वान्टालाई प्रहरीले आफ्नै रोहवरमा काठमाडौं अध्यागमन कार्यालयमा पठायो। अमेरिका फिर्ताका लागि अनुरोधसहित अध्यागनमा पठाइएकी उनलाई त्यत्तिकै छाडिएको खबर आफूले पाएको एसपी पाण्डेले बताए। ‘हामीले प्रहरीकै रोहवरमा उनलाई अमेरिका फिर्ताका लागि अध्यागमन कार्यालयमा पठाएका हौँ,’ उनले भने, ‘मलाई लाग्छ, उनलाई त्यत्तिकै छाडिएको छ।’ पक्राउ परेका भारतीय नागरिकसहित चारजनालाई भने धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाइएको छ।

दबाबको पर्वाह नगरी प्रहरीले बढायो निगरानी

यसअघि अनलाइन स्टडीका लागि भन्दै जिल्लामा धर्म प्रचार गर्दै आएका दुई जापानी नागरिकलाई प्रहरीले निगरानीमा राखेको थियो। ‘हामीले उनीहरूलाई प्रहरीको सम्पर्कमा रहनू भनेर भनेका थियौं,’ एसपी पाण्डे भन्छन्, ‘कारबाही हुने डरले उनीहरू डेरै छाडेर भागे। हामीले उनीहरूबारे अनुसन्धान गरिरहेका छौं।’ यस्तै प्रहरीको निगरानीमा रहेकी अर्की एक अमेरिकन नागरिक पनि भागिरहेको उनको भनाइ छ।

प्रहरीको यो तथ्यांकलाई आधार मान्ने हो भने पनि जिल्लामा विदेशी नागरिकहरूको धर्म प्रचार निकै सल्बलाउँदै गएको छ। विभिन्न अध्ययनका नाममा जिल्लामा आउने र क्रिस्चियन धर्मको सञ्जाल विस्तार गर्ने विदेशी गिरोह निकै बढेको एसपी पाण्डे बताउँछन्। ‘हामीकहाँ धर्म प्रचारकहरूबारे धेरै जानकारी आइरहेको छ,’ उनले भने, ‘विभिन्न अध्ययनका नाममा जिल्ला आउने र क्रिस्चियन धर्मबारे प्रचारप्रसार गर्ने विदेशी नागरिकको गिरोह यसमा बढी संलग्न देखिएको छ।’

जिल्लामा मूलतः जापानी, कोरियाली र अमेरिकी नागरिकहरू धर्म प्रचारमा बढी सक्रिय छन्। सुषुप्त तरिकाले डेरा जमाएर बस्ने उनीहरू धर्म प्रचारका लागि जनशक्ति खटनपटनमा सक्रिय बन्ने गरेका छन्। यसैगरी स्थानीयलाई विभिन्न प्रलोभन देखाएर क्रिस्चियन धर्मप्रति आकर्षण गर्न उनीहरू बलिया प्रशिक्षक बनेर जिल्ला भित्रिएका हुन्छन्। यस्तो गतिविधि देउखुरी क्षेत्रमा अत्यधिक धेरै छ। लमही बजारलाई आश्रय थलो बनाएर धर्र्म प्रचारमा लागेका उनीहरूले विद्यालयलाई प्रमुख तारो बनाएका छन्। उनीहरूले विद्यालयमै पुगेर विद्यार्थीहरूलाई बाइबल थमाइदिने गरेका छन्। ‘धर्म प्रचारको धन्दा निकै मौलाएको छ,’ देउखुरीस्थित एक सामुदायिक विद्यालयका शिक्षकले भने, ‘विदेशी नागरिकहरू स्कुलमै आएर विद्यार्थीहरूलाई बाइबल बाँड्ने गर्छन्।’ दीनदुःखी बिरामीहरूलाई पनि उनीहरूले बढी प्राथमिकतामा पार्ने गरेका छन्। औषधि र आर्थिक रकमको प्रलोभन पारेर उनीहरू धर्मान्तरको दाउ रचिरहेका हुन्छन्।

यहोवाको राज्य घोषणै गरेर धर्म प्रचारको धन्दा चलाएका जापानी नागरिकहरूको ठूलो गिरोहले लमहीमा रहेको एउटा घर भाडामा लिएको छ। यहोवाको राज्यको अर्थ प्रभुको राज्य भन्ने हो। प्रभुको राज्यभित्र अन्य धर्मप्रति अस्थावान् नागरिक बस्न नपाउने भन्ने बाइबलमा उल्लेख छ। उक्त घरमा विदेशी नागरिकहरु आउजाउ गर्ने क्रम निकै बढेको स्थानीयहरूले बताएका छन्। उक्त घरनजिकैकी एक स्थानीय महिलाले भनिन्, ‘एउटा समूह जान्छ, फेरि अर्को समूह आउँछ, नयाँ–नयाँ मान्छे फेरिइरहन्छन्।’

जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले पनि देउखुरी क्षेत्र विदेशीहरूका लागि धर्म प्रचारको ठूलो अखडा बनेको जानकारी प्राप्त भएको बताउँछन्। ‘देउखुरी क्षेत्रमा झनै भयावह स्थिति छ भन्ने जानकारी पाएका छौं,’ उनले भने, ‘धर्म परिवर्तन गराउन प्रलोभनमा पार्नेहरूलाई छाड्दैनौं।’ विभिन्न प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन सक्रिय गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको अहिलेको घटना सायदै पहिलो हो। उपल्लो तहबाटै आउने राजनीतिक दबाबका कारण यस्ता धर्म प्रचारकहरू प्रशासनको नजरभन्दा बाहिरै थिए भन्ने प्रमाण अहिलेको पक्राउ घटनाले साबित गरिदिएको छ। एसपी पाण्डेले धर्म परिवर्तनको धन्दालाई नियन्त्रण गर्ने प्रयासमा आफू सक्रिय रहे पनि पछिल्लो पक्राउ घटनाले जाँगर मारेको बताउँछन्।

‘धर्म परिवर्तन गराउन प्रलोभन बाँडिएका धेरै घटना हामीकहाँ आएका छन् तर पछिल्लो समयमा जाँगर मरेको छ, यसको कारण तपाई आफैंले बु­झ्नुहोला।’ अहिले पक्राउ परेकाहरूलाई छुटाउन उच्च राजनीतिक तहबाट दबाब आएको चर्चा भइरहेको छ। एसपी पाण्डेले दबाबबारे केही नखुलाए पनि उनले आफूमाथि दबाब परेको आशय भने राखे। तथापि उनले यो दबाबको प्रवाह नगरी मुद्दा चलाएका छन्। ‘राजनीतिक शक्तिको दबाब कसरी कहाँ पर्छ भन्ने तपाईलाई पनि केही त थाहै छ,’ पाण्डे भन्छन्, ‘तथापि हामीले उनीहरूलाई मुद्दा चलाएका छौँ, अब यो विषयको निर्णय हाम्रो नभई अदालतको हातमा छ।’

प्रकाशित: १४ वैशाख २०७६ ०१:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App