२१ असार २०७७ आइतबार
समाज

सहरको फोहोर सीधै तिनाउमा

बुटवल - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल फागुन २ गते बुटवलको सडक सरसफाइमा जुटे, नालीमै पसेर फोहोर टिपे। उनीसँगै सरकारी उच्च अधिकारी तथा बुटवल नगरपालिकाका मेयर–उपमेयरसहितको टोलीले बिहानभरि संकलन गरेको फोहोर तिनाउ नदीको किनारमा लगेर फालियो। प्रदेश स्थापनाको अवसर पारेर सरकारले फागुन २ गतेदेखि सफा र स्वस्थ प्रदेश अभियानको सुरु गरेको छ।

तर प्रदेश मुकाममै फोहोर व्यवस्थापनको उचित प्रबन्ध हुन नसक्दा अभियानले सफलता हासिल गर्नेमा आशंका छ। नदीकिनारमा फोहोर फालिँदा तिनाउ, डन्डा, दानव, रोहिणी नदीमा प्रदूषण बढेको छ। बुटवल उपमहानगरपालिकाले दैनिक रूपमा जम्मा हुने ५४ टन फोहोर सुकुमबासी बस्तीनजिकैको तिनाउ नदीकिनारमा फ्याँक्ने गरेको छ। उपमहानगरले नदी प्रणालीलाई असर नगर्नेगरी ‘कन्ट्रोल्ड डम्पिङ’ गरेको दाबी गरे पनि हात्तीसुँडमा भने नदी बहाव क्षेत्रमै कुहिने–नकुहिने सबै प्रकृतिको फोहोर फालिन्छ। फोहोरले फैलिने दुर्गन्ध, झिँगा र लामखुट्टेका कारण सुकुमबासी बस्तीमा बसिनसक्नु हुन्छ। वर्षामा कुलो–नहरमार्फत प्लास्टिक तथा सिसाजन्य फोहोर किसानका खेतमा पुग्छ। त्यसले उत्पादन प्रणालीलाई नै असर गरिरहेको स्थानीय अगुवा किसान बताउँछन्।

बुटवल उपमहानगरपालिका सरसफाइ तथा फोहोर व्यवस्थापन शाखाका प्रमुख दामोदर ज्ञवालीले भने अन्यत्रको तुलनामा बुटवलले फोहोरको उचित व्यवस्थापन गरेको दाबी गरे। फोहोरलाई बालुवा माटोले पुरेर झिँगा नियन्त्रणका लागि नियमित औषधि छर्केको उनले बताए। तर हात्तीसुँडवासी ६० वर्षीय नरबहादुर थापाले पाँच महिनादेखि नगरपालिकाले सो क्षेत्रमा औषधि नछर्केको सुनाए।

कानुनले नै नदी–तलाउमा ठोस तथा झोलजन्य फोहोर फाल्न प्रतिबन्ध लगाएको छ। तर व्यवहारमा स्थानीय सरकारले नै नदीकिनारलाई फोहोर संकलनको थलो बनाइरहेको छ।

कानुनले नै नदी तलाउमा ठोस तथा झोलजन्य फोहोर फाल्न प्रतिबन्ध लगाएको छ। तर व्यवहारमा स्थानीय सरकारहरूले नै नदीकिनारलाई फोहोर डम्पिङ साइट बनाइरहेका छन्। लुम्बिनीको गेट–वे सहर सिद्धार्थनगरमा नगरभित्रैबाट बग्ने डन्डा नदीलाई डम्पिङ साइट बनाइएको छ। जसले नदी र आसपासको क्षेत्र दुर्गन्धित बनेको छ। त्यसकै कारण डन्डाको पानी बाह्रैमास कालो देखिन्छ। भैरहवामा दैनिक करिब ४० टन फोहोर संकलन हुन्छ। ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमाको नारासहित सघन सरसफाइ कार्यक्रम गर्दै आएको तिलोत्तमा नगरपालिकाले तिनाउ र सामुदायिक वनमा फोहोर फाल्छ। तिनाउलाई प्रदूषित हुन नदिन नदी बहावदेखि पाँच सय मिटर वरै फोहोर फालिएको वातावरण शाखाका इन्जिनियर गिरिराज डुम्रेले बताए।

कुहिने र नकुहिने फोहोर छुट्याई उचित व्यवस्थापन गरिएको र नदीलाई प्रदूषणबाट जोगाइएको दाबी उनको छ। नगरले फोहोर संकलन नगर्दा स्थानीयले नहर, कुलो र सडक छेउमा फोहोर फालिदिन्छन्। देवदह, लुम्बिनी र सैनामैना नगरपालिकामा तुलनात्मक रूपमा समस्या कम देखिए पनि जनघनत्व बढ्दै जाँदा भविष्यमा यो समस्या जटिल बन्ने निश्चित छ।

फोहोरकै वैज्ञानिक व्यवस्थापन नगरिँदा नदी र वन क्षेत्र दुर्गन्धित छ। उपल्लो क्षेत्रमा नदीकिनारलाई डम्पिङ साइट बनाउँदा त्यसको असर तल्लो क्षेत्रसम्म पर्ने वातावरणविद् बताउँछन्। नदी बहाव क्षेत्रको कम्तीमा पाँच सय मिटरवरपर फालिएको फोहोरले नदी र रिसाइकल हुने जमिनमुनिको पानीलाई समेत प्रदूषित बनाउने भूगोल तथा वातावरणबिद डा. भोजराज कडेरियाले बताए। सहरका गल्ली र बाटो बढारेर मात्रै नगर र प्रदेश स्वच्छ नहुने भएकाले फोहोरको वैज्ञानिक व्यवस्थापनमा ध्यान दिन उनले सुझए। फोहोरको उचित र दीर्घकालीन व्यवस्थापनका लागि प्रशोधन केन्द्रभन्दा प्रभावकारी र बहुपयोगी योजना बनाउन सकिने बताए। ‘फोहोरलाई मोहोरमा परिणत गर्न सक्ने दीर्घकालीन र बहुउपयोगी आयोजना ल्याउनुपर्छ,’ बुटवल बहुमुखी क्याम्पसका प्राध्यापकसमेत रहेका कडेरियाले भने, ‘कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन सकिन्छ। नकुहिने फोहोरबाट ऊर्जा निकाल्न सकिन्छ।’

फोहोर प्रशोधन केन्द्रको ५९ करोड फिर्ता

पछिल्लो समय स्थानीय तहले सरसफाइ अभियानलाई मुख्य उपलब्धिका रूपमा अथ्र्याउँदै आएका छन्। तर सातामा एक दिन सहर र सडक बढारेर मात्रै सरसफाइ अभियान सार्थक नहुने निश्चित छ। संकलित फोहोरको सुरक्षित तथा वैज्ञानिक व्यवस्थापन गरिनुपर्छ। तर त्यसका लागि स्थानीय तहले उपलब्धिमूलक काम गरेका छैनन्। कतै स्थान अभाव र कतै स्थानीयको विरोधले प्रशोधन केन्द्र निर्माण हुन नसकेको हो। नगरपालिका र स्थानीयबीच समन्वय अभावका कारण प्रशोधन केन्द्रका लागि जिल्लामा आएको झन्डै ५९ करोड लगानी यो वर्ष फिर्ता गएको छ। २७ करोडमा बनाउने भनिएको बुटवलको प्रशोधन केन्द्रको काम सात वर्षसम्म अगाडि नबढेपछि एडिबीले यसै वर्ष लगानी फिर्ता लगेको हो। प्रशोधन केन्द्रका लागि बुटवल–७ को शिवनगर वनमा पाँच हेक्टर जमिन तारबार गरिएको छ।
बक्स

खेलमैदानमा फोहोरको थुप्रो
खोटाङ - जिल्लाको माटिकोरे खेल मैदान दुर्गन्धित भएको छ। जिल्लामा खेलकुद प्रतियोगिता सञ्चालन हुँदै आएको माटिकोरे खेलमैदान फोहोर थुपारिएका कारण दुर्गन्धित भएको हो। फोहोरमैला खेलमैदानमा यत्रतत्र देखिन्छ।

खेलमैदानमा सिसालगायत फोहोर थुप्रिएका कारण खेलाडी जोखिम मोलेर खेल खेल्न बाध्य भएको खेलकुद विकास समिति खोटाङका अध्यक्ष माइतीराज राईले बताए। खेलमैदानमा झर्ने भलबाढी रोक्न खेलमैदानभन्दा माथिबाट केही वर्षअघि सिमेन्टेड नाली निर्माण गरिएको छ। तर, भेलले बगाएर ल्याउने फोहोरमैलाले नाली थुनिएपछि फोहोर नालीबाट बाहिरिएर खेलमैदानमा पुग्ने गरेको छ। भेलले थुपारेको फोहोर नहटाइँदा मैदान दुर्गन्धित बनेको हो। बजेट खर्च भएअनुसार नाली व्यवस्थापन प्रभावकारी नहुँदा वर्षा याममा खेलमैदान हिलाम्मे हुने गरेको नेपाल सितारियो कराते खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए।

साबिकको सदरमुकाम दिक्तेलकै ठूलो र पायक पर्ने स्थानमा रहेको माटिकोरे खेलमैदान सरस्वती मावि मातहत छ। खोटाङ फुटबल एकेडेमीले खेलमैदान भाडामा लिएर खेलाडीलाई अभ्यास गराउँदै आएको छ। फुटबल, भलिबल, सितारियो करातेलगायत प्रतियोगीताका लागि माटिकारे खेलमैदानलाई नै उपयोग गरिएको छ।

 

 

माटिकोरे खेलमैदानमा थुप्रिएको फोहोर। तस्बिर ः दमन राई÷नागरिक

तस्बिर ः
बुटवल उपमहानगरपालिका–११, हात्तीसुँडस्थित तिनाउ नदीकिनारमा फोहोरको डुंगुर। तस्बिर ः रेखा÷नागरिक

प्रकाशित: ११ वैशाख २०७६ ०६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App