४ वैशाख २०८१ मंगलबार
समाज

‘ग्रेस मार्क’ का भरमा कक्षा चढ्दै विद्यार्थी

रोल्पा - रोल्पा जिल्लाको शैक्षिक अवस्था अत्यन्त कमजोर बन्दै गएको तथ्य भर्खरै प्रकाशित भएको कक्षा ८ को नतिजाले देखाएको छ। प्रत्येक स्थानीय तहले संचालन गरेको गाउँपालिका स्तरीय परीक्षाको नतिजा सन्तोष जनक नदेखिएपछि शैक्षिक अवस्था कमजोर भएको शिक्षा क्षेत्रका जानकारहरु बताउँछन्। स्थानीय तह भित्र शिक्षाको जिम्मेवारी पाएका शिक्षा शाखा प्रमुखहरुले नै नतिजा सन्तोष जनक नरहको स्वीकारेका छन्। उनीहरुका अनुसार स्थानिय सरकारले शिक्षा क्षेत्रमा प्रयाप्त चासो नदिएका कारण यहाँको शैक्षिक अवस्था खस्किदै गइरहेको छ।

करिब ८ हजार बढीले दिएको बार्षिक परीक्षामा जिल्ला भरबाट एक जनाले मात्र ‘ए प्लस’ ल्याएका छन। यहाँ कक्षा ८ मा १ जनाले ‘ए प्लस’ र १२ जनाले ‘ए’ ल्याएपछि  शिक्षाको अवस्था खस्कएको पुष्टि भएको छ। धेरै बिद्यालयको नतिजा शुन्य आउने भए पछि नगरपालिकाले ६० नम्बर ‘गे्रस मार्क’ थपेर  विद्यार्थीहरुलाई कक्षा चढाएको जनाएको छ। यहाँका सरकारी र निजि विद्यालयहरुको नतिजा अत्यास लाग्दो देखिएपछि अभिभावकहरु बच्चाको भविष्यलाई चिन्तित भएका छन्। ‘पोहर भन्दा राम्रो छ तर पनि समग्रतामा नतिजा राम्रो होईन। सुधार गर्नु पर्ने धेरै छ।’ रोल्पा नगरपालिकाका शिक्षा शाखा प्रमुख राजेश धिताल भन्छन ‘सात सय ९७ जनाले जाच दिएकोमा अधिकांशलाई ग्रेस मार्क दिएर कक्षा चढाइएको छ।

हामीले प्रति विद्यार्थी ६० नम्बर ग्रेस दिएका छौ।’ नगरपालिका क्षेत्रमा गत बर्षको भन्दा राम्रो नतिजा देखिएको भए पनि ग्रेस मार्क नदिएको भए यसपालि पनि धेरै विद्यालयको नतिजा शुन्य आउने अवस्थामा रहेको थियो। त्यसो त नगरपालिकाको जस्तै अन्य ९ गाउँपालिकाको शैक्षिक अवस्था झनै कमजोर देखिएको छ। थवाङ गाउँपालिकाले नराम्रो नतिजाआउने भए पछि आपसी सल्लाहले सम्बन्धित विद्यालयल नै परीक्षार्थीहरुलाई नम्बर थपेर कक्षा बढाइएको बताएको छ।

अर्को सुगम स्थानीय तह भनेर चिनिएको सुनिल स्मृती गाउँपालिकाको नतिजा पनि अत्यास लाग्दो छ। ‘ए प्लस’ एक जनाले पनि नल्याएको यहाँ पनि केहि बिद्यालयको नतिजा शुन्य हुने भए पछि ग्रेस मार्क थपिएको हो। ‘ग्रेस नदिने हो भने त केहि बिद्यालयमा कक्षा ९ मा बिद्यार्थि नै नहुने भए पछि सम्बन्धीत बिद्यालयलाई नै नम्बर थप्ने जिम्मा दिएका हौ।’ गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशब राज पोख्रेलले भने ‘नतिजा चित्त बुझ्दो छैन। धेरै सुधार गर्नु पर्ने देखिन्छ।’

त्यस्तै लुङग्री गाउँपालिकाको स्थीती पनि उस्तै छ भने दुर्गम भनेर चिनिएको सुनछहरी गाउँपालिकाको अबस्था झनै कमजोर छ। यहाँ पनि बिद्यालयहरुको नतिजा शुन्य हुने भए पछि ५० नम्बर बढी ग्रेस मार्क थपेर विद्यार्थीहरुलाई कक्षा बढाइएको छ। ‘ए प्लस’  हुने कुरै भएन ए पनि होला जस्तो लाग्दैन। साह्रै कमजोर नतिजा छ।

परम्परागत शैलीमा ग्रेस नम्बर थप्दै कक्षा चढाउदै गरेका छौ। विद्यार्थीहरुलाई नम्बर नथप्ने हो भने त नौ कक्षामा विद्यार्थी नै नहुने अबस्था छ।’ सुनछहरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख नारायण गिरिले बताए। शैक्षिक सुधारका हिसाबले अब्बल भनेर चिनिएको त्रिबेणी गाउँपालिकाको नतिजा पनि अत्यास लाग्दो छ। धेरै विद्यार्थी बाहिरिने देखेपछि यहाँ ९० नम्बर सम्म ग्रेस मार्क थपिएको थियो। ‘पोहर भन्दा सुधार त छ तर पनि सन्तोष जनक छैन। ‘ए प्लस’ त कसैले ल्याएन। ए सम्म कसैको छ कि हेर्नु पर्ने छ।’ गाउँपालिकाका शिक्षा शाखा प्रमुख रेगम जिसिले बताए। अर्को दुर्गम भनेर चिनिएको परिबर्तन गाउँपालिकाको पनि अवस्था उस्तै छ। ‘हाम्रोमा पनि सुधार गर्नु पर्ने देखियो। गतिलो नतिजा आएन।’ गाउँपालिका प्रमुख निमकान्त डागिले भने ‘साह्रै कमजोर देखियो। अब शैक्षिक क्षेत्र सुधारका लागि थप केहि गर्ने सोचमा छु।’

गत सालमा जस्तै सबै स्थानिय तहका प्रमुखहरुले शिक्षा सुधार गर्न पहल गर्ने बताई रहे पनि परिबर्तन भने देखिएको छैन। ‘सुधार गर्नु पर्ने देखिएको छ। नयाँ योजनाका साथ अगाडि बढाउने सोचमा छौ। दरबन्दी मिलान र शिक्षक ब्यबस्थापनमा पनि ध्यान दिनुपर्ने देखियो। अर्को शैक्षिक सत्रमा थप सुधार देखिने गरि काम गर्नेछौ।’ सुनिल स्मृती गाउँपालिका प्रमुख गुणेन्द्र घर्तीले बताए। त्यसो त अन्य स्थानिय तहका प्रमुखहरुले पनि शैक्षिक सुधारमा ध्यान दिने बताएका छन।

प्रकाशित: ६ वैशाख २०७६ ०६:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App