coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँपालिका ठप्प पारी सरकारी बजेटमा पारिवारिक घुमघाम

भ्रमणमा गएका सानीभेरी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु। तस्बिर : नागरिक

रुकुम - रुकुम (पश्चिम) को सानीभेरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमारी रिमा मल्ल हुन्। उनका पती यहि गाउँको एक विद्यालयका शिक्षक हुन्। गाउँपालिकाले आयोजना गरेको भ्रमणमा मल्लले आफ्ना पती नरेन्द्र चन्द र दुई बच्चालाई आफुसंगै पाँच दिनसम्म विभिन्न ठाउँमा घुमाइन्। भारतको दार्जिलिङ्ग देखी नेपालका विभिन्न सहरमा भ्रमण गर्दा सबै खर्च गाउँपालिकाबाट नै व्यहोरिएको छ।

सोही गाउँपालिकामा कार्यरत नायव सुब्बा खिमप्रकाश शाहकी पत्नी पनि गाउँपालिकाकी कर्मचारी होइनन्। सुब्बा शाहले पनि पत्नी र एक छोरालाई आफुसंगै पाँच दिनसम्म घुमाए। उनको पनि भ्रमणको सबै खर्च गाउँपालिकाले नै व्यहोरेको छ। गत चैत ३० गतेदेखि बैशाख ३ गतेसम्म सञ्चालन भएको भ्रमणमा यहाँका जनप्रतिनिधि र कर्मचारी परिवारको अन्य सदस्यलाई पनि घुमाएका छन्। गाउँपालिका अध्यक्ष नरबहादुर पुनको नेतृत्वमा यहाँका जनप्रतिनिधि र कर्मचारीको भ्रमणका क्रममा कर्मचारीहरुले आफ्न्तलाई घुमाएको बताइएको छ।

आफ्नो पदको दुरुपयोग गर्दै कर्मचारीले आफ्ना परिवारका सदस्यलाई घुमाएको भन्दै चर्को विरोध सुरु भएको छ। सरकारी बजेटको दुरुपयोग गरेर जनताको सेवा प्रभावित गरेर पारिवारीक घुमघाम गरेको स्थानीयवासी तिलक डाँगीले बताए। आफुहरुले तिरेको करबाट कर्मचारी तथा जनप्रतिनिधिहरुले पारिवारिक घुमघाम गरेको उनको आरोप छ। गाउँपालिकाको कार्यालय रितो बनाएर कार्यालय सहयोगीदेखि गाउँपालिका अध्यक्षसम्म भ्रमणमा गएकाहरुले आफन्तलाई घुमाउने काम मात्र गरेको उनले बताए।

स्थानीय सरकारले प्रवाह गर्ने दैनिक कार्यलाई समेत प्रभावित हुने गरेर पारिवारिक भ्रमण गर्नु गलत भएको डाँगीको भनाई छ। भ्रमणमा सहभागी भएका पदाधिकारी तथा कर्मचारी र तिनका परिवारका व्यक्तिके सबै खर्च गाउँपालिकाले नै व्यहोरिएपछि स्थानीहरुले विरोध गरेका हुन्। दुई वटा गाडी रिर्जभ गरेर उनीहरु भ्रमणमा गएका थिए। उनिहरु जल्ला बाहिर भ्रमणमा गएपछि यहाँ सेवाग्राही खाली फर्कनु परेको थियो। कार्यालय नै खाली गरेर भ्रमण गर्न गएपछि सेवाग्राहीलाई सास्ती भएको हो। गाउँपालिकामा निकै कामको चाप हुने समयमा कार्यालय रितो बनाएर भ्रमणमा जानु गलत कार्य भएको नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषद सदस्य शरुण बाँठाले टिप्पनी गरेका छन्।

गाउँमा सञ्चालन भइरहेका विभिन्न योजनाको रकम भुक्तानी दिनु पर्ने समयमा कर्मचारीहरुलाई बोकेर गाउँपालिकाको अध्यक्ष नै भ्रमणमा जाने काम गलत भएकाले सार्वजनिक रुपमा माफि माग्नु पर्ने उनको माग छ। गाउँपालिका अध्यक्ष पुनका साथै उपाध्यक्ष इन्दीरा ओली, प्रमुख प्रशासकीय अधिकृत मल्ल, इन्जिनियर मोहनकुमार ओली, नायव सुव्बा शाह र मिनाराम केसी, सूचना प्राविधि अधिकृत नविन चौधरी, सहायक लेखापाल कविन्द्र पुन, वडा नं। ७ का वडाध्यक्ष कुलबहादुर बुढाथोकी लगायतका १८ जना कर्मचारी तथा जनप्रतिनिधि र तिनिहरुको आफ्न्त कार्यालय खाली गराएर भ्रमणमा गएका थिए।
भ्रमणको क्रममा कति खर्च भएको छ भन्ने कुराको एकिन जानकारी नआएको गाउँपालिकाले जनाएको छ। सबै ठाउँको खर्च विवरणको हिसाब हुँदै गरेकाले केहि समय पछि एकिन खर्चको जानकारी हुने बताइएको छ। सरकारी बजेटको दुरुपयोग गरेर परिवारका सदस्यलाई लिएर आफ्नो इच्छा पुरा गर्नको लागि भ्रमणमा गएकाले कानुन अनुसार कारबाही हुनुपर्ने स्थानीयवासीको माग छ। रकम भुक्तानी, योजनाको अनुगमण, विद्यार्थी भर्ना लगायतका महत्वपूर्ण कार्यक्रम छोडेर भ्रमण गएर राज्यको सम्पत्तिको दुरुपयोग गरेको अर्का स्थानीयवासी धर्मबहादुर खड्काले बताए। भ्रमणमा गएकाहरुले आफ्ना पती, पत्नी तथा छोराछोरीलाई समेत सरकारी सम्पत्तिमा घुमाएका थिए।

प्रकाशित: ६ वैशाख २०७६ ०७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App