१६ चैत्र २०८० शुक्रबार
समाज

कम्पनीलाई पर्यटक खोज्ने जिम्मा

सुर्खेत - कर्णाली प्रदेश सरकारले मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ शुभारम्भ ग¥यो। पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सुरु भ्रमण वर्षमा सरकारले कुनै उल्लेख्य गतिविधि भने गर्न सकेन। यहाँसम्म कि प्रदेश सरकारले कर्णालीमा आएका आन्तरिक तथा बाह्य पर्यटकको खोजी गर्न एक कम्पनीलाई जिम्मेवारी दिएको पाइएको छ।

वर्षभर पर्यटकीय गतिविधि सञ्चालन गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा मूल आयोजक समिति र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको संयोजकत्वमा पर्यटन वर्ष प्रवद्र्धन समिति गठन गरिएको थियो। एक वर्षको अवधिमा दुवै समितिले कुनै काम गरेनन्। यहाँसम्म कि प्रदेश सरकारले एक वर्षसम्म पर्यटन वर्षको सचिवालयसम्म राख्न सकेन।

२०७५ वैशाख १ गते कर्णाली–रारा पर्यटन वर्ष घोषणा गरेको सरकारले पर्यटकको तथ्यांक संकलन गर्न ललितपुरको ग्रोइनोभा कम्पनीसँग जेठ १० गते सम्झौता गरेको थियो। सो कम्पनीका लागि विज्ञको रूपमा काम गरेका हरिहर न्यौपानेले आफूूहरूले अघिल्लो आवको पर्यटन आवागमनको अवस्थाबारे अध्ययन गरेको बताए। ‘कर्णालीका १० मध्ये पाँच जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनको अवस्था अध्ययन गर्न जिम्मेवारी दिइएको थियो, हामीले १० वटै जिल्लाको अवस्था अध्ययन गरेर विभागीय मन्त्रालयलाई प्रतिवेदन दिएका छौं,’ न्यौपानेले भने, ‘त्यसैको आधारमा मन्त्रालयले एक वर्षको तथ्यांक निकालेको हो।’

आइतबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पत्रकार सम्मेलन गरी एक वर्षको अवधिमा कर्णालीमा चार लाख ५४ हजार आठ सय ६४ जना आन्तरिक तथा २१ हजार दुई सय ९१ जना बाह्य पर्यटकले कर्णाली भ्रमण गरेको बताएको छ। मन्त्रालयले मातहतका निकायसँग समन्वय गरी तथ्यांक संकलन गरेको बताए पनि सार्वजनिक तथ्यांक ग्रोइनोभा कम्पनीको हो। ‘हामीले बाह्य पर्यटकको संख्या अध्यागमन विभागबाट संकलन गरेका हौं, आन्तरिक पर्यटकको संख्या यकिन होइन,’ उनले भने, ‘अघिल्लो आवको तुलनामा बाह्य पर्यटकको संख्या केही मात्रामा बढेको देखिन्छ।’ अध्यागमन विभागको रेकर्डमा अघिल्लो आव कर्णालीमा १५ हजार आठ सय ६४ जना बाह्य पर्यटक आएको देखिन्छ। यो वर्षको चैत मसान्तसम्म ३४ दशमलव २ प्रतिशतले बाह्य पर्यटकको संख्या बढेको छ।

बाह्य पर्यटकको संख्या बढे पनि आन्तरिक पर्यटकको संख्या अघिल्लो वर्षकै अनुपातमा छ। ‘२०७४ साउनदेखि २०७५असारसम्म कर्णाली प्रदेशमा ९ देखि ११ लाख आन्तरिक पर्यटक आएको देखिन्छ,’ उनले भने, ‘चालू आवमा पनि सोही अनुपातमा आन्तरिक पर्यटकको गतिविधि बढ्ने अपेक्षा गरेका छौं।’ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा २०७५ वैशाख १ देखि २०७६ को सोही अवधिसम्म चार लाख ५४ हजार आठ सय ६४ जना पर्यटक आएको देखाएको छ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षले आफ्नो लक्ष्य भेट्टाएको बताए। ‘हामीले पाँच लाख पर्यटक भिœयाउने लक्ष्यका साथ प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा पर्यटन वर्षको शुभारम्भ गरेका थियौं,’ उनले भने, ‘लक्ष्यअनुसार आन्तरिक तथा बाह्य पर्यटक भिœयाउन हामी सफल भयौं।’ उनले अब संघीय सरकारले घोषणा गरेको भिजन २०२० लाई सफल पार्न लागिपर्ने बताए। यसका लागि कर्णालीका एक सय एक पर्यटकीय गन्तव्य घोषणा गर्न लागिएको छ।

प्रकाशित: १३ वैशाख २०७६ ०३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App