coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रानीबारीमा लुटपाट गर्ने पक्राउ

काठमाडौं – काठमाडौं उपत्याकमा दिउँसै लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२९ रानीबारीबाट प्रहरीले लुट्न प्रयोग भएको ट्याक्सी र कारसहित तीन जनालाई पक्राउ गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले लुटेरा समूहलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका–८ मातातीर्थका ३८ वर्षीय नवराज तामाङ, चन्द्रागिरी–८ मातातीर्थकै ३६ वर्षीय विक्रम श्रेष्ठ र नुवाकोटको बेलकोटगढी नगरपालिका–४ कथुरानी घर भई नैकाप बस्दै आएका २८ वर्षीय दिपेश भनिने सन्तबहादुर तामाङ रहेका छन्। उनीहरुले बा२ज ३०६१ नम्बरको ट्याक्सी र बा३च ७१६४ कलेजी रङको कार प्रयोग गर्दै लुटपाट गरेका थिए।

‘हामीले उनीहरुको साथबाट लुटपाटमा प्रयोग एउटा ट्याक्सी पनि बरामद गरेका छौ,’ महाशाखा प्रमुख प्रहरी उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले भने। उनका अनुसार सो समूहले गत चैत २६ गते दिउँसो रानीबारीस्थित लालेन्द्र शेरचनको घरमा लुटपाट गरेका थिए। सो घरमा सुनका गरगहना भएको थाहा पाएपछि योजना नै बनाएर लुटपाट गरेको एसएसपी सिंहले बताए।

‘घरधनी लालेन्द्र शेरचन, उनकी श्रीमती भानुदेवी शेरचन र घरमा काम गर्ने मिठु थकालीलाई नियन्त्रणमा लिएर लुटपाट गरेका हुन्,’ एसएसपी सिंहले भने। उनका अनुसार लुटपाट गर्न ६ जनाको समूहमा लुटेरा रानीबारी गएका थिए। ‘घरका तीनै जनालाई हातखुट्टा बाँधेर लुटेका रहेछन् समूहमै गएर हतियार देखाउँदै नियन्त्रणमा लिएर लुटपाट गरेका रहेछन्’, एसएसपी सिंहले भने। सो समूहले हातखुट्टा बाँधेपछि शेरचन परिवारको मुखमा टेप लगाएका थिए। दराजमा भएको गरगहना र नगद गरी उनीहरुले ५ लाख ६० हजार रुपैयाँ बराबरको सामान लुटेका हुन। प्रहरीले लुटेराको साथबाट सुनको तिलहरी बरामद गरेको छ भने अन्य गरगहना भने फेला पारेको छैन। लुटपाटमा संलग्न ३ जना अझै फरार छन्।

प्रकाशित: ९ वैशाख २०७६ ०४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App