१६ चैत्र २०८० शुक्रबार
समाज

अज्ञात व्यक्तिद्वारा माछापोखरीमा विष हाल्दा क्षति

गुजरा–४ स्थित पोखरीमा अज्ञात व्यक्तिद्वारा मंगलबार विष हालिदिएपछि मरेका माछा। तस्बिर : मदन/नागरिक

रौतहट - अपरिचित व्यक्तिले माछा पोखरीमा विष हालिदिँदा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। जिल्लाको गुजरा नगरपालिका–४ कनकपुरस्थित व्यवसायी चन्द्रकेत महतोको पोखरीमा अज्ञात व्यक्तिले विष हालिदिएको र पोखरीका विभिन्न प्रकारका माछा मरेकाले सो रकमबराबरको क्षति भएको हो।

साढे दुुई बिगाहा क्षेत्रफलमा फैलिएको पोखरीमा रोहु, नैनी, बिगहेड कार्प, इजरायल, सिल्भर कार्प, ग्रास कार्पजस्ता विभिन्न जातका छिटो हुर्कने र महँगोमा बिक्री हुने खालका माछा र भुरा हालिएका थिए। पोखरीमा विष हालिदिएपछि तयारी माछा र भुरा सबै मरेको व्यवसायी महतोले बताए। पोखरीलाई सफाइ गरेर फेरि माछापालन गर्न योग्य बनाउन पनि हजारौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेकोे उनको भनाइ छ।

वैशाखमा बिहेका धेरै लगन भएकाले राम्रो आम्दानी हुने उद्देश्यले पोखरीमा तीन केजीसम्मका माछा हुर्काइएका थिए।

पोखरीमा विष हालेको केही समयपछि माछा मर्नलाग्दा मात्र आपूmले थाहा पाएको महतोले बताए। पोखरीमा विष हालेका कारण पछिल्लो तीन वर्षको मिहिनेत खेर गएको उनले गुनासो गरे। नेकपानिकट मानिएका पीडित महतोले राजनीतिक पूर्वाग्रह राखेर कसैले जानीजानी पोखरीमा विष हालिदिएको दाबी गरे।

उनले वैशाखमा बिहेका धेरै लगन भएकाले राम्रो आम्दानी हुने उद्देश्यले पोखरीमा तीन केजीसम्मका माछा हुर्काएका थिए। मंगलबार बेलुकी अपरिचित व्यक्तिले पोखरीमा विष हालिदिएकाले ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको उनले दाबी गरे। उनका अनुसार तीन किलोसम्मका झन्डै ३० क्विन्टल ठूला माछा र भर्खरै हालेका ८० हजार भुुरा मरेकाले ठूलो नोक्सानी भएको छ।

ऋण काढेर माछापालन गरेका उनले कसैले रिसिइबीका कारण विष हालिदिएकाले आफ्नो मेहनत र लगानी सबै खेर गएको गुनासो गरे। उनले विष हाल्ने व्यक्ति पत्ता लगाई कडा कारबाही गर्न प्रहरीसमक्ष माग गरेका छन्।

घटना व्यक्तिगत रिसिइबीका कारण भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रौतहटका निमित प्रमुख डिएसपी नवीन कार्कीले बताए। उनले घटनाको विषयमा सूक्ष्म तरिकाले अनुसन्धान भइरहेको तथा पोखरीमा मरेका माछा र पोखरीको पानी ल्याब जाँचका लागि पठाएको बताए।

प्रकाशित: ५ वैशाख २०७६ ०४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App