१६ चैत्र २०८० शुक्रबार
समाज

सेनाद्वारा विद्यालय भवन हस्तान्तरण

सर्लाही – नेपाली सेनाले मुस्लिम र दलित समुदायका बालबालिका मात्र अध्ययन गर्ने एक जीर्ण विद्यालय भवन मर्मत–सम्भार गरी हस्तान्तरण गरेको छ।

मलंगवा नगरपालिका–११ पल्सीस्थित एक आधारभूत विद्यालयको दुईकोठे भवन जीर्णोद्वार गरी शुक्रबार विद्यालय व्यवस्थापन समिति एवं प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको हो। दुईकोठे सो विद्यालय भवनमा प्लास्टर, रङरोगन र झ्यालढोका जडान गरी हस्तान्तरण गरिएको पाँचकुमारीस्थित रणशेर गणका गणपति प्रमुख सेनानी मीनराज तिवारीले जानकारी दिए।

नेपाली सेनाको २८ नम्बर बाहिनी जितपुर बाराका निमित्त बाहिनीपति महासेनानी सुनिल श्रेष्ठको उपस्थितिमा विद्यालय भवन हस्तान्तरण गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, मलंगवा नगरपालिकाका प्रमुख निरसल साह, उपप्रमुख शवनम मिकरानी, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईलगायतको उपस्थिति थियो।

जीर्णोद्धार गरिएकाबाहेक अन्य दुई भवनमा समेत रङरोगन गरिएको र नयाँ शौचालय बनाइएको सेनाले जनाएको छ। दुई सय ५० जना मुस्लिम र दलित बालबालिका अध्ययन गर्ने विद्यालयमा सेनाले जीर्णोद्धारको काम गरेर प्रशंसनीय काम गरेको भन्दै विद्यालयका प्रधानाध्यापक नागेश्वर रायले धन्यवादसहित सेनालाई कदरपत्रले सम्मान गरे।

प्रकाशित: ७ वैशाख २०७६ ०३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App