coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शिक्षकलाई हाजिर नगराउन नगरपालिकाको उर्दी

इलाम - आन्तरिक प्रतिस्पर्धाबाट स्थायी भएका शिक्षकलाई हाजिर नगराउन सूर्याेदय नगरपालिकाले नगरभित्रका विद्यालयलाई सूचित गरेको छ। स्थानीय तहसँग समन्वय नै नगरी जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले विद्यालयहरूमा शिक्षक पठाएको भन्दै नगरपालिकाले नियुक्ति लिएर पुगेका शिक्षकलाई हाजिर नगराउन भनेको हो। नगरपालिकाले शिक्षक नियुक्तिको बोधार्थसमेत एकाइले आफूलाई नदिएको जनाएको छ।

नगरपालिकाले आफ्नै नगरका कुन विद्यालयमा कति र कुन तहका शिक्षक छन् भन्ने जानकारी नहुँदा तलब–भत्ता दिन समस्या हुने पनि जनाएको छ। नगरपालिकाका मेयर रणबहादुर राईले स्थानीय तहसँग समन्वय नै नगरी शिक्षक पठाउँदा उनीहरूको लगत स्थानीय तहमा नरहने बताए। ‘कुन विद्यालयमा कुन तहका कति शिक्षक आए भन्ने रेकर्ड नभई हामीले तलब–भत्ता कसरी पठाउने ?’ उनले भने, ‘कम्तीमा बोधार्थ दिएर शिक्षक पठाएको भए जानकारीसम्म त हुनेथियो।’ मेयर राईले नगरका कुन विद्यालयमा शिक्षक आवश्यक छ, कुनमा छैन भन्नेबारे शिक्षा एकाइले नगरसँग समन्वय नै नगरेको बताए। ‘दरबन्दी नै नरहेका विद्यालयमा समेत जिल्लाबाट शिक्षक पठाइएका छन्, कहाँ कुन विषयको शिक्षक आवश्यक छ भन्ने थाहा नभई सोझै शिक्षकलाई हाजिर गराउँदा भोलि तलब–भत्ता कसले दिन्छ ?’ उनले भने, ‘यो त पुरानै व्यवस्थाको धङधङीबाहेक अरू केही होइन।’

उनले शिक्षा एकाइले नगरमा कति शिक्षक पठाएको छ, कति पठाउन बाँकी छ, कहाँ पठाउने हो भन्ने केही जानकारी नगरपालिकासँग नभएको बताए। ‘कहाँ कुन विषयको शिक्षक दरबन्दी रिक्त छ, कहाँ पदपूर्ति गर्नुपर्छ भन्नेबारे स्थानीय तहसँग शिक्षा एकाइले छलफल नै गरेन,’ उनले भने, ‘समन्वय एकाइले समन्वय मात्रै गर्ने हो, फलानो ठाउँमा फलानो शिक्षक जा भनेर मनगढन्ते हिसाबले पठाउनु भएन।’
सूर्याेदय नगरपालिकामा जनप्रतिनिधि आएपछि प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका ३३ शिक्षक करारमा नियुक्त गरिएको थियो। स्थानीय शिक्षा नियमावलीअनुसार नगरले ती शिक्षक नियुक्त गरेको थियो। तर, संघीय सरकारले ल्याएको शिक्षा ऐनसँग स्थानीय शिक्षा नियमावलीको व्यवस्था फरक परेपछि संघीय सरकार र स्थानीय सरकारबीच तिक्तता बढेको छ।

स्थानीय शिक्षा नियमावलीअनुसार नियुक्त गरिएका करार शिक्षकको विवरण पनि सूर्याेदय नगरपालिकाले जिल्लास्थित शिक्षा विकास एकाइमा नपठाएको एकाइले जनाएको छ। तर, करारमा नियुक्त गरिएका शिक्षकको लगत पठाउँदा एकाइले लिनै नमानेको नगरपालिकाको भनाइ छ। ‘हामीले करारमा नियुक्त गरेका शिक्षकको जानकारी शिक्षा एकाइमा पठाउँदा उसले बुझ्नै मानेन,’ नगरपालिकाका एक कर्मचारीले भने, ‘लगत पठाउँदा नबुझ्ने अनि शिक्षक कायम रहेकै ठाउँमा अर्काे शिक्षक पठाउने र नगरले तलब–भत्ता खुवाउनुपर्ने ? यस्तो त मिल्दै मिलेन।’

स्थानीय तह गठनपछि गृह मन्त्रालयअन्तर्गत ल्याइएको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइलाई सरकारले भर्खरै शिक्षा मन्त्रालयअन्तर्गत नै रहने व्यवस्था गरेको छ। र, शिक्षकको नियुक्ति जिल्ला समन्वय एकाइबाटै हुने व्यवस्था रहेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख होम भण्डारीले बताए। ‘स्थानीय तहले करारमा नियुक्त गरेका शिक्षकको रेकर्ड हामीसँग छैन,’ उनले भने, ‘एकाइमा भएको रेकर्डअनुसार जहाँ शिक्षक आवश्यक छ, स्थायी शिक्षक त्यहाँ पठाइएको हो।’

भण्डारीले स्थायी नियुक्ति लिएर विद्यालय जाने शिक्षकलाई सम्बन्धित स्थानीय तहका लागि उसको नियुक्तिको बोधार्थसमेत पठाउने गरिएको बताए। ‘सम्बन्धित शिक्षकले यहाँबाट लगेको आफ्नो नियुक्तिको जानकारीसहितको पत्र सम्बन्धित स्थानीय तहमा बुझाउनुपर्छ,’ उनले भने, ‘कार्यालय आफैंले पनि स्थानीय तहलाई बोधार्थ पठाएको हुन्छ, सूर्याेदयमा कसरी पुगेन भन्ने मैले जानिनँ।’ उनले शिक्षा विभागको निर्देशनअनुसार एकाइले स्थायी शिक्षकलाई विद्यालयहरूमा पठाएको बताए।

शिक्षा एकाइले चैतको अन्तिम दिनमात्रै स्थायी शिक्षकलाई नियुक्ति दिएर विद्यालयहरूमा हाजिर हुन पठाएको थियो। भोलिपल्टैदेखि २०७६ साल सुरु हुने भएकाले शिक्षकको ग्रेड बढुवालाई एक वर्ष छिटो गराउन पनि शिक्षाले हतारमा शिक्षक पठाउँदा उनीहरू स्थानीय तहमा पुग्नै भ्याएका छैनन्।

प्रकाशित: ६ वैशाख २०७६ ०३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App