८ वैशाख २०८१ शनिबार
समाज

तलबले किनिदिए ज्येष्ठ नागरिकलाई लौरी

स्वच्छ दूध उत्पादन प्रशिक्षण कार्यक्रम हेर्न आएका ८० वर्षीय कपिलामणि दाहाल वडाध्यक्ष खजेन्चीबहादुर लामासँग। तस्बिर : नागरिक

बनेपा - पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी भए भन्ने आरोप छ। तर केही मनकारी जनप्रतिनिधि आफ्नो सुविधाभन्दा जनताको सेवामा बढी सन्तुष्टि मिल्ने भन्दै क्रियाशील छन्। त्यस्तैमध्येका एक हुन् काभ्रे, बेथानचोक गाउँपालिका वडा नं. ५ का अध्यक्ष खजेन्चीबहादुर लामा। वडाभरिका ज्येष्ठ नागरिकको सुविधाका लागि दुई लाख रुपैयाँको लौरी (लट्ठी) बाँडेर उनी चर्चामा आएका हुन्।

‘उहाँहरुको पहिलो सहारा भनेकै लट्ठी हो, त्यसपछि अरु सहाराले काम गर्छ भन्ने सोचेरै पहिलो चरणमा अढाई सय लट्ठी वितरण गरेको हुँ। गाउँपालिकाबाट मासिक पाउने तलब सुविधा ज्येष्ठ नागरिकको सेवामा लगाएको हुँ’, लामाले भने।
बेथान्चोक–५ का स्थायी बासिन्दा लामा सानै उमेरमा गाउँबाट कमाउन भनी काठमाडौं झरेका थिए। उनले अनेकौं हन्डर र ठक्करबीच ३० वर्षसम्म निरन्तर गलैंचा उद्योग चलाए। छोराछोरी पनि हुर्केबढेर आआफ्नो खुट्टामा उभिन सक्ने भएपछि लामा गाउँ फर्केका हुन्।

गत आर्थिक वर्षको तलबले ज्येष्ठ नागरिकलाई लौरी किनिदिएका वडाध्यक्ष खजन्चीबहादुर लामा चालू आर्थिक वर्षको तलबबाट चस्मा किनिदिने योजनामा छन्।

‘गाउँ फर्केर पूरै च्यासिङखर्कलाई अर्गानिक गाउँ बनाउने, स्वच्छ र गुणस्तरीय दूध उत्पादनको केन्द्र बनाउने योजना थियो। यसै क्रममा पार्टीले टिकट दियो र वडाअध्यक्षमा विजयी पनि भएँ। जनताको सेवा गर्छु भनेर हिँडेको मान्छेले किन जनताकै करबाट तलब खानु भनेर पाएको सबै पैसा सेवामा लगाएको हुँ’, लामाले थपे।
जनताको पैसा नखाने कसम खाएका लामा यतिखेर छोराछोरीले पठाइदिएको पैसाले दैनिकी चलाउँदैछन्। ‘आआफ्नो लाइनमा लागेका तीन छोरी र एक छोराले महिनाको १० हजारमात्रै पठाइदिँदा ४० हजार रुपैयाँ हुन्छ। यो पैसाबाट गाउँमा जत्ति खर्च गर्दा पनि मलाई बढी हुन्छ। बचेखुचेको पैसाले आपत्विपत्मा परेकालाई सघाउँदै आएको छु’, उनले भने।

अघिल्लो आर्थिक वर्षमा ज्यष्ठ नागरिकलाई लट्ठी बाँडेका लामाले चालू आर्थिक वर्षमा आएको सुविधाले सबै ज्येष्ठ नागरिकलाई चस्मा किनिदिने भएका छन्। ‘ज्येष्ठ नागरिकलाई मात्रै लक्षित गरी आँखा जाँच, सुगर, प्रेसर जाँच, इसिजी जाँच गराउनेछु। त्यसपछि प्रत्येक ज्येष्ठ नागरिकको आँखाको अवस्थाअनुसारको पावर भएको अलगअलग चस्मा वितरण गर्ने र मोतियाबिन्दुको अपरेसन गर्नुपर्ने भएमा समेत उहाँहरुलाई सहयोग गर्ने योजना छ। त्यही भएर हालसम्म आएको सुविधालाई बैंकमा अलग्गै राखेको छु’, लामाले भने।

ज्येष्ठ नागरिकको सेवामा समर्पित यी वडाध्यक्षले बिदेसिने मोह राखेका युवालाई गाउँमै टिकाइराख्ने उपायका रुपमा दूध उत्पादनमा सहभागी बनाउन थालेका छन्। यही क्रममा लामाले नेपाल डेरी एसोसिएसनको समन्वयमा स्वच्छ र गुणस्तरीय दूध उत्पादनका लागि गाउँमै प्रशिक्षण सञ्चालन गराएका छन्। ‘स्वच्छ र गुणस्तरीय दूध उत्पादनका लागि गाउँपालिकाबाट आउने बजेट पर्याप्त नभएको खण्डमा मेरै सुुविधा र परिवारको सहयोगमा यो अभियानलाई निरन्तरता दिँदै जान्छु’, उनले भने।

प्रशिक्षण कार्यक्रम हेर्न आएका बेथानचोक–५, च्याल्टीका ८० वर्षीय कपिलामणि दाहालले वडाध्यक्षले उपलब्ध गराएको लट्ठीको सहारामा आफखुसी हिँड्न मद्दत मिलेको अनुभव सुनाए। ‘खजेन्जीबाबुले लट्ठी दिएर सहारा दिनुभयो। अब आँखा धमिलो हुँदै गएको छ। यसको पनि चाँडो उपचार गराइदिनुहोस्’, उनले थपे।

प्रकाशित: १३ वैशाख २०७६ ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App