१६ चैत्र २०८० शुक्रबार
समाज

ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

उदयपुर– उदयपुरमा गएराति ट्याक्टरको ठक्करबाट एक युवाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका ७ स्थित चुहाडे झोडास्थित निर्माणाधीन मदन भण्डारी लोकमार्गमा एउटाले अर्को ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा लागेको ठक्करबाट मोटरसाइकल चालक कालीदास भण्डारी (कृष्ण) को मृत्यु भएको प्रहरीले जनाएको छ। 

उदयपुरगढी गाउँपालिका ६ स्थायी घर भएका ३८ वर्षीय भण्डारी लु ४९ प ४०७४ नम्बरको मोटरसाइकलमा गाईघाटतर्फ आउँदै गर्दा लु ३ त ४४४९ नम्बरको ट्याक्टरले राति शुक्रबार राति ८ः३० वजे ठक्कर दिदा गम्भीर घाइते भएका थिए। घट्नालगत्तै उपचारार्थ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएका उनको राति १०ः३० मा मृत्यु भएको आफन्तलाई उद्धृत गर्दैै जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए। 

जिल्ला ट्राफिक प्रहरीका अनुसार गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेकोे ट्याक्टरले सोही दिसातर्फ गईरहेको अर्को ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा भण्डारी सवार मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। मृतकको शव धरानमै पोष्टमार्टम गरी आफन्तलाई जिम्मा दिने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। ट्याक्टर चालक सुनिल स्मृति गाउँपालिका ८ अडेसका २२ वर्षीय धनबहादुर मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ। 

उदयपुरमा चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ट्याक्टर दुर्घटनाबाट मृत्यु हुनेको संख्या ११ पुगिसकेको छ। जिल्ला ट्राफिक इन्चार्ज दिनेश चौधरीका अनुसार गत साउनयता मोटरसाइकल दुर्घटनामा परी ८ जनाको ज्यान गइसकेको छ भने टिफर र ट्रकको ठक्करबाट ५ जनाको ज्यान गईसकेको छ। जिप दुर्घटनामा एक, बस र अटो रिक्सा दुर्घटना एक÷एकको ज्यान गइसकेको अभिलेख ट्राफिकसँग छ। 

चौधरीका अनुसार यो अवधिमा विभिन्न खाले सवारी साधनका ९० दुर्घटना भएका छन्। गम्भीर घाइते हुनेको संख्या ५० नाघिसकेको छ भने एकसयभन्दा बढी सामान्य घाइते भएको तथ्यांक ट्राफिक कार्यालयसँग रहेको छ। 

प्रकाशित: ७ वैशाख २०७६ १०:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App